PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

किन वामदेव गौतम रवीन्द्र अधिकारीको ठाउँबाट चुनाव लड्न चाहँदैनन्? दिए यस्तो कारण



पहिलोपोस्ट

किन वामदेव गौतम रवीन्द्र अधिकारीको ठाउँबाट चुनाव लड्न चाहँदैनन्? दिए यस्तो कारण

काठमाडौं : कास्की २ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी भइ पर्यटन मन्त्रीसमेत भएका रवीन्द्र अधिकारीको बुधवार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भयो। उनको निधनसँगै कास्की २ को प्रतिनिधिसभा सदस्य पद रिक्त भएको छ। 

शुक्रवार कास्कीको रामघाटमा अधिकारीको अन्त्येष्टिसमेत गरिएको छ। अधिकारीको अन्त्येष्टिसँगै कास्की २ मा उपचुनावको चर्चासमेत सुरु भएको छ। 

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का केन्द्रीय सदस्यसमेत रहेका मन्त्री अधिकारीको अन्त्येष्टिमा सहभागी हुनका लागि काठमाडौंबाट नेता वामदेव गौतमसमेत कास्की  पुगेका थिए। उनको उपस्थितिलाई सामाजिक सञ्जालहरुमा गौतम अधिकारीको स्थानमा लड्न चाहेको भन्दै चर्चासमेत गरियो। 

नेता गौतमले यसलाई अस्विकार गरेका छन्। उनले यस क्षेत्रबाट अधिकारीका परिवारका सदस्यलाई नै उम्मेदवार बनाउन माग राखेका छन्। 
बर्दियाबाट प्रतिनिधिसभामा पराजित भएका गौतम संसद प्रवेशका लागि लामो लविङमा थिए। डोल्पा, बाँके, प्युठान हुँदै काठमाडौं ७ मा आएर उनको संसद भवन प्रवेशको यात्रा रोकिएको थियो। काठमाडौं ७ का सांसद रामवीर मानन्धरले गौतमलाई सहयोग गर्नका लागि भन्दै पार्टीमा संसदबाट राजिनामा दिने भन्दै पार्टी सचिवालयमा निवेदन दर्ता गराएका थिए। 

तर, सचिवालय उनको निवेदन अस्वीकार गर्‍यो। योसँगै गौतमले सांसद बन्ने ढोका बन्द भयो। 

पछिल्लो पटक अधिकारीको निधन पछि फेरि एक पटक सामाजिक सञ्जालमा यसको चर्चा हुन थाल्यो। अधिकारी गौतम पक्षका नेता हुन्।

तत्कालीन नेकपा एमाले विभाजनपछि गौतमले गठन गरेको मालेमा गौतमसँगै रवीन्द्र पनि पुगेका थिए। उनी मालेको विद्यार्थी संगठन अनेरास्वियुको अध्यक्षसमेत भएका थिए। उनी २०५६ सालमा मालेकै तर्फबाट कास्की १ का उम्मेदवार भएका थिए तर पराजित भए। 

अहिले उनको निधनसँगै गौतमको उपस्थितलाई ने क पाभित्रैका केही नेताहरुले रवीन्द्रको निर्वाचन क्षेत्रमा गौतमले आँखा लगाएको आरोप लगाउन थालेपछि नेता गौतमले सो क्षेत्रमा अधिकारीका परिवारलाई नै उम्मेदवार बनाउन माग गरेका हुन्। 

'फेरि कुत्सित उद्देश्य प्रेरित कुप्रचार मेरा विरुद्ध शुरु भयो। नेपाली राजनितिक आकासमा उज्वल भविष्यसहित उदाएका मेरा प्रिय कमरेड रविन्द्र अधिकारीको असामयिक निधनवाट ठूलो धक्का महसुस गर्दै श्रद्धान्जली दिन पोखरा पुगेको घटनालाई आधार बनाएर मलाई दिवंगत रविन्द्रको निर्वाचन क्षेत्रवाट उमेदवार वन्ने आशा राखेको आरोप लगाइएको छ,'  नेता गौतमले भनेका छन्, 'यो मेरो चरित्र हत्या गर्ने निकृष्ट र षडयन्त्रमूलक विचार राखेर सुरु गरिएको कुप्रचार मात्र हो।'

उनले मृत्यु शोकमा पाइला टेकेर व्यक्तिगत स्वार्थ पूरा गर्ने विचारलाई आफूले कहिल्यै मान्यता नदिएको र जीवनभर नदिने स्पष्टसमेत पारेका छन्। 

उनले पार्टीले कास्की २ बाट आफूलाई उम्मेदवार बनाउने निर्णय गरे पनि आफू नउठ्ने स्पष्ट पारेका छन्।

'मेरो इच्छाविपरीत पार्टीले निर्णय गरेछ भने पनि म कामरेड रवीन्द्रको दु:खद् निधनबाट खाली भएको निर्वाचन क्षेत्रमा उमेदवार बन्ने छैन। मेरो सम्पूर्ण प्रयत्न स्व. क. रवीन्द्रको परिवार सदस्यलाई नै उमेदवार बनाउन लगाउने छु।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell