PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

१२औँ दक्षिण एसियाली शारीरिक सुगठन असारमा नेपालमा हुने



पहिलोपोस्ट

१२औँ दक्षिण एसियाली शारीरिक सुगठन असारमा नेपालमा हुने

काठमाडौं: नेपाल शारीरिक सुगठनको तथा फिटनेस संघको आयोजनामा १२औँ दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता २०७६ साल असारमा नेपालमा हुने भएको छ।

आयोजकले बुधवार राजधानीमा पत्रकार सम्मेलन गर्दै दक्षिण एसियाली स्तरको प्रतियोगिता २०७६ साल असार ५ देखि ८ गतेसम्म नेपालमा आयोजना गर्न लागेको जानकारी दिएको हो।

तेस्रो पटक नेपालमा हुन लागेको यस प्रतियोगितामा दक्षिण एसियाका सात र अफगानिस्तान गरी कूल ८ राष्ट्रका खेलाडीहरुले सहभागिता जनाउने नेपाल शारीरिक सुगठनको तथा फिटनेस संघका अध्यक्ष राजेश बाबु श्रेष्ठले बताए।

प्रतियोगितामा शारीरिक सुगठनतर्फ विभिन्न ९ तौल समूहमा प्रतिस्पर्धा हुनेछ भने पुरुष फिटनेस फिजिक्समा दुई र महिला एथ्लेटिक फिजिक्समा दुई विधामा प्रतिस्पर्धा हुनेछ। पुरुष फिटनेस र महिला एथ्लेटिक्स विधा पहिलो पटक समावेश भएको नेपाल शारीरिक सुगठनको तथा फिटनेस संघले जनाएको छ।

शारीरिक सुगठनतर्फ पुरुषको ५५ केजी, ६० केजी,  ६५ केजी, ७० केजी, ७५ केजी, ८० केजी, ८५ केजी, ९० केजी र सो भन्दा माथीको तौल समूहमा प्रतिस्पर्धा हुनेछ।

यस्तै पहिलो पटक हुन लागेको पुरुष फिटनेसमा १७० सेमी र सो भन्दा माथि तथा महिला एथ्लेटिक फिजिक्समा १६५ सेमी र सो भन्दा माथिको उचाई समूहमा प्रतिस्पर्धा हुनेछ।

चार दिन सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन खेलाडीहरु आउने र दर्ता गरिने आयोजकले जनाएको छ। प्रि जजिङ र फाइनल चरणका खेल असार ६ र ७ गते हुनेछन्। ८ गते विदेशी खेलाडीहरु स्वदेश फर्कने कार्यक्रम रहेको छ।

दक्षिण एसियाली शारीरिक सुगठनका लागि नेपाली खेलाडीको छनौट २०७६ साल वैशाख २० र २१ गते हुने सातौँ मिस्टर हिमालयको विजेताबाट छानिने नेपाल शारीरिक सुगठन तथा फिटनेस संघले जनाएका छ। संघका महासचिव दिनेश राजभण्डारीका अनुसार मिस्टर हिमालयमा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीलाई दक्षिण एसियाली स्तरको प्रतियोगिताको लागि छनोट गरेर तयारी गराइनेछ।

राजभण्डारीले नेपाली शारीरिक सुगठन खेलाडीले पछिल्लो एक दशकमा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न उपाधिहरु जित्दा पनि अहिलेसम्म सरकारले सहयोग नगरेको गुनासो राखे।

नेपालमा हुने दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताको तयारीको अवस्था हेर्न यहाँ आएका वर्ल्ड बडिबिल्डिङ एण्ड फिजिक स्पोर्ट्स फेडेरेसनका महासचिव तथा एसियन बडिबिल्डिङ एण्ड फिटनेस फेडेरेसनका अध्यक्ष समेत रहेका दातुक पाउल चाउले नेपाल शारीरिक सुगठनको तथा फिटनेस संघले प्रतियोगिताको लागि राम्रो तयारी गरेको र यसबाट सन्तुष्ट रहेको बताए। दातुकले नेपालमा हुने लागेको यस प्रतियोगितामा सबै देशको खेलाडी आउने विश्वास व्यक्त गरे।

उनले नेपालले शारीरिक सुगठनमा धेरे च्याम्पियनहरु जन्माएको भन्दै नेपाल शारीरिक सुगठन तथा फिटनेस संघको प्रशंसा गरे। नेपाली शारीरिक सुगठनमा विभिन्न समस्याहरु हुँदा हुँदै पनि थोरै समयमा नेपालले एसियन च्याम्पियन र वर्ल्ड च्याम्पियन जन्माएको बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell