PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

कर्णालीमा सभा हलको अभाव, राष्ट्रिय नाटक महोत्सव अब प्रहरी व्यायामशालामा



पी बी खड्का

कर्णालीमा सभा हलको अभाव, राष्ट्रिय नाटक महोत्सव अब प्रहरी व्यायामशालामा

सुर्खेत: कर्णालीमा पहिलो पटक हुन लागेको ‘रारा राष्ट्रिय नाटक महोत्सव–२०७५’ सुर्खेतको वीरेन्द्रनगरमा हुने भएको छ। यही फागुन २३ देखि २९ गतेसम्म हुने नाटक महोत्सवमा सात प्रदेशका रंगकर्मीहरुको १३ वटा नाटक मञ्चन हुने छन्। सोही नाटक मञ्चनका लागि अहिले सुर्खेतमा उपयुक्त सभाहल भने पाउन आयोजकलाई हम्मे भएको छ।

पाएका हल पनि दर्शकको क्षमता थाम्न नसक्ने र प्राविधिक हिसावले उपयुक्त नभएकाले जसोतसो सुर्खेत प्रहरीको व्यायामशालामा नाटक मञ्चन हुने भएको छ। प्रहरीको व्यायामशालामा करिब ३ सय जना अट्न सक्ने अनुमान गरिएको छ।

प्रदेशको राजधानीमा सभागृहको अभावपछि उक्त प्रहरीको व्यायामशालामा गर्न लागिएको आयोजक आरङ्ग नेपाल सुर्खेतका अध्यक्ष गणेशभक्त गौतमले जानकारी दिए। ‘सुर्खेतमा नाटक मञ्चनका लागि उपयुक्त स्थान पाउन सकिएन,’ उनले भने, ‘दर्शकको क्षमता थाम्न सक्ने होटेलको हल प्रयोग गर्न सकिन्थ्यो। तर, त्यहाँ लाइटिङ, साउन्ड सिस्टमलगायत प्राविधिक हिसावले समस्या हुने भएकाले प्रहरी व्यायामशालामा गर्न लागेका हौँ,’ फेरि थपे,‘प्रहरी व्यायामशालामै काठमाडौंबाट प्राविधिक बोलाएर थप तयारी भइरहेको छ।’

प्रहरीको व्यायामशालामा समेत दर्शको भिड थाम्न नसकिने आयोजकले जनाएको छ। ‘यस अघिका सासाना नाटक कार्यक्रम हुँदा यहाँको दर्शकको भिड थाम्न गाह्रो हुन्थ्यो,’ अध्यक्ष गौतमले भने, ‘अहिले त राष्ट्रिय नाटक महोत्सव हो। जसमा सात प्रदेशका रंगकर्मीको नाटक मञ्चन हुन्छ। दर्शकको चाप निश्चित बढ्छ। त्यसका लागि दिनमा दुई वटा नाटक मञ्चन हुन्छन्। दर्शकलाई पालो पालो प्रवेश गर्ने गरी व्यवस्था मिलाउने योजनामा छौँ।’

महोत्सवको उद्घाटन उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले गर्ने भएका छन्। सोही दिन २३ गते दिउँसो २ बजे कर्णाली प्रदेशबाट आरङ्ग नेपाल सुर्खेतको गणेश गौतमले निर्देशन गरेको ‘मूशल पर्व’ मञ्चन हुने छ।

एउटै मञ्चबाट सात प्रदेशका रंगकर्मीको नाटक

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने रारा राष्ट्रिय नाटक महोत्सव–२०७५मा सात वटै प्रदेशका रंगकर्मी जमघट हुने भएका छन्। पहिलो पटक हुन लागेको उक्त नाटक महोत्सवमा सात प्रदेशका रंगकर्मीहरुले सहभागिता जनाउने भएसँगै सुर्खेतको एउटै मञ्चमा जमघट हुने भएका हुन्।

सांस्कृतिक संस्थान काठमाडौं र आरङ्ग नेपाल सुर्खेतको आयोजनामा हुने नाटक महोत्सवमा सात वटा प्रदेशका १३ वटा नाटक मञ्चन हुने आरङ्ग नेपालका अध्यक्ष गणेश गौतमले जानकारी दिए।

यस अघि मंसिर पहिलो साता हुने भनिएको महोत्सव यही फागुन २३ देखि २९ गतेसम्म आयोजना हुन लागेको हो। महोत्सवमा १३ वटा नाट्य समूहले सहभागिता जनाउने भएका छन्। 

 

२४ गतेदेखि ३० गतेसम्म दैनिक दुई वटा नाटक मञ्चन हुने समय तालिका रहेको छ। २४ गते प्रदेश नं.१ बाट सोलुखुम्बु नाट्य समुह, सोलुखुम्बुबाट युवराज युराकद्वारा निर्देशित नाटक ‘आरन’ प्रदर्शन हुने छ। सोही दिन दिउँसो ३ बजे प्रदेश ७ को खप्तड सांस्कृतिक मञ्च परिवार, कैलालीबाट पुष्पा अवस्थीद्वारा निर्देशित ‘छाउ’ प्रदर्शन हुने समय तालिका रहेको छ।

त्यस्तै, २५ गते ११ बजे प्रदेश १ बाट मानव अधिकार मञ्च नेपाल, इलामबाट सुरेश पोर्तेलद्वारा निर्देशित नाटक ‘म पहिलो सन्तान किसान जन्माउछु’ प्रदर्शन हुने छ। सोही दिन दिउँसो तीन बजे कर्णाली प्रदेशको कर्णाली कला प्रतिष्ठान, सुर्खेतबाट बालकृष्ण सुनारद्वारा निर्देशित नाटक ‘आमाको सपना’ प्रदर्शन हुने छ।

यही २६ गते प्रदेश २ बाट श्री गढीमाई नाट्य कला केन्द्र, बाराको रामलोचन चौरसीयाद्वारा निर्देशित नाटक ‘दहेज आ दारु’ प्रदर्शन हुने छ। सोही दिन दिउँसो ३ बजे प्रदेश ७ को सुदुर पश्चिमाञ्चल साहित्य समाज, कैलालीबाट भिष्म जोशीले निर्देशन गरेको नाटक ‘श्रीमान् वीरबहादुर’ प्रदर्शन हुने छ।

२७ गते विहान ११ बजे प्रदेश नं. ३ को साइलेन्ट एक्ट, काठमाडौंबाट नाटक ‘जिउँदो आकाश’ प्रदर्शन हुने छ भने नाटक आर.के मेहताले निर्देशन गरेका छन्। सोही दिन दिउँसो कर्णाली प्रदेशको कर्णाली खस संस्कृति मञ्च जुम्लाबाट रन्नीबहादुर घर्तीले निर्देशन गरेको ‘फड्को’ नामक नाटक मञ्चन हुने छ।

२८ गते विहान ११ बजे प्रदेश नं. ४ को मञ्जरी नाट्य समुह, लमजुङबाट पुरु लम्सालले निर्देशन गरेको नाटक ‘नौगेडी’ मञ्चन हुने छ। सोही दिन दिउँसो ३ बजे प्रदेश नं. ५ को शान्तिका लागि युवा सञ्जाल बर्दियाबाट झकेन बिसीले निर्देशन गरेको नाटक ‘हिटवा’ मञ्चन हुने छ।

२९ गते विहान ११ बजे प्रेशन नं. ४ को युथ क्रिएसन थिएटर पोखराबाट केदार पौडेलले निर्देशन गरेको नाटक ‘घेरो’ मञ्चन हुने छ भने, सोही दिन दिउँसो ३ बजे प्रदेश नं. ३ को ङ समुह काठमाण्डौबाट प्रवीण खतिवडाले निर्देशन गरेको नाटक ‘एक बोली एक दाम’ मञ्चन हुने छ।

नाटक महोत्सव आयोजना गर्न करिव ४० लाख लाग्ने अनुमान गरिएको अध्यक्ष गौतमले जानकारी दिए। जसमा कार्यक्रममा सहभागीको  खर्च, रंगमञ्च तयारी खर्च, वर्कसप सञ्चालन खर्च लगाएतको व्यवस्थापनमा ४० लाख  लाग्ने अनुमान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell