
काठमाडौं: पूर्व प्रधानमन्त्री तथा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले हालै मध्य पहाडी लोकमार्गको एक महिने यात्रा सम्पन्न गरे। यस क्रममा देखेका रोचक प्रसंग उनले बुधबार संसदमा सुनाए।
१) महेन्द्रले अर्को बाटो बनाएको भए
यदि राजा महेन्द्रले चुरेको फेदीबाट महेन्द्र राजमार्ग बनाउनुको सट्टा पहाडबाट मध्यपहाडी लोकमार्ग र तराई मधेशबाट हुलाकी मार्ग यी दुईवटा मार्ग बनाएको भए जनताको जीवन स्तर, आर्थिक स्तरमा परिवर्तन आउँथ्यो र नेपाल अहिले अर्कै ठाउँमा पुग्थ्यो। नेपालको ऐतिहासिक ढंगले बसोबास गर्ने क्षेत्र यी थिए।
२) पुरुष विदेश गएपछि महिला मात्र भएको कलेज
बेरोजगारी, बसाइँ सराइँ र युवा पलायन पूर्वदेखि पश्चिमसम्म देखियो। एउटा कलेजमा ९८ प्रतिशत महिला विद्यार्थी रहेछन्। कति धेरै महिला भनेर म दङ परें। किन त्यस्तो रहेछ भनेर बुझ्दा अधिकांश युवा १० कक्षा पढेपछि विदेशतिर जान्छन्, यसकारण महिलामात्रै रहे भने। म खिस्रिक्क परें। युवाविहीन भएर महिलामात्र रहनुले त्यति खुसी पनि रहेन।
३) रिपोर्टमा मात्र बनेको सडक
जाजरकोटको पुदुबाट बडावनसम्मको क्षेत्र मुख्यतः कार्कीगाउँदेखि छाप्रासम्मको खण्ड बन्दै नबनिकन, ट्र्याक खुलेकै छैन ट्रयाक खुल्यो भनेर नक्कली प्रतिवेदन पेश गरेर रकम असुलेको भन्ने पनि त्यहाँका मान्छेले सुनाए।
४) कतै पुलैपुल, कतै एउटै छैन पुल
पुलहरु बनाउने कुरामा पनि असमानता देखियो। कुनै नदीमा पुलैपुल छन्। ३०, ४० किलोमिटरभित्र ८/१० वटा पुलहरु भएको पनि देखियो भने कुनै ठाउँमा चाहिँ पूरै १०० किलोमिटरमा पनि एउटै पुल छैन। पूर्वमा तमोरदेखि अरुण हुँदै पश्चिमको महाकालीसम्म पुग्यौँ। हामीले आ -आफ्नो जिल्लामा तानातान गर्नुभन्दा पनि राष्ट्रिय नीति बनाएर ध्यान दिनुपर्यो।
पूर्वमा चिवा भञ्ज्याङसम्म हाम्रो बाटो पुगेको छ तर सिक्किमतिर १७ किलोमिटर बाटो बन्न बाँकी छ। सिकिम्मको नबनी हाम्रोमात्र बाटो पुगेर फाइदा छैन। त्यसैगरी पश्चिममा झुलाघाटसम्म हाम्रो बाटो पुगेको छ। त्यहाँ भारत र हामीले पुल नबनाउँदा त्यहाँका जनतालाई लाभ भएको देखिएन।
पुलहरुमा सबभन्दा आवश्यक चौरजहारीबाट जाजरकोटको पुदु जाने पुल नबनी नहुने पुल हो। सदरमुकाम जोडिने ठाउँमा एउटा पनि पुल नहुनु तथा वर्षौँदेखि अलपत्र हुनु ज्यादै दुःखद छ।
५) खानेपानी र सिंचाई
तल नदी बगिरहेका छन्। माथि खेत पानी नभएर पट्पटी फुटेका छन्।
६) दरबन्दी नभएको मावि
माध्यमिक तहसम्म शिक्षाकाे जिम्मा स्थानीय तहलाई दिएका छौँ तर उनीहरु साधन सम्पन्न छैनन्। दैलेखको जनता मावि एउटा मात्रै मावि हो। ५०० विद्यार्थी छन् तर प्रावि दरबन्दी मात्र छ। मावि दरबन्दी एउटा पनि छैन।
७) बाँदर समस्या
भोजपुरको अरुण गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर कार्कीलाई तपाईँको एक नम्बर समस्या के हो बताउनुस् भनेको उहाँले बाँदर भन्नुभयो। ठट्टा हो कि भनेर साँच्चै भन्नुस् भन्दा हैन बाँदरै हो भन्नुभो। झट्ट हेर्दा ठट्यौला जस्ता लाग्ने विषयमा पनि सोच्नुपर्छ। झट्ट हेर्दा सानो तर गम्भीर किसिमका समस्या पनि देखियो।
८) नाममात्रका नगरपालिका
व्यवस्थित सहरिकरण भएन। अधिकांश नाममात्रका नगरपालिका देखिए। खाली नाउँमात्रै नगरपालिका घोषणा गरेका छौँ। त्यहाँ न्यूनतम जनसंख्या जनघनत्व भन्ने हुनुपर्थ्यो नगरपालिकाका निम्ति। न्यूनतम पूर्वाधार हुनुपर्थ्यो, बाटो, पानी, बिजुली संसार केही पनि छैन नाउँमात्रै नगरपालिका राखिदियो। ठट्टा पनि चल्यो त्यहाँ- यस्तै गर्ने हो भने त हामी नेपाली सबैको नाम धनबहादुर, धनप्रसाद, धनराज अथवा धनमाया धनकुमारी भनेर राखे त नेपाली धनी हुन्छ त। न्यूनतम पूर्वाधार नभइकन नगरपालिका घोषणा गर्ने र आवश्यक पूर्वाधार नबनाउने गम्भीर समस्या देखियो।
९) पुरातात्विक महत्वका वस्तु अलपत्र
दैलेखको दुल्ल जहाँ १०३८ सालमा लेखिएको नेपाली भाषाको पहिलो अभिलेख भएको ठाउँमा पुरातात्विक महत्वका वस्तु अलपत्र ढंगले सडकमा फ्याँकिएको अवस्थामा देखियो।
१०) ६८ वर्षदेखिको अलपत्र सपना
भोजपुरको बाबा गुप्तेश्वरमा २००७ सालमा नेपाली कांग्रेसको जनमुक्ति सेनाले राणाहरुको सेनामाथि विजय हासिल गरेको ठाउँमा एउटा स्मारक बनाउनु पर्छ भनेर त्यहाँका जनता लागेका रहेछन्। त्यो अहिलेसम्म बन्न नसकेको रहेछ।
११) नगरपालिकाभित्रै २ सय छाउपडी गोठ
दिपायल सिलगढी नगरपालिकाका मेयर महिला नै हुनुहुन्छ। उहाँ आफैले भन्नुभो उहाँहरुको नगरपालिकाभित्र २ सय वटा छाउपडी गोठ छ। किन भत्काउनुहुन्न त भनेको उहाँले सांस्कृतिक आदि कारणले भन्नुभो।
१२) मगर खड्काको नालिबेली
गोरखा द्रव्य शाहले आक्रमण गर्दा त्यहाँ खड्काहरुको शासन थियो भन्ने सुन्छौँ। तर त्यतिबेलाका खड्का भनेका क्षेत्री खड्का हैनन्। तिनीहरु त मगर खड्का हुन्। तर ती मगर खड्काको नालिबेली कहीँ भेटिन्न। मैले पनि निकै खोज्थेँ कहीँ भेटेको थिइनँ। अहिले नुवाकोटको सामरी भञ्ज्याङमा मगर खड्काहरुको एउटा ठूलो बस्ती नै रहेछ। त्यहाँ एउटा माविको हेडमास्टर नै मगर खड्का हुनुहुँदो रहेछ।
१३) सडक तानातान
मध्यपहाडी लोकमार्ग जुन गतिमा हुनपर्ने हो त्यो गतिमा निर्माण भएको छैन। राइट अफ वे दायाँबायाँ ३१ मिटर राख्नाले अधिकांश पुराना बस्ती पूरै सखाप हुने देख्यौँ। सडक ऐनलाई नै संशोधन गरेर पहाडको हकमा बढी भयो विज्ञहरुको सल्लाह लिएर कति घटाउनु सकिन्छ घटाउनु पर्छ। आफूलाई पायक पर्ने ठाउँमा तानातान गरेको पनि देखियो। जबकि यसको मुख्य मार्ग पश्चिममा डोटीदेखि काठमाडौँसम्म हुलाक कुन मार्गमा आउँथ्यो, पूर्वमा पनि इलाम धनकुटा ताप्लेजुङबाट आउने हुलाक कुन बाटोबाट हिँड्थ्यो त्यो नै अलाइनमेन्ट हुनुपर्ने ठाउँमा आफ्नो सुविधा अनुसार मानिसहरुले तन्काउँदा पनि असन्तुष्टि देखियो।