
काठमाडौँ : एपिएफ क्लबका अजितकुमार यादव र नेपाल प्रहरीकी राजपुरा पछाई मदन भण्डारी स्मृति पाँच किलोमिटर सडक दौडमा पहिलो भएका छन्। अजितले निर्धारित दूरी १५ मिनेट ४९.१ सेकेन्डमा पूरा गर्दै प्रथम भए । एपिएफकै सन्तोषविक्रम विष्ट १५ मिनेट ५९.८ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो र खिमबहादुर खत्री १६ मिनेट ३७.९ सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो भए।
महिलातर्फ राजपुराले १८ मिनेट १७ सेकेन्डमा दौड पूरा गर्दै प्रथम भइन्। काठमाडौँकी सन्तोषी श्रेष्ठले १८ मिनेट २३.७ सेकेन्ड तथा एपिएफकी फूलमति रानाले १९ मिनेट २१.१ सेकेन्डमा निर्धारित दूरी पार गर्दै क्रमशः दोस्रो र तेस्रो भए।
पुरुष÷महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः रु २०, १५ र १० हजार नगद पुरस्कार पाए।
मदन भण्डारी स्पोर्टस एकेडेमी र रन क्लबद्वारा संयुक्तरुपमा आयोजित दौडको स्कुलतर्फ छात्रमा सिग्मा प्रवीणकुमार बोहरा पहिलो, जेसिजका सागर श्रेष्ठ दोस्रो र श्री गणेशका नवीनकुमार कार्की तेस्रो भए। उक्त स्पर्धाको छात्रामा प्राइम ग्लोबलकी जुनिल सुनुवारले स्वर्ण, जेसिजकी श्रयस्का सिल्पकारले रजत र पञ्चकन्याकी सोनु घतामीले कास्य हात पारे।
दुवै स्पर्धाका विजेतालाई रु १५ हजार, उपविजेतालाई रु १० हजार र तेस्रोलाई पाँच हजारका दरले नगद पुरस्कार प्रदान गरियो। दौड लैनचौरबाट शुरु भई पुनःत्यही आएर टुङ्गिएको थियो।
विजेतालाई राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, आयोजक एकेडेमीका महासचिव वचन देउजा, प्रतियोगिता संयोजक सन्तोष श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर।
नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्वधावक जितबहादुर केसी र सागको म्याराथनमा लगातार तीन स्वर्ण जितेका पूर्वधावक वैकुण्ठ मानन्धरलाई जनही रु १० हजारसहित सदस्य–सचिव विष्टले सम्मान गरे।
कार्यक्रममा करातेका पर्शुराम बाँस्तोला, दीपक श्रेष्ठ र महेश रञ्जीत, डा खगेन्द्रबहादुर श्रेष्ठ, फुटबलका मुकेश शाही र अञ्जित बस्नेत, तेक्वान्दोका विधान लामा, भेट्रान धावक रामकृष्ण महर्जन तथा नेपाल भारोत्तोलन सङ्घका उपाध्यक्ष रामकृष्ण श्रेष्ठलाई पनि प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो।