
पाकिस्तन सुपर लिग (पिएसएल)मा नेपाली क्रिकेटर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शनलाई कायम राखेका छन्। गएराती कराची किंग्स विरुद्ध खेलमा सन्दीपले उत्कृष्ट बलिङ गर्दै २ विकेट लिएपनि उनको टिम लाहोर कलन्दर्स भने ५ विकेटले पराजित भयो।
सन्दीपले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिएका थिए। सन्दीपले कराचीबाट खेलिरहेका टी २० शीर्ष दुई वरीयतामा रहेका बाबर अजाम र कलिन मनरोलाई आउट गरेका थिए।
तर लाहोरले दिएको १३४ रनको लक्ष्य कराचीले १९.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।
सन्दीपको किफायती बलिङ र २ विकेटले पनि कलन्दर्सको हार जोगाउन सकेन। यस सिजन कलन्दर्दसको यो चौथो हार हो। कलन्दर्स ७ खेलबाट ३ जितसहित अंकतालिकामा चौथो स्थानमा रहेको छ। समान ७ खेलबाट ६ अंक नै जोडेको कराची भने रनरेटमा पछि पर्दै पाँचौ स्थानमा छ।
दुबई इन्टरनेशनल क्रिकेट ग्राउण्डमा टस हारेर पहिले ब्याटिङ गरेको लाहोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १३३ रन बनाएको थियो। लाहोरका लागि एबी डे भिलियर्सले सर्वाधिक ३३ रन बनाए। सोहेल अख्तरले नटआउट २९ रन जोडे।
कराचीका इफ्तीखर अहमदले २ ओभरमा ४ रन खर्चेर २ विकेट लिए।
अलराउण्ड प्रदर्शन गरेका इफ्तीखरले ब्याटिङमा पनि नटआउट ३३ रन बनाउदै कराचीलाई जिताए। त्यसअघि लिअम लिभिङस्टोनले ३८ रन बनाएका थिए। इमाद वासिमले नटआउट १९ रन जोडे।