
काठमाडौँ : नेपाली क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल)मा पुन: महँगा सावित भएका छन्।
लाहोर कलन्दर्सबाट खेलिरहेका सन्दीपले शनिवार इस्लामावाद युनाइटेड विरुद्ध चार ओभरमा ४६ रन खर्चिए। उनले १ विकेट मात्र लिन सके।
सुरुको तीन ओभरमा २० रन मात्र खर्चेर १ विकेट लिएका सन्दीपले आफ्नो अन्तिम ओभरमा चार छक्कासहित २६ रन खर्चिए।
पाकिस्तानको कराचीमा भइरहेको खेलको तेस्रो ओभरमै बलिङ गर्ने अवसर पाएका सन्दीपले दोस्रो बलमै पिटर साल्टलाई हरिस सोहलेको हातबाट क्याचआउट गराउदै उत्कृष्ट सुरुवात गरेका थिए। उक्त ओभरमा सन्दीपले १ रन मात्र खर्चे। त्यसपछिका दुई ओभरमा सन्दीपले १९ रन खर्चिएका थिए।
तर १६ ओभर भने सन्दीपको लागि निकै महँगो बने। यस ओभरमा उनलाई क्यामरुन डेलपोर्ट र आसिफ अलीले २-२ छक्का प्रहार गरे। यस्तै सन्दीपले दुई बलमा १-१ रन खर्चिए।
सन्दीपले कूल २४ बल बलिङ गर्दा ११ बल डट फालेका थिए। तर ६ छक्का र १ चौका खर्चिएका सन्दीपले ४० रन बाउण्ड्रीबाटै दिएका थिए।
सन्दीपले यसअघि पिएसएल डेब्युमा मुल्तान सुल्तान विरुद्ध खेल्दा पनि ४६ रन नै खर्चिङ्कए थिए। उक्त खेलमा भने उनले ३ विकेट लिएका थिए।
सन्दीपले पिएसएलमा ६ खेल खेल्दा अहिलेसम्म ११ विकेट लिएका छन्।