PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

हेलिकोप्टर दुर्घटना छानविन समिति सफा मौसम कुर्दै, भिइएमडी ल्याउनसके जाँच गर्न फ्रान्स



वसन्तराज उप्रेती

हेलिकोप्टर दुर्घटना छानविन समिति सफा मौसम कुर्दै, भिइएमडी ल्याउनसके जाँच गर्न फ्रान्स

काठमाडौः मौसम प्रतिकुल हुँदा गत बुधबार पाथीभरामा भएको हेलिकोप्टर दुर्घटना अध्ययनका लागि बनाइएको छानविन समिति अहिलेसम्म घटनास्थलमा पुग्न सकेका छैन।

घटनास्थलबाट हेलिकोप्टरमा जडान गरिएको भेहिकल एण्ड मल्टीफङ्सन डिस्प्ले (भिइएमडी) ल्याउन सके त्यसमा राखिएको 'चिप' मार्फत विस्तृत अध्ययन गर्न सकिने प्राधिकरणले बताएको छ। घटनास्थलमा भिइएमडी फेला परेमा थप अध्ययनका लागि फ्रान्स पठाइने मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए।  

'छानविन समितिको टोली उता गएर भिइएमडी लिएर आउनुहुनेछ। यसमा जडान गरिएको चिप सही सलामत रहेको अवस्थामा दुर्घटना भएको बेलाको हेलिकोप्टरको इन्जिन र त्यसको अवस्था सहजै अध्ययन गर्न सकिनेछ।' प्राधिकरणका एक उच्चपदाधिकारीले भने। 

हाल छानविन समिति अनुकुल मौसमको प्रतिक्षामा रहेको छानविन समितीका सदस्य एवं सहसचिव लामिछानेले जानकारी दिए।

'छानविन समिति त गठन भयो तर मौसमकै कारण हामी घटनास्थलमा पुग्न सकेका छैनौँ। मौसम अनुकुल हुने वित्तिकै हामी घटनास्थलमा छानविनको लागि जानेछौं। अहिले पनि मौसम राम्रो नभएको जानकारी आएको छ। हामी मौसम अनुकुल भएलगत्तै सिस्नेभीर जानेछौँ', उनले भने।

दुर्घटना अनुसन्धानको स्थलगत अध्ययनसँगै हेलिकोप्टरमा जडान गरिएको आवश्यक उपकरण खोजेर ल्याउनु पर्ने बताउँदै लामिछानेले भने,'सानो किसिमको विमान भएकाले यसमा ब्ल्याक बक्स हुँदैन। तर हामीले यसमा जडान गरिएको आवश्यक उपकरण ल्याएर ल्याबमा अध्ययनका लागि दिनेछौँ। दुर्घटनाको छानविन अध्ययन छिट्टै सकेर कारण पत्ता लगाउनु हाम्रो मूल उद्देश्य हो।'

दुर्घटना छानविनका लागि दुर्घटना भएकै दिन नेपाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आकस्मिक बैठकले यज्ञप्रसाद गौतम सहितको चार सदस्य टोली गठन गरेको थियो।

प्राधिकरणका अनुसार एयर डाइनेष्टीको उडान निरीक्षण अवधिभर बन्द रहनेछ। प्राधिकरणका पाइलट, इन्जिनीयर लगायत प्राविधीक टोलीको निरीक्षण पश्चातमात्र कम्पनीको हेलिकोप्टरले उडान गर्न पाउने छ।

'कुनैपनि हेलिकोप्टर 'रोटरविङ' दुर्घटनामा परेपछि प्राधिकरणको निरीक्षण अवधिभर उडानमा रोक लगाइँदै आएको छ। कम्पनीको सेवा सम्वन्धी विस्तृत अध्ययन सकिसकेपछिमात्र पुनः उडानको लागि अनुमति दिइनेछ।' नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत हवाई सेवा सुरक्षा विभागका एक उच्च पदाधिकारीले भने।

उनका अनुसार विभागले निरीक्षणका लागि पाइलट, इन्जिनियर लगायत प्राविधिक टोली परिचालन गरिसकेको छ।  भिभिआइपी सहितको टोली सवार रहेको एयर डाइनेष्टीको नाइन एन एएमआइ एएस ३५० बि थ्रीइ कलसाइनको हेलिकोप्टर गत बुधबार तेह्रथुमको चुहानडाँडामा औपचारिक कार्यक्रम सम्पन्न गरी पाथीभरा हुँदै काठमाडौं आउने क्रममा फुङ्लिङ नगरपालिकामा पर्ने तारेढुंगा सिस्नेभीर क्षेत्रमा दुर्घटनामा परेको थियो।

हेलिकोप्टर दुर्घटनामा  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्र प्रसाद श्रेष्ठ, निर्देशक ध्रुवदास भोछिभया, मन्त्रीपरिषद कार्यालयका उपसचिव युवराज दाहाल , यति एयरलाइन्सका  प्रवन्ध निर्देशक आङछिरीङ शेर्पा, मन्त्री अधिकारीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरे र हेलिकोप्टर चालक प्रभाकर केसीको निधन भएको थियो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell