PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

ताप्लेजुङ दुर्घटना : दिनभर कुरे आफन्त, तर प्लास्टिकको पोकोमा आएको शव पनि बुझ्न नपाई फर्किए



सागर बुढाथोकी

ताप्लेजुङ दुर्घटना : दिनभर कुरे आफन्त, तर प्लास्टिकको पोकोमा आएको शव पनि बुझ्न नपाई फर्किए

काठमाडौँ : ताप्लेजुङमा हेलिकप्टर दुर्घटना भएको २४ घण्टा नाघिसक्दा पनि आफन्तहरुले शव हेर्नसमेत पाएका छैनन्। 

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको फरेन्सिक डिपार्टमेन्ट अगाडि आफन्त दिनभर कुरेर बसे। रुँदारुँदै आखाँ रातो भएको थियो उनीहरुको। कुर्दाकुर्दै धैर्यताले सीमा नाघिसकेको। उनीहरु यताउता गरिरहेका थिए। छिनमै घडी हेर्थे त छिनमै फोन डायल गर्थे। पीडाको छटपटी स्पष्ट देखिएको थियो।

सबैलाई प्रतिक्षा गर्न अत्यन्तै कठिन भइरहेको थियो। बोल्न गाह्रो भइरहेको अवस्थामा पत्रकारहरुलाई अन्तर्वार्ता दिनुपरेको थियो। उनीहरुले आँसु झार्दै बोलेको क्यामेरामा रेकर्ड भइरहेको थियो। 

बिहीबार बिहानै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरमा मुसुक्क हाँसेका आङछिरिङ शेर्पाको फोटो राखेर सजाइएको गाडी पुगिसकेको थियो।

यता टुँडिखेलमा श्रद्धाञ्जलिका लागि फूलमालासहित  सात वटा टेबल सजाइसकिएको थियो। 

तर शव बोकेर काठमाडौँ आउन लागेको सेनाको हेलिकप्टर मौसमको खराबीको कारण ताप्लेजुङमै अड्किरहेको थियो।

दिउँसो बल्ल त्रिभुवन विमानस्थलमा शव लिएर आएको सेनाको हेलिकप्टर ल्याण्ड भयो। यता शिक्षण अस्पतालमा सुरक्षाकर्मीहरु तैनाथ भए। शव कुर्दै बसेको भीड सम्हाल्न प्रहरीलाई हम्मे हम्मे पर्‍यो।

महिलाहरु फेरि डाँको छोडेर रुन थाले। पत्रकारहरुको क्यामेरा उनीहरुतिर तेर्सियो।
उनीहरुले रुँदै भने— नखिच बाबु, नखिच। हामीलाई छुट्टै तनाव छ।

रुवाबासीको आवाज झन ठूलो सुनियो। हिजो मृत्यु भएका सुरक्षाकर्मी अर्जुन घिमिरेकी बहिनी ईन्दिरा पौडैल बिलौना गर्न थालिन्, 'दाइलाई सञ्चो थिएन्। मन्त्रीज्यूले तिमी नै जानु पर्छ भनेपछि उहाँ जानुभएको थियो।'

त्यसको केही क्षणमै एयरपोर्टबाट सातवटा एम्बुलेन्स आए। फरेन्सिक विभागको गेटमा एम्बुलेन्स पालैपालो रोकिए। मृतकको शव बुझ्न गएका आफन्तहरुलाई गेटमै लगिएको थियो।

तर, अनुहार हेर्न पाइला कि भन्ने आशाले त्यहाँ पुगेका उनीहरुले आफन्तको अनुहार देख्न पाएनन्। प्लाष्टिकमा पोको पारेर ल्याइएको शव आफन्तले चिन्न सक्ने स्थितिमा थिएन।  त्यो देखेर उनीहरुले मन थाम्न सकेनन्। झन डाँको छोडेर रुन थाले। शव हेर्न नसकेर रुँदै त्यहाँबाट निस्किए।

फरेन्सिक विभागमा शव लगेपछि मृतकका आफन्तलाई पहिचानको लागि आवश्यक कागजात मागियो। उनीहरु कागजात जुटाउनतिर लागे। शव पहिचानको लागि आवश्यक स्याम्पल जुटाउन उनीहरु बाहिर-भित्र गरिरहेका थिए। 

शव फरेन्सिक विभागमा छिराएपछि अनेक अड्कलबाजी सुनिए। कोही 'एकछिनमै शव दिन्छ' भन्थे त कोही 'तीन दिनदेखि तीन हप्तासम्म लाग्छ' भन्थे। शव कुरेर बसेका मृतकका आफन्त आफै 'कन्फ्युज' थिए। 

फरेन्सिक एक्सपर्टहरुले भने औपचारिक निर्णय गरिसकेका थिएनन्। उनीहरुले भनेका थिए— ' शवको प्रकृति हेरेर पाँच/सात घण्टा लाग्न सक्छ।'

डा . साेभित मास्केले भने, 'पर्यटन मन्त्री र गार्डकाे शव पहिचान भएपनि उनीहरूलाई मात्र निकाल्न मिल्दैन। अन्य शवका अंगहरू मिसिन सक्छ। अहिले हामीले शवका पाेकाहरू मात्र खाेल्यौँ। क्षतविक्षत भएकाले परिवारले चिन्न गाह्रो छ। डीएनए गर्ने नगर्ने अहिले निर्णय गरिसकेका छैनाै।'

चाँडै शव पाइएला भनेर तैपनि, मृतकका आफन्तहरु फरेन्सिक विभागअघि कुरिरहेका थिए। प्लाष्टिककै पोकोमै भए पनि आजै शव बुझ्ने आश थियो।

तर, घण्टौँ कुरेपछि खबर आयो, 'आज पोस्टमार्टम गर्न भ्याइन्न। भोलि बिहान ८ बजे टुँडिखेलमै शव लगिन्छ।' 

शव कुरेका बसेका आफन्तहरुको रुदाँरुँदै आँसु सुकिसकेको थियो। प्लाष्टिकमा प्याक भएर आएको शव देखेपछि अनुहार देख्न नपाइने पक्का भइसकेका थिए। त्यसपछि उनीहरु निराश भएर घर फर्किए।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell