फागुन १७ गते दुई नेपाली फिल्म एकसाथ प्रदर्शनमा आए- अनमोल केसीको ‘क्याप्टेन’ र आशिरमान देशराज जोशी श्रेष्ठको द ‘ब्रेकअप’।
अनमोल र आशिरमान दुवैलाई फिल्ममा डेब्यु गराउने निर्देशक हेमराज बिसीले निर्देशन गरेका हुन् ‘द ब्रेकअप’।
'होस्टेल', 'जेरी' र 'गाजलु'मा सँगै काम गरेका हेमराज र अनमोलको फिल्म पहिलोपटक एकसाथ रिलिज हुनुलाई भिडन्तको रुपमा पनि लिइएको छ। कस्ता छन् त एकै दिनदेखि ठूलो पर्दाको मैदानमा भिडेका यी दुई फिल्म?
‘द ब्रेकअप’ : न प्रेम स्थापित, न विछोड नै
'ब्रेकअपले निम्त्याएको अवस्थाबाट म आफैँ उठ्नु थियो। त्यस बखत् म निकै रोएँ। अहिले मलाई राम्रो छ। यो सबका लागि उसलाई धन्यवाद।'
रणवीर कपुरसँग ब्रेकअप भएपछि अभिनेत्री दीपिका पादुकोणले दिएको अभिव्यक्ति हो यो। त्यतिखेर उनी ड्रिप्रेसनमा समेत पुगिन्। उनको ब्रेकअपको पीडा संचारमाध्यमका लागि हट केक बन्यो।
अहिले वैवाहिक जीवनमा रमाइरहेकी दीपिकाको कन्फेसनको प्रसङ्गसँग जोडेर हेर्न सकिन्छ फिल्म द ब्रेकअपलाई।
शीर्षक नै ‘द ब्रेकअप’ भए पनि फिल्मले ब्रेकअपका कारण त्यो हदको निराशा देखाउँदैन। किनकि निर्देशकले पात्रहरुको सेन्टिमेन्टसँग खेल्न सकेका छैन। पर्दामा कलाकारहरु आँशु चुहाउँदै हुन्छन् तर ती दृश्यले दर्शकको संवेदना छुँदैन।
लभस्टोरी जनरको फिल्म भए पनि कतै माया, प्रेम वा सम्बन्ध स्थापित हुँदैन - 'किस' नै प्रेमको संकेत हो भने अर्कै कुरा।
आविस्कार (आशिरमान) र सारा (शिल्पा मास्के)को ब्रेकअप प्लटसँगै सुरु हुन्छ फिल्म 'द ब्रेकअप'। होटल म्यानेजमेन्टमा स्नातक सकेका आविस्कार प्याराग्लाइडिङ पाइलट बन्छन्। बुबा (सरोज खनाल)को महिलाप्रतिको आशक्ति अनि ब्रेकअपको पीडाबाट टाडा भाग्न खोजेका उनी अस्ट्रेलिया उड्छन् स्नातकोत्तर गर्न। सारा (शिल्पा मास्के) वर्ल्ड टुर गर्ने योजनाले अस्ट्रेलिया नै पुगेकी हुन्छिन्। यात्राको क्रममा ट्रान्जिटमा लगेज साटिन पुगेपछि यी दुईको भेट हुन्छ। विस्तारै प्रेम। उनीहरुका प्रेममा आउने आरोह अवरोहमा नै घुमेको छ फिल्म।
पहिलो ब्रेकअपमै सारालाई प्रेमबाट विश्वास हटिकेको हुन्छ। त्यसैले आविस्कारलाई आफूहरु 'कमिटेड रिलेसन'मा नबस्ने सर्त राख्छिन्। तर, आविस्कार बिस्तारै प्रेममा परिसकेका हुन्छन्।
साराको कुरा थाहा पाएपछि दुईको ब्रेकअप हुन्छ। यहाँसम्म पुग्दा यी दुईबीच सम्बन्ध थियो भन्ने कुरा दर्शकले महसुस गर्नै पाउँदैनन्। त्यस्तै ब्रेकअप पनि निकै सतही लाग्छ।
फिल्मको कथा अघि बढ्छ तर दर्शकलाई होल्ड भने गराउँदैन।
छायाँकार नरेन्द्र मैनालीले फिल्मका पात्रसँगै पृष्ठभूमिमा अस्ट्रेलियालाई फोकस गर्न खोजेको देखिन्छ।
फिल्मको पार्श्व संगीत खास लाग्दैन। तर, सारा र आविस्कारको ब्रेकअप हुँदा बीचमा बज्ने गजल भने सान्दर्भिक सुनिन्छ। लभ स्टोरी फिल्ममबाट कलाकार जन्माउन सफल निर्देशक बिसीले यसमा कुनै नयाँपन दिन सकेका छैनन्। फिल्मका केही पटकथामा बलिउड फिल्मको गन्ध आउँछ। जस्तो सारालाई वर्ल्ड टुर गर्ने रहर, उनीहरुको पहिलो भेटको दृश्यमा हेमराज पक्कै बलिउड ह्याङबाट उत्रन नसकेको नै भान हुन्छ।
फिल्मको क्लाइमेक्स दृश्य क्लीसे लाग्छ। जहाँ पोखराको फेवा तालमा आएको ठूलो आँधी बेरीको दृश्य छ। यसलाई दर्शकले कसरी बुझ्ने? निर्देशकको लिबर्टी वा कल्पनशीलता?
फिल्ममा आशिरमानको अभिनय 'ग्याङ्स्टार ब्लुज'मा भन्दा केही फरक छैन। शिल्पाको अभिनय औशत छ।
विराज (रेमनदाश श्रेष्ठ)को अभिनयले आशिरमानलाई टेवा पुर्याैउन खोजेको छ। लभ स्टोरी फिल्मको ढाँचा फरक नभए पनि प्रस्तुतिकरणले फरक पार्नुपर्ने जिम्मेवारी निर्देशकसँग हुनुपर्थ्यो।
विराज र इच्छाको 'डेस्टिनेसन वेडिङ'मा झुलुक्क देखा पर्छन्, कलाकार सलोन बस्नेत। न उनको भूमिकाले कथामा फरक पार्छ न त दृश्य सुहाउँदो। यस्ता धेरै पात्र र दृश्य नभएको भए पनि कथामा असर पार्दैन थिए।
फिल्मले बढ्दो क्याजुअल रिलेसनको वास्तविकता देखाउन खोजेको छ। तर, यसलाई फरक तरिकाले प्रस्तुत गर्न सकिन्थ्यो।
समग्रमा 'द ब्रेकअप'ले न प्रेम स्थापित गर्न सकेको छ न ब्रेकअप नै। संवाद सामान्य छ। छोटो भए पनि सुस्मिता बम्जनको अभिनय तारिफयोग्य छ।
‘क्याप्टेन’ : अलमलिएका निर्देशक
'द ब्रेकअप' र 'क्याप्टेन'मा कलाकार दोहरिएका छन्। नेशनल टिमबाट देशका लागि फुटबल खेल्ने धोको बोकेका खेलाडी नवल खड्का (सरोज खनाल)। नवलकी श्रीमतीलाई उनको खेल प्रेम र भकुन्डोसँग दुस्मनी छ। किनकि श्रीमानले फुटबल खेलेर पैसा कमाउँदैनन्।
झापा धरमपुरमा भएको स्थानीय प्रतियोगीता नै उनको अन्तिम खेल बन्छ। खेल लगत्तै उनको पसलमा आगलागी हुन्छ। बिम्वात्मक रुपले हेर्दा उनको खेल जीवन सकिएको संकेत हो त्यो। नेशनल टिमबाट देशका लागि खेल्ने सपनामा पनि आगो लाग्छ। उनी विदेशिन्छन्। यस्तैबीच नवलका छोरा ईशान खड्काको फुटबलसँगको प्रेम बढ्दै जान्छ। ईशानबाट पनि आमाले भकुण्डो परै राख्ने प्रयास गर्छिन्। बुबा नवलले ईशानलाई भन्ने गरेका हुन्छन् 'तिमी क्याप्टेन हौ, फुटबल खेल्न नछोडेस्।' बुबाको पथ पच्छ्याउँदै फुटबलमा संघर्ष गर्न थाल्छ ईशानले। र, फिल्ममा द्वन्द्व सुरु हुन्छ।
फिल्ममा प्रयोग संवाद सजिव सुनिन्छ। तर, खेलाडी र फुटबलको कथा देखाउन खोजिए पनि फुटबलभित्रको खास राजनीति देखाइएको छैन।
मुल कथासँगै प्रेमलाई जोड्नुले मुल द्वन्द्व अलमलमा पर्छ।
हरेक फिल्ममा एकै किसिमका भूमिकामा देखिएका सरोज फरक चरित्रमा देखिएका छन्। उनले भूमिकालाई न्याय गरेका छन्। उपासना सिंह ठकुरी (श्रेया) को अभिनय डेब्यू गर्लको जस्तो लाग्दैन। उनी खारिएकी छिन्। त्यस्तै चारुको भूमिकामा देखिएकी प्रियंका एम्भीको काम भने नोटिस हुने खालको छैन।
सलोन बस्नेत क्याप्टेनमा पनि देखिएका छन्। यहाँ उनको भूमिका छोटो भए पनि न्यायसंगत नै लाग्छ।
यो स्पोर्ट्स ड्रामाले अन्त्यसम्म दर्शकलाई बाँधिराख्छ। सेकेण्ड हाफमा फिल्म केही सुस्त लाग्न थाल्छ।
क्राउड देखाउन खोजिएको भिएफएक्स दृश्य धेरैपटक देखाउँदा असामान्य र बनावटी देखिन्छ। ईशानको भूमिकामा अनमोललको अभिनय पछिल्ला फिल्महरु भन्दा सुधारिएको छ। स्टार कहलिएका अनमोलको अभिनय अब्बल भने छैन।
पार्श्व संगीतमा अझै मिहिनेत गर्न सकिन्थ्यो। फिल्ममा विल्सन बिक्रम राई र प्रशान्तको अभिनय प्रशंनीय छ। तर, मुल मुद्दा कता छरिन्छ कता। खेलाडीको जीवन प्रष्ट र सजिव ढङ्गमा देखाउन सकिएको छैन।
नेपाल र भारतको सार्क च्याम्पियनसीप खेलको दृश्य रमाइलो छ। तर, बीचमा ईसानले आफ्ना थाइ र खुट्टामा भकुण्डो खेलाएर गोल गरेको दृश्य बनावटी लाग्छ। बल एकाएक निलो देखिन्छ, अर्थात् भिएफएक्सको प्रयोगमा त्रुटि देखिन्छ। यतिसम्म कि लाइन्सम्यान खेलाडीसँगै मैदान भित्रै दौडिरहेका जस्ता सिल्ली सिनहरु फिल्ममा छन्। अझ दौरा सुरुवाल लगाएर फिल्मको कोचलाई प्रस्तुत गर्नु कम हास्यास्पद होइन।
स्पोर्ट्स ड्रामामाथि मेनस्ट्रिम फिल्म हेर्न चाहने दर्शकका लागि क्याप्टेन ठीकै हुन सक्छ तर फिल्मकै हिसाबले पनि यसले कायम गर्नसक्ने बेन्चमार्क स्थापित गर्न सकेको छैन।