
लिग लिडर बार्सिलोनाले स्पानिस ला लिगामा एक गोलले पछि परेको अवस्था हराउँदै रायो भालेकानोलाई ३-१ ले पराजित गरेको छ।
जितपछि बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिको मड्रिडमाथि ७ अंकको अग्रता कायमै राखेको छ। त्यसअघि एट्लेटिकोले लेगानेसमाथि १-० को साँघुरो जित हात पारेको थियो।
घरेलु मैदान नोउ क्याम्पमा २४औँ मिनेटमा राउल डे टोमसले गोल गर्दै रायोलाई पहिले अग्रता दिलाएको थियो। तर ३८औँ मिनटमा जेरार्ड पिकेले बार्सिलोनाका लागि बराबरी गोल फर्काए।
५१औँ मिनेटमा कप्तान लियोनल मेसीले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए। ८२औँ मिनेटमा लुइस सुअरेजले गोल थपेपछि बार्सिलोनाको जित पक्का बनेको थियो।
जितपछि २७ खेलबाट ६३ अंकसहित बार्सिलोना शीर्ष स्थानमा आसिन छ। तेस्रो स्थानको रियल भन्दा बार्सिलोना १५ अंकले अगाडि छ। रियलले एक खेल कम खेलेको छ।
यस्तै सोउल निगेजको एक मात्र गोलमा लेगानेसलाई पराजित गरेको एट्लेटिकोको २७ खेलबाट ५६ अंक छ।