PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

रेशम चौधरीले सफाइ पाउलान् कि होलान् दोषी करार? टीकापुर घटनामा जिल्ला अदालतले आज फैसला सुनाउँदै



एम बम

रेशम चौधरीले सफाइ पाउलान् कि होलान् दोषी करार? टीकापुर घटनामा जिल्ला अदालतले आज फैसला सुनाउँदै

कैलालीः जिल्ला अदालत कैलालीमा गत बुधबारदेखि सुरु भएको टीकापुर घटनाको बहस सकिएको छ। ८ प्रहरी र एक नाबालकसहित नौ जनाको ज्यान गएको तीन वर्षअघिको घटनाको मंगलबार बहस सकिएको हो। घटनामा बाहलवाला सांसद् रेशमलाल चौधरीलाई मुख्य अभियुक्त बनाइएको छ। निर्वाचित सांसद् चौधरी मुद्दाकै कारण थुनामा छन्। अदालतले सफाइ दिएमा उनी थुनामुक्त हुनेछन्। दोषी ठहर गरेमा प्रतिनिधिसभाको यात्रामा थप ब्रेक लाग्नेछ।

अदालतले दोषी ठहर गरेमा चौधरी थुनामै रहेर चौधरीले मुद्दाको पुनरावेदन प्रक्रियामा सहभागी हुन सक्नेछन्। शपथ लिए पनि सांसदको हैसियतले कुनै पनि काम गर्न पाउने छैनन्।

बुधबार अदालतले मुद्दाको अन्तिम फैसला गर्ने जिल्ला अदालत कैलालीका प्रवक्ता नरबहादुर नेगीले बताए।

मुद्दामा वादी नेपाल सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता विष्णु पौडेल र सहायक न्यायाधिवक्ता लक्ष्मी शर्माले बहस गरे। प्रतिवादीका तर्फबाट दर्जनभन्दा बढी कानुन व्यवसायीले बहस गरेका थिए।

जिल्ला न्यायाधीश पर्शुरामा भट्टराईको इजलासमा टीकारपुरको घटनाको बहस सकिएको हो। झन्डै साढे तीन वर्षपछि अन्तिम बहस सुरु भएको थियो।

टीकापुर घटनाका मुख्य आरोपित मानिएका रेसम चौधरी घटनापश्चात् प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए पनि कारागारमै छन्। निर्वाचित भएको एक वर्षपछि चौधरीलाई शपथ गराइएको थियो।

घटनामा संलग्न भएको आरोपितमध्ये ३२ जना अझै फरार छन्। एक  नाबालक, सांसद चौधरीसहित २६ जना भने पुर्पक्षका लागि थुनामा छन्। 

२०७२ भदौ ७ गते टीकापुरमा थरुहट÷थारुवान आन्दोलनको क्रममा आन्दोलनकारी र प्रहरीबीचको दोहोरो झडपमा परी एक नाबालक र ८ प्रहरीको ज्यान गएको थियो। घटनामा ज्यान गुमाउने दुई वर्षीय नाबालक टेकेन्द्र साउद थिए।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell