PahiloPost

Jul 17, 2025 | २ साउन २०८२

राष्ट्रपति न्युयोर्क प्रस्थान, सँगै भ्रमणमा जानेहरुको सूची यस्तो छ

राष्ट्रपति न्युयोर्क प्रस्थान, सँगै भ्रमणमा जानेहरुको सूची यस्तो छ

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यू)को ६३औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार साँझ अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गरेकी छिन्। 

राष्ट्र सङ्घको प्रधान कार्यालयमा यही फागुन २७ देखि आगामी चैत ८ गतेसम्म आयोजना हुने उक्त अधिवेशनका क्रममा उनले फागुन २८ गते हुने ‘शक्तिमा नारी’ विषयको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्नेछिन् । नारी नेत्रीले ‘विश्वलाई कसरी परिवर्तन गर्छन्’ भन्ने विषयमा पनि राष्ट्रपतिले मन्तव्य दिने कार्यक्रम छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गर्न उपराष्ट्रपति, प्रधानमन्त्री, सङ्घीय सभामुख , राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री तथा रक्षामन्त्रीसहित मन्त्रिपरिषद्का सदस्य, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार, परराष्ट्र मामिला सल्लाहकार, निमित्त परराष्ट्र सचिव, संवैधानिक अङ्गका प्रमुखलगायतको उपस्थिति थियो।

राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पाल, राष्ट्रपति कार्यालयका विज्ञ लक्ष्मीकुमारी कार्की, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपतिको कार्यालयका सचिव विनोद केसी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव यामकुमारी खतिवडा तथा राष्ट्रपतिको कार्यालय, परराष्ट्र मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका वरिष्ठ अधिकारी छन्।

 
राष्ट्रपतिको कार्यभार उपराष्ट्रपतिलाई 

राष्ट्रपति भण्डारीले राष्ट्र सङ्घको ७३ औंँ महासभाका अध्यक्षको निमन्त्रणामा महिलाको अवस्थासम्बन्धी आयोगको ६३ औंँ अधिवेशनमा भाग लिने क्रममा स्वदेश बाहिर रहने समयावधिभर आफ्नो जिम्मेवारी उपराष्ट्रपति नन्दबहादुर पुनलाई तोकेकी छिन्। 

राष्ट्र सङ्घको प्रधान कार्यालय, न्यूयोर्कतर्फ प्रस्थान गर्नुअघि उनले आफ्नो अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोकेकी हुन्। 



ट्रेन्डिङ पोस्ट

Ncell