काठमाडौं: 'लिलिबिली'बाट नेपाली रजतपटमा डेब्यु गरेकी जसिता गुरुङले अनमोल केसीसँग स्क्रिन सेयर गर्ने इच्छा रहेको बताएकी छिन्।
फिल्म क्षेत्रमा प्रवेशसँगै फिल्मकर्मीबीच उनको अभिनय भन्दा सौन्दर्यताको चर्चा भएको थियो। यसैबीच हालै एक कार्यक्रममा उनलाई आगामी दिनमा फिल्म गर्न मन लागेका कलाकारबारे प्रश्न सोधिएको थियो।
उनले जवाफमा पाँचजना नायकको नाम लिइन्। अनमोल केसीसँगै उनले सौगात मल्ल, विपिन कार्की, धिरज मगर र आशिरमान देशराज जोशी श्रेष्ठसँग काम गर्ने रहर रहेको बताइन्।
लण्डनमा बस्दै आएकी जसिता फिल्म गर्नकै लागि नेपाल आएकी थिइन्। उनलाई सुरुमा नेपाली बोल्न पनि गाह्रो भएको थियो।
नेपाली सिक्ने क्रममै रहेकी उनले दोस्रो फिल्म 'लभ स्टेशन' मा अभिनय गर्ने अवसर पाइन्। सो फिल्ममा पनि उनले अभिनेता प्रदीप खड्कासँग स्क्रिन सेयर गर्ने मौका पाइन्।
पछिल्लो समय कोरियोग्राफर रेनशा बान्तवा राईले निर्देशन गर्ने 'आइएम ट्वाइन्टी वान'मा पनि उनले अभिनय गर्ने चर्चा थियो। अहिले फिल्मको स्क्रिप्टको काम भइरहेको र स्क्रिप्टको काम सकिनसाथ फिल्म गर्ने/नगर्ने निर्णय लिने जसिता बताउँछिन्। 'मलाई रेनशा म्यामसँग काम गर्ने मन छ। उहाँको कामबाट प्रभवित छु' उनले भनिन्।