
नेपाली र नेपाल भाषाका शब्द सेमेटिएर बनेको गीत 'ओ मैचा' युट्युब ट्रेन्डिङमा नम्बर १ मा परेको छ।
नेवार समुदायको एक युवा र युवती बीचको प्रेम सम्बन्धको कथामाथि गीतको भिडियो बनेको छ। नेवारी फ्लेवरमा बनेको भिडियोमा प्रेमका लागि घर परिवारसँग गरेको संघर्षलाई रोमान्टिक कमेडी शैलीमा प्रस्तुत गरिएको छ।
'ओ मैचा छंगु मिखा गुलि बाला, ओ दाइचा छिगु ख्वा तस्कं वाला' (ओ नानी तिम्रो आँखा कति राम्रो, ओ दाई तिम्रो अनुहार धेरै राम्रो) बोललाई दर्शकहरुले रुचाएका हुन्। सार्वजनिक भएको एक सातामै, यो समाचार तयार गर्दासम्म गीतको भिडियोलाई पन्ध्र लाख पचपन्न हजारभन्दा बढी हेरिएको छ।
ब्रीजेश श्रेष्ठ र वर्षा कर्माचार्यले गाएको गीतमा उनीहरुले नै अभिनय गरेका छन्। नेस स्टुडियोको युट्युब च्यानलमार्फत मार्च २ मा रिलिज गरेको यो गीत एक सातामा नै ट्रेन्डिङमा परेको हो।
ब्रीजेश र वर्षाले यसअघि पनि गीतहरु युटयुबहरु रिलिज गरिसकेका छन्। 'सर रर मोटर चढ्ने' बोल को गीतमा पनि उनीहरु दुवैले स्वर र अभिनय गरेका छन्। 'ओ मैचा' नै उनीहरुको सर्वाधिक हेरिएको भिडियो बनेको छ। यसअघि सार्वजनिक अन्य भिडियोहरुमा एक हजारदेखि बाह्र हजारसम्म हिट्स छन्।
गीत रिलिज गर्दा ब्रीजेश र वर्षाले आफूहरुले नौलो प्रयास गरेको बताएका थिए।