PahiloPost

Dec 30, 2025 | १५ पुष २०८२

प्रिमियर लिग : म्यानचेष्टर सिटी शीर्ष स्थानमा, लुकाकुको दुई गोलमा युनाइटेड विजयी, टोटनहम र आर्सनलले खेले बराबरी



पहिलोपोस्ट

प्रिमियर लिग : म्यानचेष्टर सिटी शीर्ष स्थानमा, लुकाकुको दुई गोलमा युनाइटेड विजयी, टोटनहम र आर्सनलले खेले बराबरी

प्रिमियर लिग अन्तर्गत शनिवार भएको खेलमा दुवै म्यानचेष्टर क्लब विजयी भएका छन्। यस्तै लण्डन डर्बीमा टोटनहम हट्सपर र आर्सनलले बराबरी खेलेका छन्।

रियाद महारेजले दोस्रो हाफमा गरेको एक मात्र गोलको मद्दतमा सिटीले एएफसी बर्नमाथलाई १-० ले पराजित गर्दै ३ अंक जोडेको हो। जितपछि २९ खेलबाट ७१ अंक जोड्दै सिटी पहिलो स्थानमा उक्लेको छ। एक खेल कम खेलेको लिभरपुल ६९ अंकसहित दोस्रोमा छ।

उता तेस्रो स्थानको टोटनहम र चौथो स्थानको आर्सनलले बराबरी खेल्दा त्यसको फाइदा म्यानचेष्टरले लियो।

लण्डन डर्बीमा टोटनहम र आर्सनलले बराबरी खेल्दै अंक बाँडे। आर्सनलका लागि आरोन राम्सेले पहिलो हाफमा गोल गरेपनि दवस्रो हाफमा टोटनहमका लागि ह्यारी केनले पेनाल्टीमा बराबरी गोल फर्काएका थिए। आर्सनलका लुकास टोरेइराले खेलको अन्त्यतिर रातो कार्ड खाँदै मैदान छेका थिए।

त्यसपछि भएको खेलमा रोमेलु लुकाकुले दुई गोल गरेपछि युनाइटेडले साउथह्याम्पटनलाई ३-२ ले पराजित गर्‍यो र चौथो स्थानमा उक्लियो। युनाइटेडका लागि आन्द्रेइज परेइराले एक गोल गरे। लुकाकुले ८८औँ मिनेटमा विजयी गोल गरेका हुन्। साउथह्याम्पटनका यान भालेरी र जेम्स वार्ड प्रावेसले गोल गरे।

बराबरीपछि २९ खेलबाट ६१ अंकसहित टोटनहम तेस्रोमै छ। समान खेलबाट ५८ अंक जोड्दै युनाइटेड चौथो स्थानमा छ भने ५७ अंक रहेको आर्सनल पाँचौमा झरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell