PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

सांसद सपथको दुई महिनामा नै रेशम चौधरी दोषी ठहर, जिल्ला अदालतले सुनायो जन्मकैदको फैसला



एम बम

सांसद सपथको दुई महिनामा नै रेशम चौधरी दोषी ठहर, जिल्ला अदालतले सुनायो जन्मकैदको फैसला

कैलाली : जिल्ला अदालत कैलालीले सांसद रेशम चौधरीलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ। 

न्यायाधीश परशुराम भट्टराईको इजालसले सांसद चौधरी सहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको हो। भर्खरै जिल्ला अदालतले सुनाएको फैसलाअनुसार १२ जनालाई ३ वर्ष कैद तोकिएको छ। घटनामा संलग्न एक नावालकलाई भने ६ महिना कैद सजाय सुनाइएको छ।

प्रहरीले घटनामा संलग्न भन्दै २७ जनालाई पक्रेको थियो। टीकापुरमा भएको प्रहरीको हत्याको विषयमा चौधरी लामो समय भूमिगत रहँदै आएका थिए। उनी भूमिगत अवस्थमा नै प्रतिनिधिसभामा निर्वाचित भएका थिए।

दुई महिनाअघिमात्रै उनले जेलबाटै संसद भवन पुगेर सपथ ग्रहण गरेका थिए। जन्मकैद फैसलासँगै उनको सांसद पद निलम्बित भएको छ।

टीकापुर घटनामा प्रहरीले खोजी सूचीमा राखेपछि फरार चौधरीले वारेसमार्फत् राष्ट्रिय जनता पार्टीबाट उम्मेदवारी दिएका थिए। चौधरी ३४ हजार ३४१ मतसहित विजयी भएका थिए। चौधरीले आफूले पाएको जनमत नै निर्दोष सावित गरेकोसमेत बताउँदै आएका थिए।

संसदमा सपथ ग्रहणपछि मिडियासँग कुरा गर्दै उनले भनेका थिए -  ‘न्यायलयले न्याय दिनुपर्छ भिख होइन। रेशम भिख माग्दैन। दोषी भए प्रमाणित गरिदिनुहोस्।' 

२०७२ भदौ ७ गते मधेश–थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा  जनपथ प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित आठ जना प्रहरी र एक जना बालक मारिएका थिए। यस घटनापछि सुरक्षाकर्मीको यातनाबाट एक जना थारु पनि मारिएका थिए। सुरक्षाकर्मी नै मारिए पछि ८५ भन्दा बढी थारुहरुको घर जलाइएको थियो भने दर्जनौं थारुहरु विस्थापित भएका थिए।

घटनाका मुख्य आरोपी चौधरीले गत वर्षको फागुन १४ गते जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell