PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

सरकार र सीके राउतबीच सहमति कार्यक्रममा देखिएका रोचक दृश्य: प्रधानमन्त्रीप्रति झुक्दै राउतको सम्बोधनदेखि प्रचण्डको मुसुमुसु हाँसोसम्म



नेत्र तामाङ

सरकार र सीके राउतबीच सहमति कार्यक्रममा देखिएका रोचक दृश्य: प्रधानमन्त्रीप्रति झुक्दै राउतको सम्बोधनदेखि प्रचण्डको मुसुमुसु हाँसोसम्म

काठमाडौं: सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच राजनीतिक सहमति गर्न आज राष्ट्रिय सभागृहमा कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रमको आयोजक थियो गृह मन्त्रालय।

गृहमन्त्रालयका सचिव प्रेमकुमार राईले कार्यक्रम सञ्चालन गरे।

हिजोमात्र जेलमुक्त भएका स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउत,प्रधानमन्त्री  एवं नेपाल कम्युनिस्ट पार्टी(ने क पा)का  अध्यक्ष के  पी शर्मा ‌ओली, ने क पाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकसाथ मञ्चमा देखिए। दिउँसो १ बजे हुने हुने भनिएको कार्यक्रममा प्रधानमन्त्री ओली, प्रचण्ड र राउत १: ४४ मामात्र कार्यक्रमस्थल पुग्दा कार्यक्रम ढिला शुरु भयो। सरकार र गठबन्धनबीच ११ बुँदे सहमति पनि भयो।

 

राउतले गरे झुकेर सम्बोधन, गरम देखिँदै आएका राउत नरम

 

सरकार र गठबन्धनबीच सहमति भएको सम्झौतापत्र गृहसचिव राईले वाचन गरेलगतै गठबन्धनका संयोजक राउतलाई आफ्नो भनाई राख्न लगाइयो। राउतले शुरुमा 'सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली' भन्दै झुकेर सम्बोधन गरे। गरम देखिँदै आएका राउतको सम्बोधन नरम थियो।

आफ्नो आन्दोलन सहज अवतरण भएको भन्दै उनले प्रधानमन्त्री ओलीदेखि पूर्व प्रधानमन्त्रीहरु सबैलाई धन्यवाद ज्ञापन गरे। आफूले बुद्ध र गान्धीको बाटो अपनाएको उल्लेख गर्दै उनले गोली नहानेकोमा प्रहरीलाई पनि धन्यवाद दिए। त्यसो त उनले आफू लगायत  दुई दर्जनभन्दा बढी जेल परेको र खुट्टा भाँचेको प्रसंग छुटाएनन्। राउतले अरुलाई कुट्न सजिलो हुने र आफूले कुटाई खानु भने गाह्रो भएको बताए।

सहमतिपत्रमा छैन प्रधानमन्त्रीको हस्ताक्षर

सरकार र गठबन्धनबीचको सहमति भनिएपनि प्रधानमन्त्री ओलीले भने सहमति पत्रमा हस्ताक्षर गरेनन्। सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापाले सम्झौतापत्रमा हस्ताक्षर गरे भने गठबन्धनको तर्फबाट राउतले। मिडियालाई वितरण गर्नका लागि तयार पारिएको सहमति पत्रमा हस्ताक्षर गर्न गृहमन्त्री थापा र राउतलाई पाँच मिनेटभन्दा बढी समय लागेको थियो।

राजपा र विप्लवलाई प्रधानमन्त्रीको चेतावनी

कार्य्रक्रममा प्रधानमन्त्री ओलीले रेशम चौधरीको प्रसंग निकाल्दै राजपाले सरकारबाट समर्थन फिर्ता लिएको ,राजपा नेपाललाई त्यान्द्रो जोडेर समर्थन फिर्ता लिएको आरोप लगाए। उनले अदालतको कुरा र सरकारको कुरा बेग्लै हुने भन्दै राजपालाई आवेश उत्तेजनामा नआउन र आरोपप्रत्यारोपको सिलसिला बन्द गर्न आग्रह गरे।

यता विप्लवलाई भने लुटेरा समूह भन्दै कारवाहीको चेतावनीसमेत दिए। ओलीले विप्लपलाई नेकपा नाम नराख्न पनि आग्रह गरे। भने, 'विप्लवले लुटेर हिडेको छ। लुटेरा समूह नाम राखे हुन्छ। नेकपा नाम नराख। कमसेकम लुट्नकै लागि नेकपा भन्ने बर्को त फ्याँक। लाज भयो। हाम्रो पनि त्यही नाम छ।'

 

विप्लव समूहको पर्चा पनि आफूले पढेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले थपे, ‘कमसेकम कम्युनिस्ट पार्टीको नाम लिन बन्द गर। अरु पनि छन् भने लुटेरा समूह विप्लव राख, प्रकाण्ड लुटेर समूह भनेपनि हुन्छ।’

प्रमलाई राउतको जेल अनुभव, 'सूर्यको सामुन्ने दियो'

विगत पाँच महिनादेखि आफु जेल बस्दै आएको उल्लेख गर्दै राउतले जेल महाविद्यालय भएको बताए। जेलमा बसेरै आफूले स्वतन्त्रताको अनुभव लिन पाएकोले पाठशाला नै भएको भनाई थियो। राउतले जेलको अनुभव सुनाइरहँदा प्रधानमन्त्रीतिर इंगित गर्दै सूर्यको सामुन्ने दियो बलेजस्तै भएको बताए। भने, 'प्रधानमन्त्री आफैं १४ वर्षभन्दा बढी जेल बस्नुभएको मान्छे। मेरो अनुभव सूर्यको अगाडि दियो बलेजस्तै हो।'

