
स्याङ्जा : स्याङ्जाको वालिङमा शनिबार भएको अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिताको उपाधि क्यानेडाली खेलाडी कोरी वालेसले हात पारेका छन्। एक सय किलोमिटरको दूरी कोरीले छ घण्टा २० मिनेट ५८ सेकेण्डमा पूरा गरेका थिए। टाइटलतर्फ प्रथम भएका कोरीले नगद रु पाँच लाखसहित मेडल र प्रमाणपत्र प्राप्त गरे।
महिलातर्फ लक्ष्मी मगर आठ घण्टा नौ मिनेट २६ सेकेण्डमा निर्धारित दूरी पार गरेर प्रथम भए। उनले रु तीन लाख नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे। यसैगरी प्रतियोगितामा आठ घण्टा ५१ मिनेट ५६ सेकेन्डमा सो दूरी पार गरी सोनी गुरुङ द्वितीय भए। द्वितीय भएसँगै गुरुङले रु ५० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे।
प्रतियोगितामा पुरुषतर्फ हर्कबहादुर लामा प्रथम, कमल ओली द्वितीय र सन्तोष गुरुङले तृतीय स्थान हासिल गरेर क्रमशः रु एक लाख ५० हजार, ५० हजार र ३० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे।
प्रतियोगिताको घोषणासभामा गण्डकी प्रदेशसभा सदस्य एवं विधायन समितिका सभापति मोहनप्रसाद रेग्मी, वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलगायतले विजयी खेलाडीलाई पुरस्कार वितरण एवं सम्मान गरेका थिए।
टाइटलतर्फ च्याम्पियन भएका क्यानेडाली खेलाडी कोरी वालेसले आफू सहभागी भएको प्रतियोगितामध्ये यहाँ भएको प्रतियोगिता निकै कठिन खालको भएको र यो प्रतियोगिताले आफूमा थप साहस बढेको प्रतिक्रिया दिँदै माउन्टेन बाइक प्रतियोगिताका लागि यो ठाउँ उपयुक्त भएको बताए।
वन्डरफूल वालिङ पर्यटन विकास संस्थाको आयोजना र वालिङ नगरपालिकाको सहयोगमा सम्पन्न भएको प्रतियोगिताबाट जिल्लालाई नै साहसिक पर्यटकीय गन्तव्यका रूपमा विश्वभरि परिचित गराउने उद्देश्य लिइएको संस्थाका अध्यक्ष दिनकर नेपालले जानकारी दिए।
प्रतियोगितामा दुई पटकसम्म विश्व च्याम्पियन बनेका क्यानेडाली वालेससहित दुई विदेशी र २६ स्वदेशी गरी २८ खेलाडीको सहभागिता रहेको थियो।