
काठमाडौः काठमाडौं उपत्यकामा सवारी साधनको चाप बढिरहेको छ। पार्किङको भने ठूलो समस्या छ। सहजै पार्किङ गर्ने ठाँउ भेट्न मुस्किल पर्छ।
सार्वजनिक हुन् वा निजी सबै सवारीसाधनहरु जथाभावी पार्किङ गरेको भेटिन्छ। धेरै ठाउँमा सडक नै कब्जा गरेर पार्किङ गरेको पाइन्छ। असन, न्युरोड, जमल, सुन्धारा, स्वयम्भु, कलकी, बानेश्वर, त्रिपुरेश्वर लगायतका स्थानमा झनै अव्यवस्थित रुपले पार्किङ गरेको पाइन्छ।
काठमाडौं महानगरपालिकाले स्मार्ट पार्किङ बनाएर समस्या समाधान गर्ने योजना बनाएको तीन बर्ष बितेपनि काम अघि बढ्न सकेको छैन।
महानगरपालिकामा विद्यासुन्दर शाक्य मेयरमा निर्वाचित भएर आएपछि पार्किङ समस्या अन्त्य गर्ने भन्दै नीति तथा कार्यक्रममा नै 'भर्टिकल पार्किङ' र 'अण्डर ग्राउण्ड पार्किङ' बनाउने घोषणा गरेका थिए।
निर्वाचित जनप्रतिनिधिले नै घोषणा गरेर विभिन्न स्थानमा तत्कालै काम थाल्ने भनेपछि पार्किङ केहि सहज हुने अपेक्षा गरिएको थियो तर उनै मेयर शाक्यले योजना अघि सारेको डेढ बर्ष पुगिसक्दा यसको प्रगति शुन्य जस्तै छ।
महानगरपालिकाले आर्थिक बर्ष २०७४/७५ को नीति तथा कार्यक्रममा न्युरोड र टेकुमा स्मार्ट पार्किङ निर्माण गरि संचालमा ल्याउने उल्लेख गरिएको भएपनि अहिलेसम्म निर्माण कहिलेबाट सुरु गर्ने भन्ने टुङगो लागेको छैन। नत कुनै योजना नै बनेको छ।
महानगरपालिकाका प्रवक्ता ईश्वरमान ढंगोलका अनुसार, महानगरको कार्यापालिका बैठकबाट निर्णय गर्नुपर्छ तर अहिलेसम्म कार्यापालिका बैठकमा यी दुई स्थानमा पार्किङ बनाउने विषयमा छलफल हुन सकेको छैन।
बोर्ड बैठकबाट निर्णय गराएर छिट्टै ती स्थानमा स्मार्ट पार्किङको काम सुरु गर्ने ढंगोलले दाबी गरे। त्यसका लागि भने केहि महिना लाग्ने उनले बताए।
महानगरका अनुसार धर्मपथको विस्तृत आयोजना प्रतिवेदन ( डिपिआर ) तयार भैसकेको छ। महानगरमा उक्त स्थानमा पार्किङ बनाउनका लागि केहि कम्पनीहरुले प्रस्ताव समेत गरेका छन। तर यस विषयमा महानगरको कार्यपालिकाले निर्णय नगर्दा प्रक्रिया अघि बढ्न सकेको छैन। धर्मपथमा महानगरपालिकाको १ रोपनी ११ आना जग्गा रहेको छ। सोही जग्गालाई उपयोग गर्दै पार्किङ बनाउने योजना बनाइएको थियो।
टेकुमा महानगरपालिकाको करिव सात रोपनी आफ्नै जग्गा छ। सोही जग्गालाई उपयोग गर्दै स्मार्ट पार्किङ बनाउने योजना भएपनि फिजिविलिटी र डिपिआर निर्माण नै हुन बाँकी छ। पहिलो चरणमा महानगरपालिकाले न्युरोड व्यापारिक क्षेत्र भएकाले धर्मपथमा पार्किङ बनाउने निर्णय गरेको थियो। दोस्रो चरणमा टेकुमा बनाउने योजना महानगरको छ। एउटा पार्किङका लागि करिव अर्व रुपैयाँ लाग्ने अनुमान गरिएको छ। यो पिपिपि मोडलमा बनाउने योजना महानगरको छ।
ती स्थानमा तत्कालै काम सुरु नभए पनि दरबारमार्ग र विशाल बजार अगाडि पार्किङ व्यवस्थित गर्न प्रक्रिया सुरु गरेको ढंगोलले जानकारी दिए। ती दुई स्थानमा सडकमै व्यवस्थित हिसावले पार्किङ गर्ने व्यवस्था मिलाउन लागिएको छ।
अहिले भैरहेको अव्यवस्थित सडक पार्किङलाई केहि व्यवस्थित गर्न खोजिएको डंगोलले बताए। दरबारमार्ग र विशाल बजार अगाडि इन्द्रभैरबबाट जुद्ध शालिकसम्म सडकमै व्यवस्थित गरि पार्किङ मिलाउन लागिएको छ। एक घण्टा वा दुई घण्टा समय तोक्ने र बढी समय पार्किङ गरेर बढी शुल्क लिने महानगरको भनाई छ। अहिले पनि ती स्थानमा पार्किङ वापतको शुल्क तिर्नुपर्छ।