PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

कर्णाली पुगेर गृहमन्त्रीले भनेः ‘विप्लव’ जस्ता तत्त्व विस्तार हुने छैन, छिट्टै तह लगाइनेछ



पी बी खड्का

कर्णाली पुगेर गृहमन्त्रीले भनेः ‘विप्लव’ जस्ता तत्त्व विस्तार हुने छैन, छिट्टै तह लगाइनेछ

सुर्खेतः कर्णालीमा भइरहेको सुरक्षा गोष्ठीमा सहभागी हुन सुर्खेत पुगेका गृहमन्त्री रामबहादुर थापाले अपराधिक तत्त्वलाई तह लगाउन कठोरतापूर्वक अगाडि बढ्ने बताएका छन्। शनिवार वीरेन्द्रनगर सुर्खेतमा पत्रकारसँग थापा बादलले त्यत्ति ठुलो चुनौतीका रुपमा नभएको भन्दै उक्त निस्तेज भएर जाने दाबी गरे। राज्य शान्ति सुरक्षा कायम गर्न प्रतिवद्ध रहेको भन्दै विध्वंसात्मक गतिविधि गर्ने विस्तार हुने कुनै पनि आधार नभएको भन्दै निस्तेज हुने दावी गरे। 


‘धेरै ठुलो चुनौतीका रुपमा त हैन। राष्ट्रको शान्ति सुरक्षाको निम्ति केही समस्या उत्पन्न गरेको छ। भर्खरै देशव्यापीरुपमा यो ‘विप्लव’ समूहले विध्वंसात्मक गतिविधिहरु विस्तार गरेको छ,’ उनले भने,‘त्यो किसिमको तत्त्वहरुको विस्तार हुने कुनै सम्भावना छैन। त्यसको आधार यहाँ नभएको हुनाले छिट्टै नै निस्तेज भएर जान्छन्। राज्य शान्ति सुरक्षा कायम गर्न प्रतिबद्ध छ। त्यसको विरुद्ध हामी कठोरतापूर्वक अगाडि बढ्ने छौँ।’


त्यस्तै, कतिपय पक्षबाट संरक्षण दिएको र  उन्मुक्ति दिने गरेकाले उनीहरुको हौसला बढेको उल्लेख गरे।  ‘कतिपय पक्षबाट संरक्षण दिएको र  उन्मुक्ति दिने गरेकाले उनीहरुको हौसला बढेको हो,’ उनले भने, ‘नेपालमा उनीहरुका लागि वस्तुगत आधारहरु छैन। हिजो राष्ट्रिय व्यवस्थामा थुप्रै कमजोरीहरु थिए।  त्यसकोविरुद्ध जनताले आवाज उठाएका थिए। अहिले त्यो छैन। संघीय गणतन्त्रको स्थापना भइसकेको छ। देश विकास र समृद्धिको दिशामा अगाडि बढिरहेको छ।’ 


त्यसैगरी, शान्ति सुरक्षामा केही सामाजिक अपराधिक तत्त्वहरु बाधक रहेको भन्दै निस्तेज गर्ने र नियन्त्रण गर्ने उनको दावी छ। ‘शान्ति सुरक्षामा केही सामाजिक अपराधिक तत्त्वहरु बाधक छन्। त्यसलाई पनि केही हदसम्म निस्तेज गरेका छौँ।’ उनले भने, ‘केही तत्त्वहरु अझै पनि राज्य विरोधी, संविधान विरोधी छिटफुट रुपमा शान्ति सुरक्षामा चुनौती खडा गरिरहेका छन्। त्यसलाई पनि हामीले निश्चित रुपमा निस्तेज गर्नेछौँ र नियन्त्रण गर्ने छौँ।’


सरकारले एक वर्ष पुरा गरेको भन्दै अन्तरराष्ट्रिय सम्बन्धलाई सुदृढ गर्ने काम सफलतापूर्वक सम्पन्न गरेको बताए। देशका लागि चाहिने आवश्यक कानुन तयार गरेको भन्दै विकासका लागि आवश्यक पूर्वाधार र योजना निर्माण गरिएको उनको तर्क थियो।  


यही २३ गतेदेखि शुरु भएको सुरक्षा गोष्ठीमा कर्णालीका सुरक्षा निकायलाई थप शान्ति सुरक्षा सम्बन्धी गृहमन्त्री थापाले निर्देशन दिने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell