
काठमाडौँ : नेपालको ९ ए डिभिजन क्लबले एएफसी क्लब लाइसेन्सको मान्यता प्राप्त गरेको छ। शहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबसहित ९ क्लबलाई मान्यता दिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।
एन्फाका अनुसार मनाङसहित थ्री स्टार क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ, च्यासल युथ क्लब, संकटा क्लब, हिमालयन शेर्पा क्लब, मछिन्द्र क्लबले क्लब लाइसेन्स पाएका हुन्।
अब यी क्लबले सन् २०१९ मा एएफसीले आयोजना गर्ने फुटबल टुर्नामेन्टहरु खेल्न पाउनेछन्।
फिफा र एएफसीले सन् २०१८ भित्रै आफ्ना सदस्य राष्ट्रलाई क्लब लाइसेन्सिङ प्रणाली लागु गर्न भनेपछि नेपालका क्लबहरुले पनि क्लब लाइसेन्सका लागि एन्फा मार्फत एएफसीमा प्रकिया अगाडि बढाएको थियो।
नेपालबाट कूल १४ ए डिभिजन क्लबले यसका लागि आवेदन दिएको थियो। तर ९ क्लबले मात्र क्लब लाइसेन्स प्राप्त गरेको हो।
फिफा र एएफसीले क्लब लाइसेन्सका लागि क्लबको भौतिक पूर्वाधार, खेल मैदान, प्रशिक्षक लगायतका पदाधिकारीको सम्झौता, आर्थिक, प्रशासन लगायत विभिन्न १७ वटा मापदण्ड पूरा गर्नुपर्ने जनाएको थियो।