PahiloPost

Dec 4, 2024 | १९ मंसिर २०८१

रेस्लिङ रिङमा युवतीहरु, भन्छन् : अपना टाइम आएगा...

रेस्लिङ रिङमा युवतीहरु, भन्छन् : अपना टाइम आएगा...

सागर बुढाथोकी/पहिलोपोस्ट


ज्यान नै सिरिङ्ग पार्ने रेस्लिङका 'स्किल'। रिङको डोरीमा चढेर हानेको फ्लाइङ 'किक'। 'पार्कर' र मार्सल आर्टको 'फ्रि स्टाइल स्किल'। संगीतको धुनमा रेस्लर पछारिन्छन्। अनि, दर्शकहरु डराउँदै आङ जिरिङ्ग पार्छन्। सँगसँगै तालीको वर्षा पनि। फेरि 'पिन ड्रप साइलेन्स'। अनि अम्पायरले भुई ठटाउँदै भन्छन्, 'वान.... टू... थ्री...।'

अन्तत: खेल सकिन्छ। दर्शकहरु हाँस्दै भन्छन्, 'वान्स मोर, वान्स मोर, एण्ड वान्स मोर।'

फेरि अर्को राउण्ड खेल सुरु हुन्छ।

रिङ आकर्षक छ। अम्पाएर प्रोफेसनल। खेलाडी पनि उस्तै। दर्शकको हुटिङसँगै 'कमेन्टेटर'ले विजेता घोषणा गरिदिन्छन्, 'अस्मिता सुनार 'जुरेली'...।'

जितको 'सेलिब्रेसन' हुन्छ। हुटिङ झनै बढ्छ। बाहिर चिसो भए पनि भित्री माहोल रनक्क तातिन्छ।

***

मिति : २०७५ फागुन २
समय : दिउँसो २
स्थान : शान्तिनगरको एउटा घर 

रेस्लिङ महाभिडन्त भइरहेको छ यहाँ। खेल हेर्न विद्यार्थीदेखि नेतासम्म उपस्थित छन्। महिला रेस्लिङमा दर्शकहरु रमाइरहेका छन्। खेलाडीहरु प्रतिद्वन्द्वीलाई हराउन 'किक' हानिरहेका छन्।

लड्ने, लडाउने र कुट्ने, कुटाइ खाने सिलसिला चलिरहन्छ। हुटिङ कम हुँदैन। दर्शकको तालीले खेलाडी जोसिँदै खेलिरहेका छन्। ४ जोडी रेस्लरहरुको खेल सकिएपछि कमेन्टेटर भन्छन्, 'रेस्लिङको यो महाभिडन्त आजलाई यही सकिन्छ।'

दर्शकको 'वान्स मोर गेम... वान्स मोर गेम...' को हुटिङ कम हुँदैन। तर, खेलाडी लखतरान हुनेगरी थाकिसकेका छन्। खेल आधिकारिक रुपमा अन्त्य भइसकेको छ। थकित भए पनि जुरेली रिङमा उक्लिन्छिन्। हुटिङ बढेसँगै '....केटाकेटी आए गुलेली खेलाए मट्याङग्राको सत्यनाश... ' भन्ने गीत बज्छ।

एकछिन अघिसम्म रेस्लिङ रिङमा भिडिरहेकी जुरेली नाँच्न थाल्छिन्। कसिलो शरीर, लामो कपाल हल्लाउँदै गरेको डान्स कुनै 'प्रोफसनल डान्सर'को भन्दा कम देखिँदैन। बोल्ड, ब्युटिफुल र कन्फिडेन्ट देखिन्छिन्, उनी।

यसरी नै त्यो दिनको अन्त्य हुन्छ। दर्शकहरु बाटो लाग्छन्। रेस्लरहरु शरीरमा लागेको चोटको पीडा सुनाउँछन्, 'झण्डै मरिएन गलत ठाउँमा लागेछ नि...।'

यो रेस्लिङको आयोजक भगवती फाउन्डेसनको थियो। संस्था उनीहरुले नै चलाइरहेका छन्। नमीठा अतित भुलेर खेलिरहका छन्। संघर्षको कथा, व्यथा सबैको कष्टकर छ। अभावका बीच पनि रेस्लिङ रिङमा बित्छ उनीहरुको दैनिकी।

खेलाडी आधा दर्जन भन्दा बढी छन्। आधा दर्जन जति सिक्दै पनि छन्। मार्सल आर्टबाट आउनेहरु छन् धेरैजसो। जागिर खाँदै सिक्नेहरु पनि छन्। नेपालको पहिलो महिला रेस्लर भगवती खड्काले ट्रेनिङ दिइरहकी छिन्।

मिति : २०७५ फागुन ६ गते
समय : दिउँसो १२
स्थान: शान्तिनगर

कसिलो शरीर पसिनाले निथ्रुक्क भिजेको छ। रिङमा असिनपसिन हुँदै अभ्यास गरिरहेकी छन्। सँगैका साथीहरुलाई 'किक' हान्दै पनि। लड्ने र लडाउने क्रम त जारी नै छ। 'स्पिड ब्याग' माझै शरीरमा मुक्का बर्सिरहेको छ।

अभ्यास हेर्दा शारीरिक पीडा प्रष्टै देख्न सकिन्छ। मेहनत र 'इरिटेसन' पनि उत्तिकै। आक्रोश र 'फ्रस्टेसन' हरेक किक र पन्चमा देखिन्छ। चोट पनि लागिरहन्छ। तै पनि, पछार्न र पछारिन छाडेका छैनन्। चोटको बाबजुद भिडिरहेका छन्।

यिनी रेस्लिङ सिक्दै छिन्, सिकाउँदै पनि। यिनी अर्थात् अस्मिता सुनार 'जुरेली'।

उमेर २१ वर्ष।
पढाई : ब्याचलर थर्ड इयर

अस्मिता पद्मकन्या क्याम्पसमा सोसल वर्क र म्यूजिक पढ्छिन्। पढाई ठीकठाकै चलिरहेको छ। कहिलेकाही फाट्टफुट्ट म्यूजिक भिडियोमा पनि झुल्किन्छिन्। चलचित्रमा पनि देखिएकी छिन्। विगत साढे चार वर्षदेखि रेस्लिङको रिङमा निरन्तर भिडिरहेकी उनलाई 'रेस्लर जुरेली' भनेर चिन्छन्। 

खोटाङमा जन्मिएकी जुरेली सानैमा काठमाडौं छिरिन्। सानैदेखि नाच्न गाउन पोख्त उनको हिरोइन बन्ने लक्ष्य थियो। एकदिन दाइले हवल्दार सुन्तली फिल्मको 'सुटिङ सेट'मा लगे। त्यहाँ एकजना 'ज्यांगो' महिला देखिन्। परिचय गरेपछि थाहा भयो, उनी नेपालको पहिलो महिला रेस्लर भगवती खड्का रहिछन्।

भगवतीलाई देखेपछि उनलाई पनि रेस्लिङ खेल्ने सपना पलायो।

'जिम्यास्टिक' सिकिरहेकी उनले रेस्लिङ सिक्ने मानसिकता बनाइन्। तर, परिवारले के मान्थे र?'त्यस्तो ज्यानमारा खेल नखेल्' भने। उनले 'नसिकी छोड्दिन भनेर घुर्की लाइन्। आमा झन् के कम, 'खेल न मात्रै रिङबाट नै थुतेर ल्याउँछु' भन्दै थर्काइन्।

रेस्लिङको भुत चढिसकेको मन के मान्थ्यो र? त्यो भेटले उनको जीवनको बाटो बदलिदियो। 'ट्रेनिङ' सुरु गरिन्।

उनका बुबाका २ वटा श्रीमती। मध्यम वर्गीय परिवार। खेलेर खान पुग्ने अवस्था थिएन। घरपरिवारले 'केही काम गर' भनेर किचकिच गरिरहन्थे। उनी 'मलाई बाल मतलब?' भन्दै तर्किन्थिन्।

काँडाघारीबाट रेस्लिङ ट्रेनिङ गर्न थानकोट जानुपर्थ्यो। तीन वटा गाडी फेर्दै पुग्थिन्। कहिले गाडी भाडासमेत हुन्थेन। बिहान बेलुका खानामै ठीक भएको अवस्थामा डाइट त परको कुरा। भोकभोकै भए पनि रेस्लिङ सिक्न जान्थिन्। उनी 'रेस्लिङ' बाहेक अन्यमा 'सिरियस' नै थिइनन्।

सिक्दा जोखिम र कष्ट दुवै हुन्थ्यो। पुरुषसँग सिक्न छुट्टै तनाव। गुरुले जहाँ पायो त्यही लात्ताले हिर्काउँथे। जता पनि छुन्थे। शरीरमा दिनहुँ चोट लाग्थ्यो। मांशपेशी गाँठो पर्थ्यो। गुरुले लात हान्दा र भुइँमा पछार्दा सास रोकिए झै हुन्थ्यो। तर, पनि हार मानिनन्।

सिक्ने ठाउँमा खराब नियत भएका केटाहरु पनि नभएका होइनन्। अपशब्द बोल्ने, र जिस्काउने कुरा त सामान्य। 'रेस्लर' बन्नका लागि यस्ता कुरालाई 'कम्प्रोमाइज' गर्नुपर्थ्यो।

रेस्लिङ सिकेको एक महिनापछि खेल्ने नै मौका मिल्यो। वसन्तपुरमा भगवती खड्कासँग रेस्लिङ खेलिन्। त्यही खेलबाट अस्मिताबाट 'जुरेली' बनिन्। त्यस्तै नेपालको पहिलो महिला रेस्लर भगवतीले रेस्लिङ खेल्ने जोडी पाइन्।

***
उनी बिहानै कलेज जानुपर्छ। लगत्तै ट्रेनिङ। खल्तीमा दाम भएको दिन बाहिर खाना खान्छिन्। नभएको दिन भोकै। न डाइट किन्न पैसा छ, न जिमखाना जान नै।

रेस्लिङको रिङमा उक्लेको साँढे चार वर्षमा उनले अनेक अभाव र कष्ट भोगिन्। सँगैका साथी विदेश पुगेर कमाउन थाले। यतै भएकाहरु पनि जागिर खाएर सेटल भए। साथीहरुको प्रगति देख्दा उनलाई आफैसँग दया लाग्छ।

'दुनियाँको छोराछोरीले प्रगति गरिसके तँ भने यसरी कुट्दै र कुटाइ खाँदै बस्'भनेर परिवारको कचकच दिनदिनै सुन्नुपर्दा झनै बिरक्तिन्छिन्।
जे भए पनि परिवारले गाली गर्नु जायज नै लाग्छ उनलाई। असुरक्षित भविष्य भएकाले कचकच गर्नुको विकल्प देख्दिनन्। दैनिकी चलाउन संघर्ष गरिरहको परिवारले सपोर्ट गर्न नसक्ने पनि थाहा छ। पैसा कमाउने रहर नभएको हैन। जागिरको अफर नआएको होइन। विदेश जाने बाटो नि खुलेकै थियो। 
तर, आत्मसन्तुष्टि? खुशीका अगाडि ती सबै निस्तेज। 
'पैसा कमाए पनि म रेस्लिङविना रमाउँदिन थिएँ। अहिले पैसा नभएर भुक्का भए पनि खुशी छु। आत्मसन्तुष्टि मिलेको छ,' उनले भनिन्।

अनि फेरि आफैसँग भुतभुताउँछिन्, '...यो आत्मसन्तुष्टि भन्ने चिजले पनि मान्छेलाई थेत्तर पार्दोरहेछ...।'

'आत्मसन्तुष्टिले पेट भरिन्छ र?'  भन्नेहरु धेरै भेट्छिन्। उनी हाँस्दै जवाफ दिन्छिन्, 'अपना टाइम आएगा...।'

उनले केही दिनअघि रिलिज भएको बलिउड चलचित्र 'गली ब्वाई'  हेरिन्। 'गली ब्वाई'को 'अपना टाइम आएगा...' डाइलगले प्रभावित गरेको छ उनलाई। त्यो कथाको संघर्षशील पात्रमा आफैँलाई भेट्छिन्। चलचित्रले अझै संघर्ष गर्न प्रेरित गरेको छ।

***
समाजबाट राम्रो प्रतिक्रियाको आश छैन। सामाजिक सञ्जालमा छिर्दा पनि 'कन्पारो' तात्छ उनको। रेस्लिङलाई खेलको रुपमा नहेरी नकरात्मक बोलिदिँदा जोश सेलाउँछ। 'यत्रो संघर्ष अर्को फिल्डमा गरेको भए प्रगति भइसक्थ्यो' भन्दै आफैँलाई धिक्कार्छिन् कहिलेकाहीँ।

यस्तै प्रतिक्रियाले वाक्क भएर विदेश जाने मुड पनि आउँछ। 'कत्ती दौडधुप गर्नु जिन्दगीमा..' भनेर निष्क्रिय नै हुने चाहना पनि बन्छ। फेरि यहाँसम्म आइपुगेको रेस्लिङ लोप हुने त हैन भन्ने डर जब आउँछ ती सबै विचार बिलाउँछ। 'कहिले काहीँ 'फ्रस्टेड' भए पनि दिमागमा रेस्लिङबाहेक केही आएन,' निराश हुँदै सुनाइन्।

अहिले आर्थिक संकटले पिरोलिरहेको छ। सामान्य रहर पूरा गर्न गाह्रो छ। केही गर्न हजार पटक सोच्नुपर्छ। संघर्षले प्रतिफल नदिइरहँदा दिक्क पनि लाग्छ। अनि, 'पार्ट टाइम' जागिर गर्ने सोच बनाउँछिन्। तर, समय व्यास्थापन? अनि, सोच, सोचमै सीमित हुन्छ। भन्छिन्, 'जागिर नगरेर जिन्दगी चलाउन गाह्रो भै'राछ।'

***
मिति : २०७५ फागुन २२
स्थान:  पद्मकन्या क्याम्पस, बागबजार
समय: बिहान ९  बजे

पद्मकन्या क्याम्पसको सोसल वर्कको क्लासमा छिन्, अस्मिता। कापीमा नोट सार्दै छिन्। उनका साथीहरु पनि पढ्दैछन्। 

अस्मितालाई क्लासमा देख्नेहरुले सुरुमा 'रेस्लर' भनेर पत्याएनन्। 'रेस्लर हूँ' भन्दा 'नेपालमा पनि रेस्लिङ छ र?' भन्दै अचम्म मान्थे। अहिले सबैले रेस्लर भनेरै चिन्छन्। 

रेस्लिङ खेलाडी उनलाई अहिले प्रेम प्रस्ताव धेरै आउँछ। घरबाट पनि 'दाम कमाइनस्/ विदेश गइनस्, अब त बिहे गर' भनेर वाक्क लाउँछन्। ती सबैका लागि समय आउँछ भनेर टारिदिन्छिन्। भन्छिन्, 'रेस्लिङको रिङबाट थाकिसकेपछि मात्र अरु कुरामा लाग्छु।'

नेपालमा रेस्लिङलाई फाइनान्सियल सपोर्ट गर्ने कुनै संस्था छैनन्। कतै महोत्सवमा खेल्ने अफर आए अलिअलि आम्दानी हुन्छ। त्यसबाहेक आम्दानी हुने अन्य 'प्लेटफर्म' छैन। यस्तो अवस्थामा उनी चाँडै नथाक्लिन् भन्न सकिन्न।

मिति: २०७५ फागुन ७
स्थान : शान्तिनगर
समय : बिहान ९ बजे

२० वर्षीय जमुना तामाङ विगत तीन महिनादेखि रेस्लिङ सिकिरहेकी छिन्। हरेक दिन बिहानै सूर्य बिनायकबाट रेस्लिङ सिक्न शान्तिनगर आइपुग्छिन्। १२ नबज्दै काम गर्न बबरमहल पुग्छिन्। रेस्टुरेन्टमा वेट्रेस उनको सपना छ — डब्लुडब्लुई खेल्ने।

उनको बुबा सानैमा बिते। आमाले ज्यामी काम गर्दै हुर्काइन्। गरीब परिवारमा जन्मिएकाले स्कुल जान पाइनन्। बच्चैदेखि भेटेसम्मको काम गरिन्। 

जिन्दगी अभावमै बितिरहेको थियो। अवस्था एकदम नाजुक। न कुनै योजनाले काम गर्थ्यो न सपना पछ्याउने हैसियत नै। गर्जो टार्न जे काम पनि गर्नुपर्थ्यो, गर्थिन् पनि। स्कुल नगएको मान्छेले गतिलो काम पाउने आशा गर्नु व्यर्थ थियो, काठमाडौंमा।

एकपछि अर्को ठाउँमा काम गर्दै गइरहेकी उनले एकदिन युट्युबमा रेस्लिङ भिडन्त हेरिन्। भिडन्त हेरेपछि उनलाई पनि रेस्लिङ खेल्ने इच्छा जाग्यो। फेसबुकमा सर्च गरेर भगवती खडकालाई सम्पर्क गरिन्। त्यसको केही दिनमै रेस्लिङ सिक्न आउन थालिन्। 

तर, आमाले 'बुढी भएपछि दु: ख पाउँछेस्, नखेल्' भन्न अझै छाडेकी छैनन्।

अहिले उनले दुईवटा खेल खेलिसकिन्। जिन्दगीको कथा व्यथा जुरेलीको भन्दा फरक छैन।


मिति : २०७५ फागुन १०
स्थान : शान्तिनगर
समय :११ बजे

रोल्पा थवाङकी लक्ष्मी घर्तीमगर तीन महिनादेखि रेस्लिङको रिङमा भिँडिरहेकी छिन्। रोल्पादेखि दाङ हुँदै काठमाडौं छिरेकी उनको कथा अन्य रेस्लरको कथा फरक छैन्। उनी दाङमा हुँदा बक्सिङ सिक्दै प्लस टु पढ्दै थिइन्। बक्सिङ खेल्न तीन महिनाअघि काठमाडौं आएकी उनलाई रेस्लिङमा चासो बढ्यो।

तर, परिवारका कोही पनि खेलकुद क्षेत्रमा थिएनन्। खेलेर खान पुग्ने परिवार पनि होइन। उनले 'रेस्लिङ सिक्छु' भन्दा परिवारले नराम्ररी गाली गरे। तर, उनी अपवाद बनिन्।

उनका काठमाडौंमा कोही आफन्त छैनन्। त्यही फाउण्डेसनमा बस्छिन्। फाउण्डेसनको काममा सघाउँदै ट्रेनिङ गर्छिन्। यसरी नै उनको दिन बित्छ।

उनको पनि अन्य रेस्लरहरु जस्तै 'डब्लुडब्लुई' खेल्ने सपना छ। 

अरु रेस्लरको जस्तै उनको पनि भविष्य अन्यौल छ। जस्तो पर्ला त्यस्तै टर्ला भन्ने मानसिकता। राम्रो ट्रेनिङ पाउन सक्ने अवस्था छैन। दाल भात खान संघर्ष गरिरहेकाले 'ब्यालेन्स डाइट' जुटाउन गाह्रो छ। जिम त झन् परको कुरा।

यी सबै पात्र अभावै अभावको बाबजुद रेस्लिङ रिङमा भिँडिरहेका छन्। एक थान सपना बाहेक केही छैन उनीहरुसँग। रहरहरु लुकाएका छन्। लाउँलाउँ खाउँखाउँ भन्ने उमेरमा रेस्लिङको रिङमा पछारिइरहेका छन्। अभावको वर्तमान र अनभिज्ञ भविष्यका बाबजुद उनीहरु यत्ति भन्नचाहीँ छोड्दैनन्, 'अपना टाइम आएगा...।'



ट्रेन्डिङ पोस्ट

Ncell