
काठमाडौं : नेपालको राष्ट्रिय फुटबल टिमले अन्तर्राष्ट्रिय स्तरको खेल खेल्दा लगाउने नयाँ जर्सी सार्वजनिक भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार आफ्नो परिवर्तित लोगो र राष्ट्रिय टिमको नयाँ जर्सी सार्वजनिक गरेको हो।
राजधानीमा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव केशवकुमार बिष्ट, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, केल्मीको नेपालमा आधिकारिक बिक्रेताका प्रतिनिधि प्रदीप न्यौपानेलगायतले सार्वजनिक गरे।
यसअघि एन्फाको लोगो गोलाकार थियो। पोखरा सन्दीप तिवारीले बनाएको नयाँ लोगो भने चार किनार भएको छ। एन्फाले नयाँ लोगो बनाउन आह्वहान गरेपछि प्रपात ५७० लोगोहरुबाट सन्दीपको लोगोलाई छनोट गरेको एन्फा अध्यक्ष कर्मा छिरिङले जानकारी दिए।
एन्फाको लोगो बनाएका तिवारीले एन्फाबाट नगद ५० हजार प्राप्त गरे।
नयाँ लोगो राष्ट्रिय टिमको जर्सीमा पनि राखिनेछ। यसअघि राष्ट्रिय टिमले लगाउने जर्सीको देब्रे भागमा नेपालको राष्ट्रिय झण्डा थियो अब त्यस स्थानमा नयाँ लोगो रहनेछ।
नयाँ लोगोको सबैभन्दा माथि नेपाल लेखिएको छ भने त्यसपछि सगरमाथा अनि नेपालको झण्डा राखिएको छ। सबैभन्दा पुछारमा फुटबलको चिन्ह रहेको छ। फुटबलमा ७ प्रदेशलाई प्रतिनिधित्व गर्ने सात घेरा राखिएको तिवारीले जानकारी दिए।
यसैगरी राष्ट्रिय टिमले लगाउने होम एण्ड अवे जर्सी पनि सार्वजनिक भएको छ। यसअघि गाढा रातो र गाढा निलो कलरको जर्सी थियो। नयाँ जर्सी पनि यसअघिको जस्तै रातो र निलो कलरमा छ तर पहिले जस्तो भने छैन।
नयाँ जर्सीको डिजाइन एन्फाले केल्मीसँग मिलेर गरेको हो। केल्मी नेपाली फुटबल टिमको जर्सी निर्माण गर्ने कम्पनी समेत हो। एन्फे केल्मीलाई विभिन्न किसिमको डिजांइन दिएको र त्यसमध्ये उत्कृष्ट छानेर यो जर्सी तयार पारिएको एन्फा अध्यक्ष शेर्पाले जानकारी दिए।
यस्तै एन्फाले नेपाली फुटबल टिमको गीत पनि सार्वजनिक गरेको छ। राष्ट्रिय धुनका रचनाकार ब्याकुल माइलाको शब्द रहेको गीतमा चर्चित गायकहरु आनन्द कार्की, शिव परियार, इन्दिरा जोशी लगायतको स्वर रहेको छ।
एन्फा अध्यक्ष कर्मा छिरिङको कोरियोग्राफीमा नेपालका पुरुष र महिला राष्ट्रिय टिमका खेलाडीले नयाँ जर्सी लगायत फोटो सेसन समेत गरेका थिए।