प्रधानमन्त्रीले जेलको कुरा बिर्स्यो कि भनेर आफूले सम्झाउन खोजेको उनको भनाई थियो। उनले भने, 'प्रधानमन्त्रीज्युले बिर्सनुभयो कि भनेर सम्झाउन खोजेकोमात्र। अहिले जेल क्रुर छ। कैदीबन्दीलाई बस्ने ठाउँ छैन। अव्यवस्थित छ। रोगीहरुसँग बस्नुपर्छ।'

 

सीके राउतको प्रशंसा गर्दै प्रम ओलीले भने: बिग्रेला भन्ने डर थ्यो, राम्रो बाटो समाते

स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउतलाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशंसा गर्दै वेल एजुकेटेड र थिङ्क ट्याङ्क रहेको भन्दै प्रशंसा गरे।

 

ओलीले राउतमा असाधारण निर्णय क्षमता देखेको बताए। त्यस्तै असाधारण क्षमता प्रचण्डमा पनि देखेको प्रधानमन्त्रीको भनाइ थियो। 'उहाँमा मैले असाधारण निर्णय क्षमता देखेँ। पहिले प्रचण्डमा यस्तै देखेथें,' उनले भने।

प्रम ओलीले राउतको राजनीतिलाई मानिसहरुले पृथकतावादी राजनीति भनिरहेको स्मरण गराउँदै राष्ट्रिय एकताको राजनीतिमा आइसकेपछि सबै कुरा सकिएको उल्लेख गरे।

'सीके राउत वेल इजुकेटेड मान्छे। बाटो भुलेर बिग्रेला कि भन्ने डर'थ्यो। त्यस्तो भएन,' उनले भने, 'टेक्नोक्रेटमात्र हैन थिंक ट्याङ् पनि हो राउत।'

सुरक्षा व्यवस्था कडा

कार्यक्रमस्थल प्रवेशका लागि सुरक्षा व्यवस्था कडा पारिएको थियो। राष्ट्रिय सभागृहको बाहिरी गेटमा प्रहरीको जाँचपछिमात्र भित्र प्रवेश दिइएको थियो।

भित्र हलमा प्रवेशका लागि प्रधानमन्त्री कार्यालयकै विशेष टोली खटिएको थियो। दुई लाइन बनाएर गरिएको चेकिङमा सेन्सर गेटसमेत प्रयोग गरिएको थियो।

ने क पाका प्रवक्ता, सरकारका प्रवक्ता र उपप्रधानमन्त्री पोखरेल र यादव देखिएनन्

कार्यक्रममा ने क पाका अधिकांश नेताहरु सहभागी थिए भने सरकारका मन्त्रीहरुको पनि उपस्थिति रहेको थियो। तर ने क पाकै प्रवक्ता नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्रीद्वय इश्वर पोखरेल र उपेन्द्र यादव देखिएनन्। त्यसो त पूर्वप्रधानमन्त्रीहरु माधव नेपाल र झलनाथ खनाल पनि कार्यक्रममा उपस्थित थिएनन्। अर्थमन्त्री डा युवराज खतिवडा, श्रममन्त्री गोकर्ण विष्ट, सहकारी मन्त्री पद्मकुमारी अर्याल कार्यक्रममा उपस्थित थिए।

 

प्रचण्डको भूमिका मुसुमुसु हाँसोमात्रै

अध्यक्ष प्रचण्ड र गृहमन्त्री थापाले मञ्चमा बोल्ने मौका पाएनन्। सीके राउत बोल्दा अधिकांश समय प्रचण्डको ध्यान राउततिरै थियो। यता प्रधानमन्त्री ओलीले प्रशंसा गरेपछि भने प्रचण्ड मुसुमुसु हाँसे। प्रधानमन्त्रीले सीके राउतभन्दा अघि प्रचण्डमा असाधारण क्षमता देखिएको भन्दै प्रचण्डको प्रशंसा गरेका थिए। यद्यपि सहमतिमा प्रचण्डको विशेष भूमिका रहेको बताइएको छ।

 

प्रधानमन्त्री छाडेर सीके राउततिर झुम्मिए

कार्यक्रम सकिनसाथ प्रधानमन्त्री ओली र सीके राउत एकै बाटो बाहिर निस्किए। कार्यक्रमको शुरुमै सीके राउतका कार्याकर्ताको बाक्लो उपस्थिति थियो सभा गृह हलमा। बाहिर निस्किएपछि राउतका समर्थकमात्र हैन पत्रकारहरु सीके राउततिर झुम्मिए। उनलाई विभिन्न प्रश्न सोधिए। तर उनले जवाफ फर्काएनन्। भित्र लबीमा पुगेपछि गठबन्धनका प्रवक्ता अब्दुल खानले पत्रकारको प्रश्नको उत्तर दिए। जनमत संग्रहबारे स्पष्ट नभएको उल्लेख गर्दै सोधिएको प्रश्नमा आज राति पार्टीको प्रशिक्षण हुने र थप कुरा स्पष्ट पार्ने भन्दै उत्तर छोट्याए र बाहिरिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell