PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

'रंग बरसे भिगे चुनरवाली' गाउँदै प्रचण्डको फागु डान्स, ओलीको पशुपति शर्मा नोस्टाल्जिया : नेकपाको मधेस सभाका आठ रोचक दृश्य

'रंग बरसे भिगे चुनरवाली' गाउँदै प्रचण्डको फागु डान्स, ओलीको पशुपति शर्मा नोस्टाल्जिया : नेकपाको मधेस सभाका आठ रोचक दृश्य

विधुर ढकाल/पहिलोपोस्ट


रौतहट : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले प्रदेश २ मा जनसभा गर्दै आफ्नो उपस्थितिलाई प्रदेशमा दरिलो देखाएको छ। 

गत जेठ ३ गते तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि दुई नं प्रदेशमा भएको पहिलो सभामा सत्तारुढ दल ने क पाका नेताहरुले मधेसकेन्द्रित दलहरुमाथि धावा बोले।

६ वटा प्रदेशमा सरकार चलाइरहेको ने क पाले प्रदेश २ को सत्तारुढ दलमाथि धावा बोल्यो। प्रदेश २ मा राजपा र संघीय समाजवादी फोरमको गठबन्धन सरकार छ। सभालाई सम्बोधन गर्ने ने क पाका एक अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मधेशकेन्द्रित दल राष्ट्रिय जनता पार्टी राजपा नेपालमाथि धावा बोलेका हुन्।

१) माधव नेपालको स्थानीय भाषामा सम्बोधन

सभाका अध्यक्ष रहेका ने क पाका प्रदेश अध्यक्ष प्रभु साहले ने क पा मधेशको हित गर्ने दल भएको उद्घोष गर्दै कार्यक्रम सुरु गरेपछि सभामा सम्बोधन गर्न आएका पूर्व प्रधानमन्त्री नेपालले स्थानीय भाषा बज्जिकामा सम्बोधन गर्दै मधेसमा ने क पा विरुद्ध भ्रम फैलाउनेहरु रहेकोले सजग हुन आग्रह गरे। 

मधेसको हित र विकास गर्ने दल ने क पा मात्र रहेको उनले दाबी गरे। सभामा बोल्ने अधिकांश नेताहरुले मधेसमा ने क पाले मात्र समृद्धि ल्याउने दाबी गरे।

२) प्रचण्डको दावी - अब दुई तिहाई हैन, ८० प्रतिशत मत

अध्यक्ष प्रचण्डले ने क पाले २ नं प्रदेशमा पनि सरकार बनाउन सक्ने भन्दै हतारो नभएको बताए।

‘ने क पाको ६ वटा प्रदेशमा सरकार छ। ने क पाले आँट्यो भने यहाँ पनि सरकार बनाउन सक्छ तर हामीलाई सरकार बनाउन र अस्थिरता ल्याउन कुनै हतार छैन,’ प्रचण्डले भने ‘हामीले यहाँ मधेसवादी दलहरुलाई अवसर दिएका छौँ। विकास गरेर देखाउन्, समृद्धिमा योगदान दिउन्।’ 

अर्को पटक ने क पाले प्रदेश २ पनि सरकार बनाउने दाबी गरे। ‘ने क पा र सरकार मधेसको समृद्धिका लागि योजना अगाडि बढाएको छ। अर्को चुनावमा यहाँ पनि कम्युनिस्ट सरकार बन्छ। ने क पाले दुई तिहाई मात्र होइन ८० प्रतिशत मत ल्याउँछ।’

३) धेरै फूर्तिफार्ती नगर्न प्रमको चेतावनी

प्रधानमन्त्री ओलीले राजपालाई सरकार विरुद्ध नलाग्न सभाबाटै चेतावनी दिए।  ‘एक पटक जनतलाई झुक्याएर मत लिए भन्दैमा केही हुँदैन। धेरै फूर्तिफार्ती नगर्दा हुन्छ। सरकार विरुद्ध नहिँड्न आग्रह गर्छु,’ उनले भने। 


४) ओलीको रौतहटमा पशुपति शर्मा नोस्टाल्जिया

कार्यक्रममा सम्बोधन गरेका प्रधानमन्त्री ओली केही बेर नोस्टाल्जिक भए। उनले आफू यही स्थानबाट पक्राउ परेको भन्दै केही सहकर्मीहरुकोसमेत नाम लिए। ‘२० वर्ष अगाडि आएको थिएँ। सभामा सम्बोधन गर्न फेरि आएको छु। त्यो भन्दा अगाडि ४६ वर्ष अगाडि यहीँ बसेको थिएँ,’ उनले भने, ‘केही महिना यही जिल्लामा भूमिगत बसेको थिएँ। इनरवारी भैसाहीमा धेरैको घरमा पुगेको छु।’

प्रधानमन्त्री केपी शर्मा ओली २०२९ सालमा तत्कालीन झापा विद्रोहसँगै रौतहटमा चलेको किसान आन्दोलनका क्रममा यहाँ पुगेका थिए। उनी रौतहटमा रहँदा शिववादी पटेलको घरमा 'पशुपति शर्मा' छद्म नाममा सेल्टर लिएका थिए। 

उनले आफू कोपुवावाट पक्राउ परेको स्मरणसमेत गरे। 

‘ने क पा मधेस विरोदी पार्टी भनेर हल्ला छ। ४६ वर्ष अगाडि यही ठाउँबाट पक्राउ परेँ। अनि अचम्म लाग्छ हामी नै मधेस विरोधी रे?’ उनले अगाडि भने, ‘यहाँको उपस्थितिले यी सबै प्रश्नहरुको जवाफ दिएको छ।’ उनले यही वाक्यांशलाई मैथिली, हिन्दी लगायतका भाषामा मिसाएर भने, ‘मलाई त्यति गाह्रो छ। नत्र तपाईँहरुलाई सजिलैसँग बुझ्ने गरी भन्थेँ- अहाँ के उपस्थिति नै धेर सारा प्रश्न के जवा आगइल।’

५) रंग बरसे भिगे चुनरवालीमा प्रचण्डको फागु डान्स

सभालाई सम्बोधन गरेर सक्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले फागुको शुभकामना दिए। ‘यहाँहरुको महान चाड फागु आउँदै छ। फागु खेल्न म यहाँहरुसँग आउन सक्दिन होला त्यसैले अहिले नै शुभकामना दिन्छु।’

प्रधानमन्त्री ओलीले विदा लिएसँगै सभाका सञ्चालकले कलाकारहरुलाई फागु खेल्न मञ्चमा निम्त्याए। केही रंग खेल्ने काम भयो। हिन्दी भोजपुरी गीतमा कलाकारहरु नाचे। रिमिक्स गीतको अन्तिम गीत 'रंग बरसे भिगे चुनरवाली….. चल्दै गर्दा मञ्चमा देखियो प्रचण्डको डान्स। 

६) एमाले र माओवादीका झण्डा

ने क पाको उद्घोष थियो सभामा एक लाख मानिस उतार्छौँ। संख्या एकीन नभए पनि अपेक्षा गरिए भन्दा बढी नै आए। 

कार्यक्रम स्थल खेत थियो। अघिल्लो दिन प्रदेश अध्यक्ष साहले भनेका थिए. ‘यो खेत थियो। सुविधा र स्थान अभाव पनि थियो। रातारात यसलाई सम्याइयो। र मैदान तयार पारियो।’

यसरी तयार पारिएको मैदानमा जनता अटेनन्। 

चन्द्रपुर गौर सडक खण्डमा दिनभर कार्यकर्ताको जुलुस जस्तै थियो। रोचक त के भने जुलुसमा सहभागीहरुले तत्कालीन नेकपा एमाले  र नेकपा माओवादी केन्द्रका झण्डा बोकेका थिए। 

सम्भवतः ती झण्डाहरु चुनाव ताका प्रयोग भएका थिए। नारा लगाउने कार्यकर्ता पनि अभ्यस्त थिए होलान नेकपा एमाले जिन्दाबाद र नेकपा माओवादी केन्द्र जिन्दवाद भन्न। त्यस्तै नारा लगाइरहेका भेटिन्थे केही समूह। झण्डामा नेकपा एमाले र माओवादी लेखिएका थिए। 

एकताको सन्देश पुर्‍याउन आयोजना गरिएको सभामा एकता ढिलाइ भएको कुरालाई यसले गिज्याइरहेको थियो। 

भलै प्रचण्डले यसलाई सम्बोधन गर्ने प्रयास गरे। ‘एकतामा केही ढिलाइ भएकै हो। अब एक दुई दिन मै बाँकी काम सकिन्छन्। अनि देश दौडाहामा जान्छौँ। यहाँ फेरि पनि आउने छौँ।’

७) भारतीय गाडीमा कार्यकर्ताको लस्कर

कार्यक्रम स्थलदेखि भारतीय सीमा करिब २५ किलोमिटरको दूरी थियो। सीमावर्ती क्षेत्र भएकाले नै कार्यक्रममा सहभागीहरु अधिकांश भारतीय नम्बर प्लेटका गाडीमा आएका थिए। साना गाडी र मोटरसाइकलहरु अधिकांश भारतीय नम्बर प्लेटका थिए। रौतहटको उत्तर भेग र अन्य जिल्लाबाट पनि मानिसहरु ओसारिएका थिए। शनिवार विद्यालय विदा विद्यालयका गाडी र सार्वजनिक यातायात, ट्याक्टरमा मानिसहरु २ नं प्रदेशका ८ जिल्लाबाट ओसारिएका थिए। 

सभामा ने क पाको झण्डा राखेका भारतीय गाडीहरु विहार महाराष्ट्र, सिक्किम र कर्नाटकासम्मका थिए। 

कार्यक्रममा सहभागी हुनका लागी मानिसहरु घोडा चढेर समेत आएका थिए। 

८) मधेसको सांस्कृतिक झाँकी र डिजे व्याण्ड

कार्यक्रमको अर्को दृश्य भने सांस्कृतिक झाँकी थिए। विभिन्न स्थानीय भेषभुषा र सांस्कृतिक झाँकीसहित कार्यकर्ताहरु सहभागी थिए। 
कार्यक्रममा मधेसको सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरिएका थिए। 

अर्को रोचक दृश्य ‘अर्केष्टा’ पनि देखियो।  



ट्रेन्डिङ पोस्ट

Ncell