
काठमाडौं: नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७५ को तेस्रो दिन बुधबार कीर्तिपुर रङ्गमञ्च थिएटर मलमा डेनमार्कको नाटक 'टु बि' मञ्चन गरियो।
नाटकको निर्देशन ज्याक्युज सेफेरियन क्याथेसिनले गरेका हुन्। बालबालिकालाई वरिपरि राखेर एउटा टेबलमाथि यो नाटक मञ्चन हुन्छ। रोचक के छ भने, साठी जना नजिक राखेर नाटक प्रस्तुत गरियो। तर, साठी जनाको घेराभन्दा बाहिर बसेर नाटक हेर्ने दर्शकको बाक्लो भीड थियो।
वरपर साठीजना दर्शक नै किन?
नाटकका पात्रहरू असाध्यै साना हुन्छन्। ती हुन् ब्रस। कुनै दाँत सफा गर्ने ब्रस, पेन्टिङ गर्ने स–साना बल तथा स–साना खेलौना। ती साना ब्रसहरुको कुरा नजिकबाट सुनाउन र बुझाउन निर्देशकले उनीहरुलाई नजिक राखेका हुन्।
ब्रसमार्फत ठूल्ठूला कथा भन्छन् निर्देशक। बेलुनमार्फत जीवन र यसका अवस्थाबारे चित्रण हुन्छ नाटकमा। ब्रस र खेलौनाहरूले विना भाषा कथाको भनिरहेको हुन्छ।