PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

फागुनभर ने क पालाई शोक, जनयुद्धका शहीददेखि दुई अधिकारीको श्रद्धाञ्जलीसम्म



विधुर ढकाल

फागुनभर ने क पालाई शोक, जनयुद्धका शहीददेखि दुई अधिकारीको श्रद्धाञ्जलीसम्म

काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का लागि यो महिना शोकको महिना रह्यो। यसबीच ने क पाले पाकादेखि युवा नेतासम्म गुमायो।

आज ने क पाको केन्द्रीय सचिवालयले भृकुटिमण्डपमा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारी र ताप्लेजुङको पाथिभराबाट फर्कने क्रममा हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाउने संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित मृतक सात जनाको स्मृतिमा श्रद्धाञ्जलीसभाको आयोजना गर्‍यो।

श्रद्धाञ्जली सभामा बोल्ने क्रममा ने क पाका एक अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले ने क पाका लागि फागुन महिना शोकको महिना भएको बताए।

ने क पाले फागुन १ गते गते 'जनयुद्ध दिवस'को अवसरमा जनयुद्ध र जनआन्दोलनमा शाहदत प्राप्त गर्ने शहीदहरुको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम गरेर महिनाको सुरुवात गर्‍यो। त्यसपछि सुरु भएको ने क पाको श्रद्धाञ्जली कार्यक्रम एक पछि अर्को गर्दै थपिँदै गए। पार्टी शोकमा पर्दै गयो।

ने क पालाई शोकको श्रृङ्खला:

प्रदेशसभा सदस्य वलीको निधन

फागुन १० गते विहान २ बजे ने क पाका युवा नेता तथा प्रदेश ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको निधन भयो। माघ २५ गते बुटवलबाट दाङतर्फ जाँदै गर्दा घोराही उपमहानगरपालिका वडा नं. ३ को चिसापानीमा सावारी दुर्घटनामा घाइते भएका उनको ललितपुर स्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

वली दाङ क्षेत्र नं. ३ को प्रदेशसभा क्षेत्र नं. २ बाट निर्वाचित प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

अनेरास्ववियुबाट राजनीतिक यात्रा आरम्भ गरेका कमरेड उत्तरकुमार वली तत्कालीन नेकपा (एमाले)को जिल्ला कमिटी सदस्य थिए। उनी २०७० को दोस्रो संविधानसभा निर्वाचनमा पार्टीको तर्फबाट दाङ क्षेत्र नं. ५ को उम्मेदवार थिए।

नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा स्वर्गीय वलीको शवमा पार्टीको झण्डा ओडाएर प्रधानमन्त्री केपी शर्मा ओलीले श्रद्धाञ्जली व्यक्त गरेका थिए। प्रधानमन्त्री वलीले प्रदेशसभा सदस्य वलीको निधनले ने क पा र सिंगो देशले युवा नेता गुमाएको बताएका थिए।

कम्युनिस्ट अगुवा कृष्णदास श्रेष्ठको निधन

यसबीच  फागुन ११ गते पुराना कम्युनिस्ट नेता कृष्णदास श्रेष्ठको निधन भयो। श्रेष्ठ ने क पासँग नजिक नभए पनि पछिल्लो पटक उनी राजनीतिबाट अलग थिए।

८७ वर्षीय श्रेष्ठ मार्क्सवादी चिन्तक बढी थिए। उनी कम्युनिस्ट आन्दोलनको चर्चित पुस्तक ‘द्वन्द्वात्मक भौतिकवाद’ का लेखक पनि हुन्।

१९८८ मा काठमाडौंको नरदेवीटोलमा निम्नमध्यम परिवारमा जन्मिएका कृष्णदासको बिहे वीरगञ्जकी महालक्ष्मी श्रेष्ठसँग भएको थियो। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालले उनीहरूको बिहे गराइदिएका थिए।

कृष्णदासका कम्युनिस्ट आन्दोलन र संस्कृतिबारे दुई दर्जन पुस्तक छन्। यस्तै दुई दर्जनजति विदेशी भाषाका पुस्तक उनले अनुवाद गरेका छन्।

उनको नाममा कृष्णदास फाउन्डेसन यसअघि नै सञ्चालनमा छ। उनी काठमाडौंमा कम्युनिस्ट साहित्य र सन्दर्भ सामग्रीहरूको एक पुस्तकालय पनि स्थापना गर्न चाहन्थे। 

राणा शासनविरुद्ध आन्दोलन छेडेको नेपाल प्रजापरिषद्बाट राजनीतिक यात्रा सुरु गरेका उनले २०१० मा नेकपाको सदस्यता लिएका थिए। २०१३ देखि २०१७ सालसम्म उनी काठमाडौं जिल्ला सचिव थिए। 

तत्कालीन उत्तरगण्डक प्रान्तीय समिति अन्तर्गत बाग्मती अञ्चल समिति सचिवालय सदस्य थिए।

नेकपाको पहिलो महाधिवेशनमा भाग लिन नपाएका उनी दोस्रो महाधिवेशन र दरभंगा प्लेनममा प्रतिनिधिको रुपमा सहभागी थिए। तेस्रो महाधिवेशनपछि नेकपामा आएको दुई लाइन संघर्षमा उनी मार्क्सवाद, लेनिनवाद तथा माओ विचराधाराका पक्षमा देखिए।

२०३६ सलामा उनले नेकपा माले गठन गरी अध्यक्ष बने। संसदीय व्यवस्था पुनर्स्थापनापछि नेकपा मालेमा बनाएर अध्यक्ष भए।

पछिल्लोपटक मोहन वैद्य किरणको पार्टीमा रहेका उनी वैचारिक मतभेदपछि स्वतन्त्र रहेका थिए। तर सबै कम्युनिस्ट धारासँग उनी बहस र अन्तर्क्रिया गर्न रुचाउँथे।

बिहीवार भरतमोहन अधिकारी र रवीन्द्र अधिकारीको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा प्रधानमन्त्री ओलीले श्रेष्ठलाईसमेत स्मरण गरे। यद्यपी उनको शोकमा ने क पाले कुनै आधिकारिक वक्तव्य भने जारी गरेन।

ताप्लेजुङको हेलिकोप्टर दुर्घटना

फागुन १५ गते ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभिरमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएकाे थियाे।

ने क पाका केन्द्रीय सदस्यसमेत रहेका अधिकारी युवा विद्यार्थीमाझ लोकप्रिय नेता थिए। विद्यार्थीलाई सार्वजनिक यातायातमा सहुलियतको व्यवस्था गराउने देखि लिएर राजाको दबदबा रहँदा तत्कालिन शाहज्यादा पारस शाहको पदवी खोस्न माग गर्दै राजदरवारमा हस्ताक्षर बुझाउने साहस राख्ने नेता थिए अधिकारी।

पृथ्वीनारायण क्याम्पस, त्रिभुवन विश्विद्यालय केन्द्रीय क्याम्पसको स्ववियु सभापति हुँदै अनेरास्ववियुको केन्द्रीय अध्यक्ष भएका उनी तत्कालिन नेकपाको कास्की जिल्ला सचिव हुँदै केन्द्रीय सदस्यसमेत भएका थिए।

दोस्रो संविधानसभामा विकास समितिमा रहेर उनले आफ्नो संसदीय छाप छाड्न सफल भएका थिए।

यही दुर्घटनामा प्रधानमन्त्री ओली निकटका व्यवसायी भनेर चिनिने पर्यटन उद्यमी आङ छिरिङ शेर्पाकोसमेत निधन भएको थियो। त्यस्तै दुर्घटनामा परी नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका चालक प्रभाकर केसी र मन्त्री अधिकारीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेको निधन भएको थियो।

ने क पाले मन्त्री अधिकारीको निधनमा १६ गते देशभरका पार्टी कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाएको थियो। त्यसै गरी तीन दिनसम्म सबै तहका पार्टी कार्यालयमा शोक पुस्तिका राखेको थियो।

जेष्ठ नागरिक भत्ताका प्रवर्तक अधिकारीको निधन

अधिकारीको दाहसंस्कार सकिएको अर्को दिन नै ने क पाले आफ्ना पुराना नेतालाई गुमायो। २०५१ सालमा तत्कालिन नेकपा एमालेका महासचिव भरतमोहन अधिकारीको नेतृत्वमा बनेको नेपालकै पहिलो कम्युनिस्ट सरकारका अर्थमन्त्री रहेका भरतमोहन अधिकारीको १८ गते ह्याम्स अस्पतालमा निधन भयो।

१६ वर्षको उमेरमा कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेका अधिकारी २०१४ सालमा काठमाडौँको फोहरा दरबारमा आयोजित नेपाल कम्युनिस्ट पार्टीको दोस्रो महाधिवेशनमा बनारसबाट प्रतिनिधित्व गरेका थिए भने ०१९ मा आयोजित तेस्रो महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य चयन भएका थिए।

०२८ सालमा केन्द्रीय न्युक्लियस सदस्य हुँदै अधिकारीले ०३५ सालमा मनमोहन अधिकारीको नेतृत्वमा बनेको नेपाल कम्युनिस्ट पार्टीको पोलिट्ब्युरो सदस्य बने। ०४३ मा साहना प्रधानले नेतृत्व गरेको नेकपा (पुष्पलाल समूह) सँग एकतापछि निर्मित नेकपा (मार्क्सवादी) को पोलिट्ब्युरो सदस्य हुँदै ०४६ सालको जनआन्दोलन सफल पार्न सात कम्युनिस्ट पार्टीद्वारा गठित २१ सदस्यीय वाममोर्चाको सदस्य थिए।

०४७ मा तत्कालीन नेकपा (माले) र नेकपा (मार्क्सवादी) बीच एकता गरी नेकपा (एमाले) निर्माण गर्नमा उनको महत्वपूर्ण भूमिका थियो। उनले ०७१ मा पार्टीको सक्रिय राजनीतिबाट स्थायी कमिटीको सदस्यबाट विदा लिएका थिए। उनले केन्द्रीय अर्थ तथा योजना, आर्थिक, उद्योग, संसदीय र अनुगमन विभागका साथै पूर्वाञ्चल क्षेत्र समन्वय ०५१ सालमा गठित पहिलो कम्युनिस्ट सरकारको अर्थमन्त्रीका रुपमा ‘आफ्नो गाउँ आफैँ बनाऔँ’, जेष्ठ नागरिक सम्मान जस्ता लोकप्रिय कार्यक्रम अघि सारेर चर्चामा आएका थिए।

०४७ सालमा संविधान सुझाव आयोगको सदस्य र ०६३ मा अन्तरिम संविधान मस्यौदा समितिमासमेत रहेर काम गरेका थिए।

नुवाकोटका कम्युनिस्ट खम्बाको निधन

फागुन २१ गते ने क पाले अर्का जेष्ठ नेतालाई गुमायो। नुवाकोटमा पञ्चायतकालमा कम्युनिस्ट आन्दोलनलाई विस्तार गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका गणेश पण्डितको ७२ वर्षको उमेरमा २१ गते निधन भयो।

२०४८ सालको आमनिर्वाचनमा नुवाकोट– २ बाट नेकपा (एमाले) का उम्मेदवारका रुपमा प्रतिनिधिसभा सदस्य निर्वाचित पण्डित असल शिक्षक र संगठकका रुपमा परिचित थिए।

पण्डित पुस्पलाल सम्मृति फाउण्डेशनका संस्थापकसमेत थिए। नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष प्रचण्डले उनको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए।

श्रद्धाञ्जली सभामा ने क पाको फागुन महिना

१ गते जनयुद्ध दिवस मनाएको ने क पाले फागुन २१ गते इलाममा पुगेर सुखानी काण्डको सम्झना गर्यो। ने क पाका दुई अध्यक्ष नै सुखानीमा पुगेर सुखानीका शहीद प्रति श्रद्धाञ्जली अर्पण गरे।

२०२९ साल फागुन २१ गते तत्कालिन समयमा झापा विद्रोहमा सहभागि भएका नेता कार्यकर्ताहरुको सुखानीमा हत्या भएको थियो। झापाको चन्द्रगढीबाट इलाम जेल सार्ने बहानामा नारायण श्रेष्ठ, कृष्ण कुइकेल, विरेनसिंह राजवंशी, नेत्र घिमिरे र रामनाथ दाहाललाई सुखानी जंगलमा हत्या गरिएको थियो। सहिदहरुको सम्झनामा वामपन्थीहरुले फागुन २१ लाई सुखानी स्मृती दिवसको रुपमा ४६ वर्षदेखि मनाउदै आएका छन्।

२१ गते नै ने क पाका अध्यक्ष प्रचण्डले इटहरीमा पुगेर सहीद स्मृति आवासीय विद्यादयको उद्घाटन गरे। जनयुद्ध, २०६२/६३ को जनआन्दोलन, मधेस, जनजाति आन्दोलन साथै बिभिन्न राजनीतिक आन्दोलनमा सहिद हुने तथा वेपत्ता परिवारका छोराछोरी यो विद्यालयमा अध्ययन गर्दछन्। इटहरी, पोखरा, जिरी, दाङ, र डोटीमा २०६६ सालमा यस्ता विद्यालय स्थापना गरिएको छ।

त्यस्तै २३ गते ने क पाको सचिवालयले भरतमोहन अधिकारी र रवीन्द्र अधिकारीको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्यो।

अधिकारीले एक वर्षमै विर्सनै नसक्ने गरी काम गरेर गए: प्रम ओली

यसैबीच श्रद्धाञ्जलीसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले निधन भएका अधिकारीले एक वर्षमा मन्त्रीको रुपमा कसैले पनि विर्सन नसक्ने गरी काम गरेर गएको बताएका छन्।

'हुन त यो राम्रो गरे पनि नराम्रो गरे भनेर आलोचनामा वित्ने समय छ। राम्रो गरे पनि नराम्रो गरे भन्ने समय छ,' प्रधानमन्त्री ओलीले भने 'तर यो एक वर्षमा कसैले विर्सन नसक्ने गरी काम गरेर जानुभयो।'

उनले हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाउनेहरु सबै देशका होनाहर नागरिक भएको र लोकतन्त्र विकासलाई अगाडि बढाउन जीवनभर काम गरेको बताए।

प्रधानमन्त्री ओलीले दिवंगतहरुको परिवारलाई सरकारले आवश्यक सहयोग गर्ने बताए। उनले त्यसका लागि परिवारको अवस्थाको अध्ययन भइरहेको बताए।

'दिवंगत कर्मचारीका परिवारको अवस्था कस्तो छ जिविका कस्तो चलेको छ सरकारले अध्ययन गरिरहेको छ। र सरकारले आवश्यक निर्णय लिने छ,' उनले भने।

यसैबीच ने क पाका अर्का अध्यक्ष प्रचण्डले पर्यटनमन्त्री रविन्द्र अधिकारी नेता भरतमोहन अधिकारीको निधनबाट पाठ सिकेर उनीहरुको सपना पूरा गर्न लाग्नुपर्ने बताए।

प्रचण्डले रवीन्द्र अधिकारी र भरतमोहन अधिकारीको मृत्यु ‘पहाडभन्दा ग्रहुंगो’ भएको बताए। अध्यक्षले फागुन महिना शोक र श्रदाञ्जलीमा बिताउनुपरेको बताए। फागुन १ गते जनयद्ध र जनआन्दोलनका सहिदहरूप्रति र त्यसपछि अन्य दिवंगतहरूको निधनमा बिताउनु परेको बताए।

प्रचण्डले दिवंगत व्यक्तित्वहरुको अभाब आउने दिनमा खड्किँदै जाने बताए।  'यो अभावपूर्ति गर्न सबैले हातेमालो गर्नुपर्ने छ,' उनले भने, 'उहाँहरूले गर्न सुरु गरेका राम्रा कामहरुलाई अगाडि बढाउनु पर्छ सामुहिक संकल्प गरेर उनीहरुको अधुरा काम पूरा गर्ने संकल्प लिनु पर्छ। यो हामी बाँचेकाहरुको दायित्व हो।'

प्रचण्डले अधिकारी जस्ता युवा नेताहरु र हामी सबैले चुनावमा गरेका वाचाहरु पूरा गर्नुपर्ने बताए। 'यो नै उहाँहरुको लागि सच्चा श्रद्धाञ्जली हुनेछ। पछिल्लो समय हामी हाम्रो संसारको अग्लो शिखर र सुसंस्कृत नेपालीको पहिचानबाट कतै विचलित हुँदै गएका छौँ। यसलाई सुधार गर्दै अगाडि बढ्नु पर्छ,' उनले भने।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell