
काठमाडौं : शुक्रवार दिउँसो स्वतन्त्र मधेशको अभियान चलाइरहेका डाक्टर सीके राउतको सम्बोधन सबैका लागि प्रतीक्षाको विषय थियो। राउतले सम्बोधन गर्दैगर्दा स्टेजमामा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि एउटै रोमा बसेका थिए।
सम्बोधनका क्रममा केही संयोजक राउतले राजनीतिक कुरा खासै उठाएनन्। बरु हँस्यौलो पारामा देशभित्र रहेका जेलको अवस्थाबारे सुनाउन भ्याए।
संयोजक राउतले ४ वर्ष अगाडि डिल्लीबजार कारागारमा बस्दाको अनुभव सुनाए, 'चार वर्ष अगाडि पनि म डिल्लीबजार जेल गएको थिएँ। जेल भनेको महाविद्यालय हो। ठूलो पाठशाला हो। बाहिर अनुभूति गर्न नपाएका कुरा जेलमा अनुभूति गर्न सक्छौँ। स्वतन्त्रता भनेको के हो? त्यो हरण भए के हुन्छ? सामान्य मानिसले बुझ्दैन। तर, एक दिनमात्र जेलमा गएपछि स्वतन्त्रता थाहा हुन्छ। जीवनको मूल्य के रहेछ भन्ने जेल जानाले थाहा हुन्छ।‘
संयोजक राउतले जेलको कुरा भन्दा हलमा परर ताली बज्यो। त्यसपछि उनले जेलमा बस्दा सहयोग गर्ने कैदीदेखि भाइ नाइकेसम्मलाई धन्यवाद दिन भ्याए। त्यतिमात्र होइन जेलभित्र उपचार गर्ने चिकित्सकलाई पनि धन्यवाद दिए।
संयोजक राउतले पछिल्लो पाँच महिनाको जेल बसाइ निकै उपलब्धिमूलक भएको सुनाए। ‘पाँच महिनाको जेल बसाइ निकै उपलब्धि भयो। स्वतन्त्रता भनेको के हो? त्यसलाई कसरी सदुपयोग गर्न सक्छौँ भन्ने पाठ सिकायो। त्यसका लागि नियतिलाई धन्यवाद दिन्छु,' उनले भने।
प्रधानमन्त्रीलाई जेलको अनुभव सुनाउनु सूर्यलाई दीयोको उज्यालो देखाउनुजस्तै भएको भन्दै उनले जेल भित्रको अवस्था सुनाउन भ्याए।
‘जेलको अवस्था दुरावस्थामा छ। भौतिक पूर्वधारहरू छैन। एउटा हलमा २ सय जना राख्नुपरेको छ। टिभी, क्षयरोगका अन्य बिरामी सबै त्यही छन्। जेलको नुन खाएकाले सुधार होस् भन्नु मेरो बाध्यता हो,' उनले भने।