- कुमार चौलागाई/मुना कार्की
काठमाडौँ : वर्तमान सरकार गठन भएको एक वर्षको अवधिमा खेल क्षेत्रमा दूरगामी असर पार्ने कार्यहरु भएका छन्। राष्ट्रिय खेलकूद ऐनलाई सङ्घीय संरचनाअनुसार परिवर्तन गर्न सरकार सफल भएको छ। उक्त विधेयक अहिले राष्ट्रियसभामा छलफलको क्रममा छ। त्यसैगरी, प्रत्येक स्थानीय तहमा खेलग्राम बनाउने कार्यविधि मन्त्रिपरिषद्बाट पारित भएको छ। खेल सङ्घहरुबीचका कतिपय विवादको निराकरण सरकारको एक वर्षको अवधिमा भएको एक उल्लेख्य उपलब्धि हो।
एक वर्षको अवधिमा खेल क्षेत्रले केही ऐतिहासिक सफलता हासिल गरे तर, पूर्वाधार निर्माण भने सरकारले सोचेअनुसार अघि बढ्न सकेन। नेपाल क्रिकेट सङ्घ (क्यान) निलम्बनमा परेको तीन वर्षसम्म पनि फुकुवाका लागि सन्तोषजनक पहल हुन सकेन। तथापि विगत आठ वर्षदेखिको केही खेल सङ्घका विवाद समाधान र नीतिगत सुधारका पक्षमा युवा तथा खेलकूद मन्त्रालयले प्रगति हासिल गरेको छ।
सरकारले राष्ट्रको गौरवको रुपमा रहेको १३ औँ दक्षिण एशियाली खेलकूद (साग) र आठौँ राष्ट्रिय खेलकूद यसै वर्ष गरिसक्नुपर्ने थियो तर, गर्न सकेन।
गत मङ्सिर महिनामा प्रदेश नं ५ का विभिन्न स्थानमा हुने तय भएको आठौँ राष्ट्रिय खेलकूद पूर्वाधार अभावका कारण अहिलेसम्म मितिसमेत घोषणा हुन सकेको छैन। त्यसैगरी, यही फागुन २५ देखि चैत ५ गतेसम्म नेपालमा हुने तय भएको १३ औँ दक्षिण एशियाली खेलकूद (साग) निर्धारित मितिमा नहुने स्थिति देखापरेको छ।
पूर्वाधार अभावमा प्रतियोगिता समयमै गर्न नसके पनि सरकारले छ महिना पछि गर्ने कटिबद्धतासहित दक्षिण एशियाली ओलम्पिक कमिटीलाई मिति पर सार्न पत्राचार गरिसकेको छ।
साग सार्ने प्रस्ताव मन्त्रालयले राष्ट्रिय खेलकूद परिषद् (राखेप)मार्फत पठाएको सदस्यसचिव केशवकुमार विष्टले जानकारी दिए। उनले भने – “भौतिक पूर्वाधार निर्माणको दिशामा यो वर्ष पर्याप्त काम हुन सकेन। त्यसकारण दुबै ठूला खेल सार्ने निर्णय गरिएको हो।”
सदस्यसचिव विष्टका अनुसार आठौँ राष्ट्रिय खेलकूद र १३औँ सागका लागि भौतिक पूर्वाधार निर्माण गर्न यस वर्ष रु ३३ करोड बजेट निकासा भइसकेको छ। प्रतियोगिता आयोजना गर्न रु ३५ करोड आवश्यक पर्नेमा रु १७ पनि करोड निकासा भइसकेको छ। पूर्वाधार नबनेरै प्रतियोगिता गर्न नसकिएको उनको स्वीकारोक्ति छ। झण्झटिलो टेन्डर प्रक्रियालगायतका कारण पूर्वाधार निर्माणले गति लिन नसेकेको उनले बताए।
खेल सङ्घको विवाद अन्त्य
एक वर्षको अवधिमा मन्त्रालय विभिन्न खेल सङ्घहरूको विवाद अन्त्य गर्न सफल भएको छ। खेल सङ्घमा रहेको विवाद समाधान गर्न युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले राखेप उपाध्यक्ष पिताम्बर तिम्सिनाको संयोजकत्वमा समिति बनाएरै काम थेका थिए।
समिति गठन भएको तीन महिनाको अवधिमा समितिले तीनवटा खेल सङ्घको विवाद समाधान गर्न सक्यो। विवाद रहेका अन्य सङ्घहरूसँग छलफल भइरहेको छ।
आठ वर्षदेखि फरक फरक अस्तित्वमा रहेका दुई वटा नेपाल कराँते महासङ्घको विवाद अन्त्य भएको छ। सहमतिअनुसार तीन महिनाभित्र नयाँ निर्वाचन गर्ने कार्यादेशसहित शम्भू आचार्यको संयोजकत्वमा २१ सदस्यीय तदर्थ कमिटी गठन भएको छ।
तीन साताअघि मात्र समितिले मोडर्न पेन्टाथलन सङ्घको विवाद समाधान गरेको थियो। समितिले गत माघ ९ गते नेपाल जिम्न्यास्टिक सङ्घको विवाद समाधान गरी तदर्थ समिति बनायो। सङ्घहरूको विवादका कारण महत्वपूर्ण खेल गतिविधि अघि बढ्न सकेका छैनन्। उस्सु र तेक्वान्दो जस्ता ठूला खेलहरुमा विद्यमान विवाद पनि केही दिनभित्रै समाधान हुनेमा समितिका संयोजक तिम्सिना आशावादी छन्।
समितिले ती सङ्घसँग पनि निरन्तर छलफल गरिरहेको र केही साताभित्र समाधान निस्कने समितिका अर्का सदस्य युवा तथा खेलकूद मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेले जानकारी दिए। “उहाँहरूसँग भएको छलफल सकारात्मक रुपमा अगाडि बढेको छ, केही दिनमा हामी पुनः छलफलमा बस्छौँ र विवाद समाधान गछौँ,” उनले भने।
मन्त्रालयले तिम्सिनाको संयोजकत्वमा सहसचिव न्यौपाने र राखेप खेलकूद विकास विभाग प्रमुख कुलबहादुर थापा सदस्य रहेको तीन सदस्यीय समितिको गठन गत मङ्सिरमा गरेको थियो।
मूलपानी विवाद समाप्त
लामो समयदेखि जग्गा विवादका कारण निर्माण सम्पन्न हुन नसकेको मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानको विवाद अन्त्य भएको छ।
मैदानको पश्चिमपट्टि रहेको १० स्थानीयवासीको ४७ आना जग्गामा शुरुदेखि नै मुआब्जा विवाद रहँदै आएको थियो। मन्त्रिपरिषद्को गएको साउन २९ गते बसेको बैठकले उक्त विवाद सल्टाउने निर्णय गरेपछि मैदान निर्माणको कामले गति लिएको छ।
मन्त्री विश्वकर्माको पहलमा मन्त्रिपरिषद्को बैठकले उक्त ४७ आना जग्गाको सट्टा स्थानीयवासीलाई सोही स्थान नजीकै जग्गा नै उपलब्ध गराउने निर्णय गरेसँगै चार वर्षदेखिको विवाद अन्त्य भएको हो। विश्वकर्मा खेलकूदमन्त्री भएलगत्तै गत चैत १२ गते मूलपानी मैदानको भ्रमण गरी जग्गा विवाद तत्काल समाधान गर्ने आश्वासन दिएका थिए र त्यसको झण्डै छ महिनापछि विवाद सल्टियो।
खेलाडीको सफल वर्ष
गत वर्षको चैतमा नेपाली क्रिकेटले ऐतिहासिक एक दिवसीय मान्यता पाउन सक्यो। प्याराग्लाइडिङले १८ औँ एशियाली खेलकूदमा मुलुकलाई रजत पदक दिलायो। शारीरिक सुगठनमा महेश्वर मास्के विश्वस्तरको पदक जित्न सफल भए। क्रिकेटर सन्दीप लामिछाने एकपछि अर्को सफलता हात पारेर कीर्तिमान बनाउन सफल भए।
पूर्वाधार निर्माण निराशाजनक
देशकै एकमात्र अन्तर्राष्ट्रिय खेल मैदानको रूपमा रहेको दशरथ रङ्गशालामा खेल गतिविधि नभएको चार वर्ष हुन लाग्यो। सन् २०१९ मा नेपालले १३ औँ साग आयोजना गर्ने जिम्मा लिएको थियो। त्यसअनुरुप दशरथ रङ्गशालाको पुनःनिर्माण भने सन्तोषजनक ढङ्गले अघि बढिरहेको छैन।
नेपाली फुटबलको इतिहास बोकेको यो रङ्गशाला २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भयो। अहिले ७० प्रतिशत पुनःनिर्माणको काम सम्पन्न भएको छ। चीन सरकारले बनाइदिने सम्झौता भएको एथलेटिक्स ट्र्याक, साउन्ड सिस्टम, फ्लड लाइट र स्कोर बोर्डको काम शुरु हुनै बाँकी छ। स्कोर बोर्ड निर्माणको काम भने शुरु भएको छ।
अठार हजार दर्शक क्षमताको दशरथ रङ्गशालाको पुनःनिर्माण प्रक्रिया भूकम्पको एक वर्षपछि नै शुरु गरिएको भए पनि गत जेठदेखि मात्रै कामले गति लिएको थियो। फागुन अन्तिम साता हुने तय भएको १३ औँ दक्षिण एशियाली खेलकूद आयोजनाका लागि रङ्गशाला तयार पार्ने लक्ष्यसहित काम शुरु गरिएको थियो।
सदस्य सचिव विष्टले आमामी असार मसान्तसम्ममा पुनःनिर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्छन्। रङ्गशालामा भव्य कार्यक्रम गरेर राखेपबाट बिदा हुने सोचमा उनी छन्।
भिआइपी प्यारापिट र साधारण प्यारापिटको तल्लो चार तहको कामको जिम्मा पिएल प्रतिष्ठा किराँतेश्वर जेभीले लिएको छ। राखेपका पूर्वाधार तथा निर्माण विभागका प्रमुख इन्जिनीयर अरुण उपाध्यायका अनुसार अहिले १०० देखि १५० मजदूरले दैनिक काम गरिरहेका छन्।