PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

सीके राउतले भने : जेल पुगेपछि स्वतन्त्रता के हो बुझेँ, प्रम ओलीसामु जेलको कुरा सूर्यका अगाडि दीयो बाल्नु



नेत्र तामाङ

सीके राउतले भने : जेल पुगेपछि स्वतन्त्रता के हो बुझेँ, प्रम ओलीसामु जेलको कुरा सूर्यका अगाडि दीयो बाल्नु

काठमाडौं : खुला राजनीतिमा सक्रिय हुने शर्तमा सरकारसँग ११ बुँदे सहमति गरेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउतले आजको राजनीतिक सहमतिको घोषणा कार्यक्रममा राजनीतिक अवतरण सहज गराएकोमा सबैलाई धन्यवाद दिएका छन्।

'हामी दिनरात चिन्तित थियौं। असाध्यै सहज अवतरण भयो। प्रधानमन्त्रीले आफ्नो स्तरबाट सहज अवतरण गरी हामिलाई राजनीतिक स्पेस दिनुभयो,' राउतले घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै भने। उनले पूर्व प्रधानमन्त्रीहरुलाई समेत धन्यवाद दिए। 

'हामी बुद्धका सन्तान हौं। अहिंसा शरीरको रगरगमा छ। बुद्ध र गन्धीको बाटोमा थियौ। जनताको मागको लागि,' उनले भने,
'केही माग संविधानले पूरा भयो। केही पूरा भएन। मसहित दुई दर्जनभन्दा बढी पक्राउ परे। खुट्टा भाँचियो। अन्य नेता कार्यकर्ता घाइते भए। केही जेलमा छन्। हामी बुद्ध मार्गमा हिँड्यौं र आज सहज अवतरण भयो। यो पाठ हो।'

उनले लाठी हान्ने प्रहरीलाई गुलाफको फूल दिएको बताए। आन्दोलनमा प्रहरीले गोली नचलाएकोमा धन्यवाद  दिए।
उनले आफ्ना समर्थकलाई पनि धन्यवाद दिन भ्याए।  

'जनमतबाट  सबै हुन्छ। सबै अधिकार जनताको हातमा आएको छ। देशको विकासका लागि प्रयोग गरौं,' ११ बुँदे सहमतिबारे उनले भने। उनले पछिल्लो समय ५ महिना जेल बसेको स्मरण गर्दै जेलका नाइकेदेखि अस्पतालका डाक्टरसम्मलाई धन्यवाद दिए। 'जेल महाविद्यालय र पाठशाला रहेछ,' उनले भने, 'जेलमा पुगेपछि स्वतन्त्रता के हो भन्ने सिकिनेरहेछ। हाम्रो देश स्वतन्त्र भएकाले जेलमा बसेपछि धेरै सिकेँ। जेल बसाइँ उपलब्धीमूलक रह्यो। स्वतन्त्रता सिकायो।' 

उनले प्रधानमन्त्री केपी शर्मा ओलीका अगाडि जेलको अनुभव सुनाउनु भनेको सूर्यको अगाडि दियो बाल्नु जस्तै रहेको बताए।
'तर, बिर्सनुभयो कि? अहिले क्रुर छ। यसमा सुधार चाहिन्छ। जेलको नुन खाएकोले यो सुनाएँ,' राउतले भने, 'अब हामी समृद्ध देश बनाउन लागौं। सबैले साथ दिने नै छन्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell