PahiloPost

Jan 25, 2025 | १२ माघ २०८१

एनसेल विस्फोट रियाक्सनः विप्लवको गाउँमा ७ घन्टासम्म प्रहरीको सर्च



सविन ढकाल

एनसेल विस्फोट रियाक्सनः विप्लवको गाउँमा ७ घन्टासम्म प्रहरीको सर्च

काठमाडौं : प्रहरीले बिहीवार बिहान कपिलवस्तुको शिवराज नगरपालिकाभित्रको अंचलपुर लगायतका स्थानमा सर्च अपरेसन गरेको छ। प्रहरीले लामो समय लगाएर सर्च गरेको यो ठाउँ नेपाल कम्युनिष्ट पार्टीका संयोजक नेत्र विक्रम चन्द विप्लवको क्षेत्र हो।

सर्चकै क्रममा भाग्न खोज्दा प्रहरीको गोलीबाट ४० वर्षीय दुर्गाबहादुर रोका घाइते भएका छन्। उनी विप्लव नेतृत्वको नेकपाका स्थानीय नेता हुन्।

छापा मार्न खोज्दा भाग्न खोजेपछि गोली प्रहार गरेको र गोली लागी रोका घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी अच्युत पुडासैनीले जानकारी दिए।

रोकाको घररबाट अत्याधुनिक हतियार समेत प्रहरीले बरामद गरेको दावी गरेको छ। प्रहरीले एसएमजी २ थान, त्यसको गोली ६८ राउण्ड, त्यसको म्यागजिन ३ थान, ५४ टाइप पेस्तोल १ थान, त्यसको म्यागजिन १ थान, त्यसको गोली ३ राउण्ड, ५.५६ क्यालिभरको राउण्ड १ सय ३१ पिस, थप म्यागजिन १ थान र विभिन्न किसिमका तार तथा फलामका नटहरु १ बोरा (२५ केजी) बरामद भएको एसपी पुडासैनीले जानकारी दिए।

प्रहरीले रोकाको घरमात्र होइन, ‘बिहानभरमा पूरै गाउँ नै छापा मारेको हो। कति घर छापा मारेको हो भन्नै सकिन,’ एसपी पुडासैनीले भने।

गत फागुन १० गते ललितपुर महानगरपालिका ४ नख्खुस्थित एनसेलको कार्यालय अगाडि शुक्रबार राति विष्फोट हुँदा एक जनाको मृत्यु भयो। घटनामा दुई जना घाइते भएका थिए। विस्फोटनको जिम्मा नेकपाले लियो। जिम्मा लिएसगै प्रहरीले विप्लव तथा उसका नेता खोजी गरिरहेको जानकारी दिएको थियो। सर्च गरिएको गाउँ विप्लवको आधार क्षेत्र रहेकाले करिब ७ घन्टा सर्च गरिएको प्रदेश नम्बर ५ का प्रहरी प्रमुख डिआइजी पिताम्बर अधिकारीले पहिलोपोस्टलाई जानकारी दिए।

‘हामीले हतियारसहित सैन्य तालिमको ब्यानरसमेत भेटेका छौं,’ अधिकारीले भने, ‘प्रारम्भीक अनुसन्धानमा उनीहरुले सैन्य तालिमसमेत दिने गरेको देखिएको छ।’

बिहीवार बिहान विप्लव लगायतका समूहको गतिविधि बढेको जानकारी आएपछि प्रहरीले गाउँमा नै छापा मारेको जानकारी दिएको छ। एसपी पुडासैनीले भने, ‘ललितपुरमा भएको विस्फोट देखि नै हामी अनुसन्धानमा थियौं। गाउँमा हतियार लगायत केही व्यक्ति भएको सुचनाको आधारमा छापा मारेका हौं।‘

मंगलवार मात्र प्रहरीले काठमाडौंबाट कम्युनिस्ट पार्टीका नेता राजु कार्कीलाई पक्राउ गरेको थियो। कार्की नेपाल कम्युनिस्ट पार्टीको किसान महासंघका अध्यक्षसमेत हुन्। कमलपोखरीमा रहेको आँगन स्विट्समा शंकास्पद वस्तु छाड्ने व्यक्तिको खोजी गर्दा प्रहरीले कार्कीको संलग्नता फेला पारेको थियो।

विस्फोटको घटनापछि प्रहरीले विप्लव समूहका नेताहरुलाई खोजी गरिरहेको छ। प्रहरीले खोजी गरेका नेताहरु सम्पर्क बाहिर रहेको एक प्रहरी अधिकृतले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell