PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

सेनाका जवानको शव ४ दिनदेखि अस्पतालमै, हत्या भएको भन्दै परिवारले बुझ्न मानेनन्



एम बम

सेनाका जवानको शव ४ दिनदेखि अस्पतालमै, हत्या भएको भन्दै परिवारले बुझ्न मानेनन्

कैलालीः कञ्चनपुरको २५ नम्बर बाहिनी भगतपुरमा कार्यरत नेपाली सेनाका जवान वीरबहादुर खड्काको हत्या भएको उनको परिवारले आरोप लगाएका छन्। जाजरकोटबाट शव बुझ्न भनेर आएका उनका परिवारका सदस्यहरूले घटनाको प्रकृति र सेनाको व्यवहार देख्दा हत्या नै भएको भन्दै शव नबुझेको बताएका छन्।

घटनाको सत्य तथ्य छानबिन नभएसम्म शव नबुझ्ने परिवारका सदस्यहरूको भनाई छ। परिवारका सदस्यले शुक्रवार धनगढीमा पत्रकार सम्मेलन गरेर उक्त आरोप लगाएका हुन्।

‘घटनास्थलको तस्बिर हेर्दा बिना पोशाक र चप्पलमा हतियार कसरी दिइयो’ मृतक खड्काकी पत्नी हिमाली ज्योति खड्काले भनिन् ‘सेनाबाट नै हत्या भएको हामीलाई आशङ्का छ।’

उनले थपिन्, ‘शवको पोस्टमार्टम भएकै थिएन, सेनाले आत्महत्या हो भनेर अगाडि नै कसरी भने?’

परिवारमा रहेको मेलमिलाप र खड्काको व्यवहारले आत्महत्या गर्नुको कुनै कारण नै नभएको भन्दै उनले घट्नाको अघिल्लो बेलुकीमात्र फोनमा कुरा हुँदा केही दिनमा गण नै पोखरा सर्न लागेको जानकारी दिएको बताइन्। उनले भनिन्,‘बरु काम गर्न सकिँदैन भने चैतपछि पसल बेचेरै उतै जाउला पनि भन्नु भएको थियो। आत्महत्या गर्नुपर्ने त कुनै कारण नै थिए।’

गणका गणपति राजु बस्न्यातले शव प्रहरीको जिम्मा लगाई सकिएकाले उतै बुझ्न भनेर पन्छिने गरेको मृतकका बुवा धनबहादुर खड्काले गुनासो गरे। आत्महत्या नै भए पनि परिवार नआउँदै शव उठाउन लगाएको र आत्महत्या भएकाले कुनै सेवा सुविधा नपाउने भनेर कर्णेलले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको उनको भनाई छ।

खड्काको शव महाकाली अञ्चल अस्पतालमा पोस्टमार्टम नभएपछि सेती अञ्चल अस्पताल धनगढीमा ल्याइएको थियो । शवको पोस्टमार्टम भए पनि आफन्तले चार दिन देखि शव बुझेका छैनन्।  हाल उनको शव सेती अञ्चल अस्पतालको शव गृहमै राखिएको छ।

मृतक खड्काको घर छेडागाड नगरपालिका  १० जाजरकोट हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell