PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

हिन्दु राष्ट्रमा सहमति गरौं, नत्र सडकबाटै घोषणा : कमल थापा



पहिलोपोस्ट

हिन्दु राष्ट्रमा सहमति गरौं, नत्र सडकबाटै घोषणा : कमल थापा

विराटनगर : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सहमतिमा हिन्दु राष्ट्र घोषणा गर्न आह्वान गरेका छन्। सहमतिमा घोषणा नगरे सडकबाटै हिन्दु राष्ट्रको घोषणा हुने उनले दावी गरे।

राष्ट्रिय स्वाभिमान यात्राको तेस्रो दिन आज झापाको दमकबाट सुरु भएको यात्रा मोरङका विभिन्न स्थानमा कोणसभा गर्दै विराटनगरमा आमसभामा परिणत भएको थियो। आमसभालाई सम्बोधन गर्दै थापाले यस्तो उद्घोष गरेका हुन्।

राप्रपाको यो यात्रा आज नै सुनसरी र सप्तरीका विभिन्न स्थानमा सभा गर्दै साँझ सिरहाको लाहान पुग्ने राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।

'२३ वर्षअघि आमूल परिवर्तनको नाममा हिंसात्मक विद्रोह भयो, सत्र हजार नेपालीको ज्यान गयो। खरबौं सम्पत्ति नष्ट भयो, सदियौं देखिको दासताको अन्त्य गर्न भनेर जनतालाई आन्दोलनमा होमियो,' सभालाई सम्बोधन गर्दै थापाले प्रश्न गरे, 'आखिर जनताले के पाए? केपी ओलीको ठाउँमा प्रचण्ड वा शेरबहादुर देउवा वा अरु कोही भएर केही हुँदैन। देशले धेरै दु:ख पायो अब पुनर्विचार गरौं।'

उनले सहमतिका आधारमा संविधानमा हिन्दु राष्ट्र कायम गर्ने प्रयास जारी रहने बताए। 'नयाँ सहमतिका लागि सरकार, नेकपा र नेपाली कांग्रेसलाई आव्हान गर्छु,' थापाले भने, 'हामी जनसंघर्षको चरणमा छौं, सहमति हुन नसके अर्को चरणमा सडकबाटै हिन्दु राष्ट्र घोषणा गर्नेछौं।'

उनले नेपालको हिन्दु राष्ट्रको पहिचान खोसेर धर्म निरपेक्षता बनाउन गिरिजाप्रसाद कोइराला, प्रचण्ड र माधव नेपालमात्रै दोषी नरहेको बताउँदै धर्म निरपेक्षता बनाउने पार्टी र नेतालाई मत दिने हिन्दुहरुका हात पनि दोषी रहेको बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell