काठमाडौं : एनसेल विस्फोट प्रकरणमा प्रहरीले भूमिगत रुपमा सक्रिय रहेका विप्लव समूहको नेपाल कम्युनिस्ट पार्टीका नेता राजु कार्कीलाई पक्राउ गरेको छ।
कार्की नेपाल कम्युनिस्ट पार्टीको किसान महासंघका अध्यक्षसमेत हुन्। प्रहरीले कमलपोखरीमा रहेको आँगन स्विट्समा शंकास्पद वस्तु छाड्ने व्यक्तिको खोजी गर्दा कार्कीको संलग्नता फेला पारेको थियो। त्यसैका आधारमा उनलाई प्रहरीले हिजो पक्रेको हो।
आँगनमा कार्यरत तीन कर्मचारीलाई हटाएपछि उनीहरु विप्लव नेतृत्वको नेकपामा उजुरीका लागि पुगेका थिए। एनसेलका टावर कार्यालयमा विस्फोट गराउनेक्रममा आँगनमा पनि बम छाडिएको थियो। त्यही क्लुका आधारमा प्रहरीले कार्कीलाई नियन्त्रणमा लिएको हो।
कार्की गत असोज १८ गते पनि पक्राउ परेका थिए। त्यतिखेर उनी धनुषा जिल्ला इन्चार्जसमेत रहेका थिए। सर्वोच्चको बन्दी प्रत्यक्षीकरणबाट असोज २९ गते उनी रिहा भएका थिए। त्यसपछि पनि उनी पार्टीको गतिविधिमा सक्रिय रहँदै आएका थिए।