PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

८० प्रतिशत काम सकिएको हाइड्रोपावरमा लगानी आह्वान, 'पूँजी अभाव हुन नदिन'



पी बी खड्का

८० प्रतिशत काम सकिएको हाइड्रोपावरमा लगानी आह्वान, 'पूँजी अभाव हुन नदिन'

सुर्खेत: निजी क्षेत्रको लगानीमा निर्माण भइरहेको दैलेखको अपर पराजुली साना जलविद्युत आयोजना अन्तिम चरणमा रहेको छ। पटक–पटक समस्याले सुस्ताएको आयोजना पछिल्लो तीन महिना तीव्र गतिमा काम भइरहेको छ। दैलेखको डुङ्गेश्वर गाउँपालिका–४ व्युराखेतमा निर्माण भइरहेको २.१५ मेगावाट जलविद्युत आयोजनाको ८० प्रतिशत काम पुरा भएको रारा हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडका परियोजना प्रमुख तथा इन्जिनियर चित्रलाल विश्वकर्माले जानकारी दिए। 


विस २०६७ सालदेखि प्रक्रियामा गए पनि आयोजनाको काम भने २०७२ देखि सुरु भएको थियो। हाल आयोजनाको हेडवक्स, पाइपलाइन विच्छयाउने र पावर हाउस निर्माण गर्ने कार्य भइरहेको इन्जिनियर विश्वकर्माले बताए। 


आयोजनाको नौँ सय मिटर क्यानल निर्माण गरिएको छ। एक हजार ४४० मिटर पाइपलाइन, दुई हजार सात सय मिटर कुलो गरी चार किलोमिटर दुरीबाट पानी ल्याई टर्रवाइनमा झारिने उनको भनाई छ। 


आयोजना अन्तिम चरणमा रहेको बताउँदै बैशाख महिनाभित्र विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने तयारी भएको बताए। विद्युत् प्राधिकरणले उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने पूर्वाधार लामो समयसम्म निर्माण नगर्दा आयोजना पछाडि सरेको बताए। उनले भने “३३ केभिए प्रशारस लाइन नहुँदा आयोजना निर्माणमा ढिलाइ भयो। बजार मूल्य, वित्तीय संस्थाको ब्याजका कारण आयोजना निर्माण सम्पन्न हुँदा केही महँगो पर्न गएको छ।” उनले भने,“आउँदो बैशाखसम्म निर्माण कार्य सकेर प्राधिकरणको प्रसारण लाइनमा जोड्ने गरी काम गरिरहेका छौँ।” 


कर्णालीमै नौमुले पछिको दोस्रो ठुलो आयोजना हुने छ। 

हाइड्रोमा लगानी गर्न आव्हान

पूँजीको अभाव हुँदा संस्थापक शेयर सदस्य बन्न चाहने लगानी कर्ताहरूलाई शेयर लिन कम्पनीका अध्यक्ष नरसिंह मल्लले आग्रह गरेका छन्। “हामी अब उत्पादनको चरणमा छौं। मुआब्जा वितरण गरिसकेको छ। बैंकले करोडौँ लगानी गरेको आयोजना अलपत्र पर्ने अवस्था आयो,” उनले भने, “केही पुँजी अभाव हुँदा नयाँ शेयर सदस्यता भित्र्याउने कम्पनीको योजना रहेको छ।” न्यूनतम ५ लाखदेखि अधिकतम ५० लाखसम्म लगानी गर्न इच्छुक लगानीकर्ताहरूले स्थलगत अध्ययन, अवलोकन गरेर लगानी गर्न अध्यक्ष मल्लले आग्रह गरेका छन्।

कम्पनीले २०७५ फागुन मसान्तसम्म प्रति कित्ता ११५ रुपैयाँ र चैत्र मसान्तसम्म प्रति कित्ता १५० रुपैयाँका दरले सेयर लगानीको आव्हान गरेको हो।


२.१५ मेगावाट क्षमताको विद्युत् आयोजना निर्माणमा एभरेस्ट बैंक, सिद्धार्थ बैंक र मेघा बैंकको ७० प्रतिशत र शेयर सदस्यहरूको ३० प्रतिशतमा करिब ५५ करोडको लागतमा निर्माणको अन्तिम चरणमा रहेको छ।


उनले भने, “विद्युत् उत्पादन सुरु भएको १० वर्षमा बैंकको ७० प्रतिशत लगानीमा रहेको साँवा र व्याज चुक्ता गरिनेछ।” वार्षिक आम्दानी साढे ६ करोड ६१ लाख ४५ हजार हुने जनाइएको छ। कम्पनीले विद्युत् प्राधिकरणसंग सुख्खा मौसममा प्रति युनिट ८.८० पैसा र बर्सातको समयमा ४.८० पैसाका दरले खरिद, बिक्री सम्झौता भएको जनाइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell