PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

रेशम चौधरी जोडिएको टीकापुर काण्डको मुद्दा बुधवारसम्म टुंगोमा पुग्ने



एम बम

रेशम चौधरी जोडिएको टीकापुर काण्डको मुद्दा बुधवारसम्म टुंगोमा पुग्ने

कैलाली : तीन वर्ष अघि ९ जानको ज्यान जानेगरी घटेको टीकापुर घटनाको मुद्दा आगामी बुधवारसम्म टुंगोमा पुग्ने जिल्ला अदालत कैलालीले जनाएको छ।

हेर्दाहेर्दैमा राखिएको मुद्दामा अहिलेसम्म प्रतिवादीका तर्फबाट १२ जना कानून व्यवसायीले वकालतनमा परेको छ। अब वकालतनामा नपरे आइतबारसम्म बहस सकिने र बुधवारसम्म मुद्दाको टुंगो लाग्ने अदालतका श्रेस्तेदार इन्द्रबहादुर कठायतले बताए। 

गत बुधवारबाट बहस सुरु भएको उक्त मुद्दामा हालसम्म बादी नेपाल सरकारका तर्फबाट जिल्ला न्यायाधीवक्ता बिष्णु पौडेल र सहायक न्यायाधीवक्ता लक्ष्मी शर्माले बहस गरेका छन्। प्रतिवादीका तर्फबाट बरिष्ठ अधिवक्ता गोपाल घिमिरे, अधिवक्ता हरी फुँयाल, गंगाराम पाध्याय, मिलन राई, नाथुराम महतो र गजेन्द्र केसीले बहस गरेको श्रेस्तेदार कठायतले जानकारी दिए। मुद्दा १९ गते हेर्दाहेर्दैका लागि पेश हुनेगरी अर्को आदेश समेत अदालतले जारी गरेको छ। 

जिल्ला न्यायाधीश परशुराम भट्टराईको इजलासमा टीकापुरको कर्तव्य ज्यान, डाँकाचोरी तथा ज्यान मार्ने उद्योग मुद्दा माथिको बहस चलिरहेको हो। २०७२ सालमा घटेको टीकापुर घटनाको उक्त मुद्दाको सुनुवाई झण्डै साढे तीन वर्षपछि शुरु भएको हो। टीकापुर घटनाका मुख्य आरोपीका रुपमा रहेका रेशम चौधरी घटनापछि प्रतिनिधिसभामा समेत निर्वाचित भएर हाल कारागारमै छन्। निर्वाचित भएको एक वर्षपछि उनलाई गत महिना सांसदको सपथ समेत खुवाइएको थियो। 

टीकापुरमा थरुहट/थारुवान आन्दोलनका क्रममा २०७२ भदौ ७ गते आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडपमा परी १ नाबालक र ८ प्रहरीको ज्यान गएको थियो। हालसम्म १ नाबालक, सांसद रेशम चौधरीसहित २६ जनालाई विभिन्न मुद्दा चलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। घटनामा संग्लन ३२ जना अझै फरार रहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell