
लिभरपुलले प्रिमियर लिगमा बर्नली विरुद्ध पुनरागमन जित हात पार्दै शीर्ष स्थानको म्यानचेष्टर सिटीसँग अंकदूरी १ मा झारेको छ।
खेलको छैटौँ मिनेटमै पछि परेको लिभरपुललाई जित दिलाउन रोवर्टो फिर्मिनो र साडियो मानेले २-२ गोल गरे।
लिभरपुलको घरेलु मैदान एनफिल्डमा छैटौँ मिनेटमै एस्टन वेष्टहुडले गोल गर्दै बर्नलीलाई अग्रता दिलाएका थिए। तर त्यो अग्रता लामो समय भने टिकेन। १९औँ मिनेटमा फिर्मिनो र २९औँ मिनेटमा मानेले गोल गरेपछि पहिलो हाफमै लिभरपुलले २-१ को अग्रता बनायो।
६८औँ मिनेटमा फिर्मिनोले व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुलले ३-१ को अग्रता बनायो।
इन्जुरी टाइमको पहिलो मिनेटमा बर्नलीका जोहान गुड्मुन्डोसनले गोल गर्दै गोल अन्तर घटाएपनि मानेले इन्जुरी टाइममको तेस्रो मिनेटमा गोल थपेपछि लिभरपुलले ४-२ को जित हात पारेको हो।
जितपछि लिभरपुलले ३० खेलबाट ७३ अंक जोडेको छ। समान खेलबाट ७४ अंकसहित सिटी पहिलो स्थानमा छ।
उता एडेन हाजार्डले इन्जुरी टाइममा गोल गरेपछि चेल्सीले वुभ्ससँग हार टार्दै अंक खोसेको छ।
खेलको ५६औँ मिनेटमा राउल जिमिनेजले गोल गर्दै वुभ्सलाई अग्रता दिलाएका थिए। निर्धारित समयमसम्म चेल्सी १-०ले पछि थियो र हार नजिक पुगेको थियो। तर हाजार्डले इन्जुरी टाइममको दोस्रो मिनेटमा गोल गरेपछि घरेलु मैदानमा चेल्सी हारबाट जोगिएको हो।
बराबरीपछि चेल्सीले पाँचौ स्थानको आर्सनलसँग अंक बराबरी गर्दै ५७ अंक जोडेको छ। समान खेल खेलेपनि गोलअन्तरमा आर्सनल अगाडि छ। आर्सनलले आजै म्यानचेष्टर युनाइटेडसँग खेल्दैछ।