
काठमाडौँ : नेपालमा हुने भनिएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) २०१९ को डिसेम्वरमै हुने नेपाली खेलकुदका सरोकावाल निकायहरुले दावी गरेका छन्।
गत शनिवार थाइल्याण्डमा भएको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले १३औँ सागको नयाँ मिति तोकेको थियो। ओलम्पिक काउन्सिल अफ एसियाको बैठक भइरहेको अवसरमा दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठक भएको हो।
त्यसपछि नेपाल ओलम्पिक कमिटीले मंगलवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अब २०१९ मै साग जसरी पनि नेपालमै आयोजना गर्ने जानकारी गराएको हो।
संघिय सांसद समेत रहेका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठले यसअघि भौतिक पूर्वाधारको कमि भएको र तयारीका पनि राम्रो नभएकोले समयमै साग हुन नसकेको बताउँदै अब तोकिएको समयमा जसरी पनि साग नेपालमै हुने बताए।
उनले नेपाल सरकार देखि नेपाली खेलकुदका सरोकारवाल सबै पक्षसँग छलफल गरेर नयाँ मिति प्रस्ताव गरेको र थाइल्याण्डमा भएको बैठकबाट नयाँ मिति घोषणा गरेको बताए।
नयाँ मितिअनुसार १३औँ साग डिसेम्वर १ देखि १० सम्म नेपालमा हुनेछ। १३औँ सागको मिति तेस्रो पटक तय भएको हो भने दोस्रो पटक सरेको हो।
सन् २०१६ को फेब्रुअरी भारतको गुवाहाटी र सिलोङमा भएको १२औं सागको समापन समारोहमा १३औं साग आयोजना गर्न लागि नेपाललाई झन्डा हस्तान्तरण गरिएको थियो। त्यसको दुई वर्षपछि नेपालमा साग हुनुपर्ने थियो। तर भौतिक पूर्वाधार समयमै नबन्नु, आन्तरिक तयारी नहुनुले तोकिएको समयमा साग हुन नसकेको हो।
२०१८ मा साग हुन नसकेपछि काठमाडौंमा बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले सन् २०१९ को मार्च ९ देखि १८ तारिखमा प्रतियोगिता आयोजना गर्ने गरी नयाँ मिति घोषणा गरेको थियो।
तर दोस्रो पटक तोकिएको मितिमा पनि साग आयोजना हुन सकेन।
नेपालको प्रतिष्ठासँग जोडिएको अन्तर्राष्ट्रिय प्रतियोगिताको मिति पटक-पटक सर्दान कतै नेपालमा साग नै नहुने त होइन भन्ने शंका समेत बाहिर नआएको होइन। तर ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले अब जसरी पनि नयाँ मितिमा नेपालमै साग गर्नैपर्ने बाध्यता रहेको बताए।
'हामी सबै पक्ष बसेर छलफल गरेर प्रतिवद्ध भएर नै डिसेम्वरमा गर्न सकिने गरी नयाँ मिति तोकेका हौँ। अब त्यो मितिमा गर्न कुनै पनि हिसावमा कमि हुँदैन। २०१९ बाध्यात्मक अवस्था हो र यही वर्ष साग हुनैपर्छ।'
यस्तै युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्ण देवकोटाले घोषित मितिमै सागर गर्न सरकार प्रतिवद्ध रहेको बताए। उनले केही कानुनी बाधा अड्चनहरु छन् भने त्यसलाई फुकाएर अगाडि बढ्नुपर्ने बताए।
देवकोटाले नयाँ तोकिउको मितिमा जसरी पनि साग गर्नुपर्ने र त्यसका लागि सरकार प्रतिवद्ध रहेको बताए।
यस्तै राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्वर तिम्सिनाले साग आयोजनाका लागि भौतिका पूर्वाधारहरुको काम भइरहेको बताए।