PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

फिल्म हिट होस् या नहोस्, टेन्सन फ्री छन् आशिरमान



पहिलोपोस्ट

फिल्म हिट होस् या नहोस्, टेन्सन फ्री छन् आशिरमान

काठमाडौं : पहिलो डेब्यू फिल्म 'ग्याङस्टार ब्लुज'बाट अभिनेता आशिरमान देशराज जोशी श्रेष्ठ निकै आशावादी थिए। 

'होस्टेल', 'गाजलु' र 'जेरी' जस्ता फिल्म निर्देशन गरिसकेका निर्देशक हेमराज बिसीको फिल्ममा अभिनय गरेकाले यति आशा राख्नु स्वभाविक थियो। आना शर्मासँग उनले स्क्रिन सेयर गरेकाे उक्त फिल्ममा मिहिनेत पनि निकै गरेका थिए। तर, ग्याङस्टार ब्लुज खासै चलेन। फिल्म नचले पनि उनको अभिनयको भने सबैले तारिफ गरे।

पहिलो फिल्म नै नचल्दा उनी केही निरास सुनिए। ‘मलाई एकदम असर गर्‍यो फिल्म नचल्दा। प्रदर्शन अघिको हाइप घट्दा नराम्रो लाग्यो,’ उनले भनेका थिए। 

उनी निरास देखिएपछि उनलाई निर्माण टिमले ढाडस दिए। आमा रबिना देशराज जोशीले पनि सम्झाइन्। फिल्म चल्ने नचल्ने कुनै ग्यारेन्टी नहुने तथ्यसँग उनी साक्षत्कार भए, ग्याङस्टार ब्लुजबाटै। त्यसैले सबै कुरामा कलाकार तटस्थ हुनुपर्ने उनलाई लागेको छ। भने, ‘त्यतिखेर मैले कसैलाई आरोप लगाइन। फिल्ममा के हुन्छ कसैलाई थाह हुँदैन। अब मलाई के थाह भइसक्यो भने फिल्म चले पनि नचले पनि हामी तटस्थ हुनुपर्छ। त्यसलाई सिरियसली लिएँ भने अघि बढ्न सक्दिन।’ 

फिल्म नचले पनि निर्माण टिमले उनीसँग नयाँ फिल्म गर्ने बताइसकेको थियो। उनको हरेक काममा बैंकर आमा देशराजले हौसला दिँदै आएकी थिइन्। फिल्म फ्लप हुँदा पनि उनलाई रविनाबाट त्यस्तै सान्त्वना पाएका थिए।

त्यसपछि त्यही निर्माण टिमसँग नयाँ फिल्म गरे - ‘द ब्रेकअप’। फिल्ममा उनीसँगै अभिनेत्री शिल्पा मास्केले अभिनय गरेकी छिन्। अहिले यो फिल्म प्रदर्शनरत नै छ। फिल्ममा उनी एक प्याराग्लाइडिङका पाइलटको भूमिकामा देखिएका छन्। पहिलो फिल्ममा एक्सन हिरोका रुपमा देखिएका उनी  यस फिल्ममा भने लभर ब्वाइको भूमिकामा देखिए। 

हेमराजका फ्यान आशिरमान

हेमराजले निर्देशन गरेको फिल्म ‘जेरी’ हेरेपछि आशिरमानलाई लागेको थियो ‘वाउ नेपाली फिल्म पनि यस्तो बन्छ?'

उनी हेमराजको निर्देशन कलाका फ्यान भइसकेका थिए। हुन त उनलाई ‘जेरी’मा पनि काम गर्ने अवसर मिलिसकेको थियो तर सहायक भूमिकामा। 

मोर्डन इन्डियन इंग्लिस स्कुलबाट १२ सकिएपछि उनै हेमराजले उनलाई ‘ग्याङ्स्टार ब्लुज’मा अनुबन्धित गरेका थिए।

फिल्मको अफर आउँदा उनको खुशीको सीमा थिएन। उनले हेमराजले निर्देशन गरेका दुई फिल्ममा अभिनय गर्ने मौका पाए। 

फिल्मी करिअरबारे कुरा गर्दैगर्दा सोध्यौं, फिल्मको नाम जस्तै  वास्तविक जीवनमा ब्रेकअप भयो कि छैन?

उनले कक्षा ८ मा हुँदा नै ब्रेकअप भएको बताए। 

'सबैले जीवनमा एकपटक ब्रेकअपको अनुभव गरेकै हुन्छन्,' उनले भने, 'कक्षा ८ मा एकजना केटीलाई 'आई लभ यू' भनेर प्रपोज गरेको थिएँ। भोलिपल्ट त्यो केटीले 'नो' भनिदिइ।' 

युकेजीमा अध्ययन गर्दा आशिरमानको हजुरआमा टिभीमा 'कहोना प्यार है ' हेर्नुहुन्थ्यो। पर्दामा हृतिक रोशनलाई देखेपछि हिरो बन्ने रहर जागेको थियो उनलाई। 

उनले मोडलिङ भने गरेका छैनन्। तर, कतिले उनलाई मोडल पनि भन्ने गर्छन्। 'म कहिल्यै रनवेमा हिँडेको छैन,’ उनले प्रस्ट्याए। 

दुई वर्ष भयो उनले इन्डस्ट्रीमा पाइला चालेको। उनका दाइ आयुष्मान देशराज जोशी पनि यही क्षेत्रमा छन्। 

अभिनयलाई अझै निखार्नुपर्ने अनुभव गरेका छन् उनले। अभिनय र गायनमा  आफूलाइ स्थापित गर्ने उनको लक्ष्य हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell