PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

बी डिभिजन लिग : श्री भगवती र आरसिटी विजयी



पहिलोपोस्ट

बी डिभिजन लिग : श्री भगवती र आरसिटी विजयी

काठमाडौँ :  शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगताअन्तर्गत आज भएको खेलमा श्रीभगवती क्लब र आरसिटी विजयी भएका छन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा भएको दोस्रो चरणको पहिलो खेलमा भगवती क्लबले सातदोबाटोलाई ४–३ गोल अन्तरले पराजित गर्‍यो। भगवतीको जीतमा मोहनबहादुर थापा मगरले ह्याट्रिक गरे। उनले खेलको ३, २१ र ३६औँ मिनेटमा गोल गरे । त्यस्तै भगवतीका लागि अर्को गोल भने आशबहादुर गुरुङले गरे। उनले खेलको ८६औँ मिनेटमा गोल गरे।

यता सातदोबाटोका दोर्जे तामाङ, पृथ्वी चौधरी र भुवन बस्नेतले एक–एक गोल गरे। दोर्जेले खेलको ६१, पृथ्वीले ७१ र भुवनले खेलको ८९औँ मिनेटमा गोल गरे। जीतसँगै श्री भगवतीले ३ अङ्क जोडेको छ। चार टोली रहेको दोस्रो चरणको खेलपछि शीर्ष टोलीले उपाधि हात पार्नेछ ।

आज भएको दोस्रो खेलमा रानीपोखरी कर्नर टिम (आरसीटी) ले टुसाल युवा क्लबलाई २–१ गोल अन्तरले पराजित गर्‍यो। आरसिटीलाई जीत दिलाउन उनम बुढाथोकीले दुई गोल गरे। टुसालका करण रावतले एक गोल फर्काए। खेलको ३१औँ मिनेटमा उनमले गोल गर्दै आरसिटीलाई शुरुआती अग्रता दिलाए। ७६औँ मिनेटमा करणले गोल गर्दै टुसाललाई १–१ गोलको बराबरीमा फर्काए। खेलको ८२औँ मिनेटमा उनमले व्यक्तिगत दोस्रो गोल गर्दै आरसिटीलाई २–१ को जीत दिलाए। जीतसँगै आरसिटीले तीन अङ्क जोडेको छ।

बाह्र ‘बी’ डिभिजन क्लब सहभागी उक्त प्रतियोगिताअन्तर्गत दुवै समूहका विजेता र उपविजेता अन्तिम चारमा छनोट भएपछि अन्तिम चरणक खेलहरु आजदेखि एन्फा मैदानम शुरु भएको हो।

पहिलो चरणमा सहभागी १२ क्लबलाई दुई समूहमा विभाजन गरेर लिग खेलाइएको थियो। त्यसपछि दुवै समूहको शीर्ष दुई स्थानमा रहँदै सातदोबाटो युथ क्लब, श्री भगवती युथ क्लब, टुसाल युथ क्लब र आरसिटी क्लब अन्तिम चारमा पुग्न सफल भएका थिए।

यस्तै फागुन १९ गते टुसाल र श्री भगवती तथा सातदोबाटो तथा आरसिटीबीच हुनेछ भने २१ गते आरसिटी र श्री भगवती तथा सातदोबाटो र टुसला क्लबबीच खेल हुनेछ। छ खेलपछि सबैभन्दा धेरै अङ्क जोड्ने क्लब च्याम्पियन हुनेछ। गत माघ २५ गतेदेखि शुरु भएको प्रतियोगितामा ‘बी’ डिभिजनका १२ क्लब झम्सिखेल युवा क्लब, आरसिटी, श्रीकुमारी क्लब, सातदोबाटो युथ क्लब, नयाँबस्ती युवा क्लब र ब्वाइज युनियन, टुसाल, पुल्चोक, मध्यपुर युथ एशोसिएशन, खुमलटार युवा क्लब र श्री भगवती क्लबले प्रतिस्पर्धा गरेका थिए।

लिगको विजेताले आठ लाख पाउनेछ। उपविजेताले रु पाँच लाख, तेस्रो हुनेले रु तीन लाख र चौथो हुने टोलीले रु दुई लाख पाउनेछन्। लिग रेलिगेशनबिनाको हुने लिग निर्देशक सञ्जीव मिश्रले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell