PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

पर्यटनमन्त्रीसहित हाइप्रोफाइलको हेलिकोप्टर दुर्घटना: 'नेपाली उड्डयन क्षेत्रको आत्मवल कमजोर'



वसन्तराज उप्रेती

पर्यटनमन्त्रीसहित हाइप्रोफाइलको हेलिकोप्टर दुर्घटना: 'नेपाली उड्डयन क्षेत्रको आत्मवल कमजोर'

काठमाडौः युरोपेली युनियनको कालोसूचीबाट हट्न प्रयास गरिरहेका बेला पर्यटनमन्त्री रविन्द्र अधिकारी, नियामक निकायका उच्च अधिकारीसहितको हाइप्रोफाइल चढेको हेलिकोप्टर दुर्घटनापछि नेपाली उड्डयन क्षेत्रमा गम्भिर प्रभाव पर्ने देखिएको छ।

यो दुर्घटनाले उड्डयन जगतमै प्रश्नचिन्ह खडा भएको छ। यो दुर्घटनापछि कालोसूचीबाट निस्किन कठिन हुन्छ, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले हाइप्रोफाइलको दुर्घटनाबाट नेपाली उड्डयन क्षेत्रको आत्मवल कमजोर भएको बताए।

उनले भने,’अहिले भएको दुर्घटनामा उड्डयन क्षेत्रमै आवद्ध व्यक्तिहरु पर्नुभएको छ। दुर्घटनाले सर्वसाधारणमा पनि एड्भर्स एफेक्ट पार्नुको साथै नेपाली उड्डयन क्षेत्रप्रतिको आत्मवल कमजोर पारेको छ। यो दुर्घटनालाई लेसन लिएर आगामी दिनमा कुनै पनि अप्रिय घटना घट्न दिइनेछैन।’

 हवाई उड्डयन विज्ञका अनुसार हाइप्रोफाइलको दुर्घटनाले नेपालभित्र मात्रै नभएर विश्वभरनै नकारात्मक प्रभाव परेको बताए।'यसले नेपाली हवाई क्षेत्रमै ठूलो धक्का लागेको छ,' ती विज्ञले भने,’इयुको कालोसूचीबाट हट्ने क्रममा थियो। यो दुर्घटनाले समस्या पार्ने आशंका जन्मिएको छ।’

गत वर्षमात्र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन 'आइकाओ'को सुरक्षा सूचीबाट नेपाल बाहिरिएको थियो। इयु र आइकाओको हवाई सुरक्षाका मापदण्डअनुसार नेपालले उड्डयन क्षेत्रमा आफ्नो क्षमता क्रमिक रुपमा विस्तार गर्दै आएको थियो।

लामो समयदेखिको प्रतिबन्ध खुलेर नेपाल वायुसेवा निगमको जहाज युरोपेली मुलुकमा उड्न पाउने आशामा थियो। तर यो दुर्घटनाले कालोसूचीबाट हट्ने बारेमा आशंकाले घेरेको छ। तर अहिलेसम्म इयुले कुनै प्रतिकृया भने जनाएको छैन।'अहिले सम्म बाहिरी मुलुकबाट कुनै पनि नकारात्मक प्रतिकृया आएको छैन। तर यो दुर्घटनाले नेपाली उड्डयन क्षेत्रको लागि प्रश्न चिन्ह ठड्याइदिएको छ।' ती विज्ञले भने।

सीमित स्रोत र जनशक्ति

उड्डयन क्षेत्रको नियामक निकाय उड्डयन प्राधिकरणसँग आवश्यक जनशक्ति छैन। त्यहाँ रहेका जनशक्तिले सुरक्षाका बारेमा अध्ययन गरेर भ्याउन सक्ने अवस्था छैन।

संचालनमा रहेका जहाज र हेलिकोप्टरको अनुगमनै गर्न कठिन हुँदैं आएको बेला थप अरु कम्पनी संचालनको अनुमति दिनु उपयुक्त नहुने विज्ञहरु बताउँछन्। यो दुर्घटनापछि पर्यटन मन्त्रालय प्राधिकरण र  हेलिकोप्टर व्यवसायी बसेर सुरक्षित उडानका लागि आवश्यक सतर्कता अपनाउन जरुरी भएको ती विज्ञले बताए।

छानविन समिति स्वतन्त्र

हवाई दुर्घटना न्यून गर्नका लागि 'इन्डिपेण्डेण्ट' स्वतन्त्र छानविन समिती गठन गर्नुपर्ने विज्ञहरु बताउँछन्। ‘यस अघि हुने हवाई दुर्घटनाको छानविनका लागि स्वतन्त्र छानविन समिती गठन गर्नका लागि मन्त्रालयमा प्रस्ताव राखिएको थियो।

तर त्यसलाई सुनुवाई गरिएन। अब स्वतन्त्र छानविन समिति बनाएर समस्या समाधानका लागि पहल गर्नुपर्छ। हवाई आकाश सुरक्षित बनाउने अहिलेनै उपयुक्त समय पनि हो’ ती विज्ञले भने। उड्डयन क्षेत्रमा सेफ्टी मापदण्ड सैद्धान्तिक रुपमा पालना गरिएता पनि व्यवहारिक रुपमा पालना नभएको ती विज्ञ बताउँछन्।‘हामीले हवाई क्षेत्रलाई खेलाँचीको रुपमा मात्रै हेर्ने काम गर्यौं। उडानका लागि पनि सबै मापदण्ड कार्यान्वयन गर्नेतर्फ पहल भएन,’ ती विज्ञले भने,’अब व्यवहारिक रुपमै पालना गरेर सुरक्षित उडानका लागि सबैको सहयोग आवश्यक हुन्छ।’

इयुको अडिट कस्तो थियो?

आठ वर्ष अगाडी इयुले नेपालको हवाइ सुरक्षा कमजोर भएको मुल्याङ्कन गर्दै नेपाललाई हवाई सुरक्षा सूचीमा राखेको थियो। इयुले नेपालको हवाइ सुरक्षा अडिटका लागि पटक पटक आइकाओलाई पठाउँदै आएको थियो।

प्राधिकरणका अनुसार सन् २००९, मे महीनामा पहीलो पटक नेपालको आठवटा क्षेत्रको विस्तृत उडान सुरक्षा अडिट गरेको थियो जस अनुसार नेपालको अन्तर्राष्ट्रिय उड्डयन मापदण्ड, सिफारिसहरु तथा अन्य मार्गदर्शक दस्तावेजहरुको परिपालनको दर ४३ प्रतिशत रहेको देखाइएको थियो।

अडिटले औंल्याएका कमिकमजोरीको निराकरण भए नभएको मूल्यांकन गर्न सन् २०१३ को जुलाईमा आइकाओको उडान सुरक्षा सम्परिक्षण अडिट नेपाल आएको थियो। उक्त सम्परिक्षण अडिटपछि नेपालको उडान सुरक्षा मापदण्ड परिपालनको दर ५५ प्रतिशतमा उकालो लागेको  पाइएको थियो।  सन् २०१० देखि सन २०१२ सम्म नेपालमा भएको ५ हवाई दुर्घटनामा आफ्ना धेरै नागरिकले ज्यान गुमाएको भन्दै कालोसूचीमा राखेको थियो। इयुले नेपालको हवाई क्षेत्रमा अन्तर्राष्ट्रिय मापदण्डबमोजिम पाइलटको योग्यता र तालिम हुनुपर्ने जनाएको थियो।

अन्तर्राष्ट्रिय नियम परिपालन न्यून रहेको, क्यानको लाइसेन्स सम्बन्धि नियममा सुधार गर्नुपर्ने ,वायुसेवा संचालन अनुमतिपत्र जारी गर्नेमा प्राधिकरणको कमजोरी रहेको जनाएको थियो।प्राधिकरणका अनुसार हाल अन्तर्राष्ट्रिय उड्डयन मापदण्ड परिपालन न्यूनतम ६० प्रतिशतले  रहनुपर्नेमा हाल ८० प्रतिशत परिपालन भइसकेको छ।

 

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell