PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बुबाआमा भेट्न दुई दिनका लागि नेपाल आएर इथियोपिया फर्केकी एकता जसको 'नेक्स्ट डेस्टिनेसन' केन्या हुन सकेन



उमेश श्रेष्ठ

बुबाआमा भेट्न दुई दिनका लागि नेपाल आएर इथियोपिया फर्केकी एकता जसको 'नेक्स्ट डेस्टिनेसन' केन्या हुन सकेन

 'नेक्स्ट डेस्टिनेसन केन्या'

इथियोपियाको राजधानी अडिस अबाबाबाट केन्याको राजधानी नैरोबी जान इथियोपियन एयरलाइन्सको बोइङ ७३७-८ म्याक्स विमानमा चढ्नुअघि एकता अधिकारीले केन्याको झण्डासहित फेसबुकमा 'स्टोरी' पोस्ट गरेकी थिइन्। 

२४ घण्टापछि त्यो 'फेसबुक स्टोरी' हराइसक्यो, तर उनी केन्या पुगिनन्।  

उडेको केही समयपछि विमानमा खराबी आयो। लगत्तै राडारको सम्पर्कबाट बाहिर भयो। केही समयपछि समाचार आयो-  विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो। चालक दलका ८ सदस्यसहित विमानमा रहेका १ सय ५७ जना कोही पनि जीवित भेटिएनन्। 

गोरखा मूलघर भई इथियोपियाको विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) मा कार्यरत २८ वर्षीया एकता अधिकारीको नेक्स्ट डेस्टिनेसन केन्या बन्न सकेन।  'डेस्टिनी'ले उनको 'डेस्टिनेसन' अन्यत्रै 'डाइभर्ट' गरिसकेको रहेछ। उनी त अनन्तको यात्रातर्फ पो लागिन्। 

**

आइतबार दिउँसो इथियोपियन एयरलाइन्सको विमान दुर्घटना भएको खबर मिडियाबाट थाहा पाउना साथ मेनुका रोकाको मन आत्तियो। 'अहो, एकता थिइ त्यता' भन्ने भयो। 

'एकता मेरी सिस्टर। फूपुकी छोरी। तर मैले कसैलाई केही भनिनँ। मनमा लिएर मात्र बसेँ', मेनुकाले भनिन्।

जब दुर्घटनामा एक नेपाली पनि परेको खबर आयो, त्यसपछि खोजी सुरु भयो।  

एकताका आमा र बुबा दुवै हाल अमेरिकामा छन्। शुक्रबार मात्रै छोरी भेट्न अमेरिका उडेका थिए उनीहरु। भाइ मेनुकासँगै बस्थ्यो।

उनले नेपालस्थित विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) को कार्यालयमा सम्पर्क गरिन्। सुरुमा त्यताबाट 'हाम्रो स्टाफ पनि परेको हो, तर कन्फर्म छैन' भनेर नाम दिएन। 

अमेरिकामा फुपु र फुपाजुलाई फोन गरिन्। फोन उठेन। 

पछि बल्ल थाहा भयो, आमा र बुबालाई पहिले नै जानकारी दिइसकिएको रहेछ। उतैउतै कुरा भइसकेको रहेछ। यता भने पछि मात्र थाहा दिइयो।

***

सेप्टेम्बर २०१८ देखि इथियोपियामा कार्यरत एकता यो पटक दशैँमा पनि टीका लगाउन आएकी थिइनन्। कार्यव्यस्तता जनाउँदै एक्लो भाइसँग टीका लगाउन तिहारमा पनि आइनन्। 

अदिसअबाबामा सप्लाई चेन अफिसर रहेकी एकता नेपाल नआएको वर्षदिन भइसकेको थियो। तर गएको साता उनी एकाएक दुई दिनको छोटो समयका लागि नेपाल आएकी थिइन्, अमेरिका जान लागेका बुबाआमालाई भेट्न। 

तीन दिदीबहिनीको परिवारमा दुई जना दिदी अमेरिकामा बस्थे।

बुबाआमाको फ्लाइट शुक्रबार थियो भने त्यसको चार पाँच दिनअघि मात्र एकता इथियोपिया फर्केकी थिइन्। 

'बाबा आमाको मुखमात्र हेर्न आएको जस्तो पो भयो', मेनुकाले भनिन्। 

एकताले बुबा काजिबाबु अधिकारीसँग सन् २०१४ मा फेसबुकमा राखेको यो फोटोको क्याप्सनमा लेखेकी थिइन्- लभ यु ड्याड, ह्यापी फादर्स डे।

 ***

'एकदम ट्यालेन्ट थिइन् एकता,' मेनुका सम्झिन्छिन् दुई छोरी अमेरिकामा भए पनि बाबा आमासँग नजिक र पूरै परिवारको खर्च धानिरहेकी थिइन् एकताले। 

गोरखा मूलघर भए पनि काठमाडौँको वनस्थलीमा बस्दै आएकी एकताले काठमाडौँकै पकनाजोलस्थित निलगिरी स्कूलमा माध्यमिक स्तरको पढाइ सकेपछि युकेमा थप अध्ययन गरेकी थिइन्।  

२०७२ सालको भूकम्पपछि उनले युएनको जागिर पाइन्। उनको लिङ्क्डइन प्रोफाइल अनुसार डब्लुएफपीमा सप्लाइ चेन एन्ड हब सपोर्टमा २ वर्ष ४ महिना काम गरेपछि उनी पपुवा न्युगिनीमा तीन महिना मिसनका लागि खटिइन्, इन्फरमेसन म्यानेजमेन्ट अफिरको काममा।  

त्यहाँबाट फर्किएपछि एक वर्ष काठमाडौँमै काम गरेर सेप्टेम्बर २०१८ देखि उनको पोस्टिङ इथियोपियाको अदिसअबाबामा भएको थियो। 

***

संयोगले बाँचेका एक नेपाली

दुर्घटनाग्रस्त विमानमा युएनका १९ स्टाफ परेका छन्। त्यसमध्ये एकतासहित डब्ल्युएफपीका ६ जना, युएनएचसिआरका दुई जना, आइटियु, एफएओ, आइओएम, वर्ल्ड ब्याङ्क, युएनको सोमालिया मिसनका एक-एक जना र नैरोबीस्थित युएन अफिसका ६ जनाको मृत्यु भएको युएनको प्रेस विज्ञप्तिमा उल्लेख छ। 

विमानमा ३५ देशका नागरिकहरु रहेको एयरलाइन्सले जनाएको छ।

दुर्घटनामा ज्यान गुमाउनेहरुको शव पहिचानका लागि फरेन्सिक इन्भेस्टिगेसन गरिने र पहिचान भइसकेपछि शव परिवारलाई बुझाइने एयरलाइन्सले जनाएको छ। 

केन्याको नैरोबीमा आज (११ मार्च) देखि शुक्रबारसम्म हुने युएन इन्भायरोमेन्ट एसेम्बलीको चौथो सेसन हुँदै थियो। त्यसैमा सहभागी हुन काठमाडौँबाट यही विमानमा नैरोबी जाने निश्चित भएको थियो साझा फाउन्डेसनका अध्यक्ष जितेन्द्र जिसी। 

तर संयोगले उनको विमान छुट्यो। 

दुर्घटनापछि उनले फेसबुकमा लेखेका छन्, 'म नेपाल मै छु, ठीक छु। कार्यक्रमको तालिका र प्राप्त टिकट अनुसार म पनि यो विमानमा हुनुपर्ने थियो। म आफ्नै कारणले (आउन नसक्ने) 'लास्ट आवर'मा आयोजकलाई जानकारी गराएको थिएँ। जब त्यो तालिका, विमान र मलाई प्राप्त टिकट हेरेँ अनि सम्झिएँ म अर्को पटक बाँचे।' 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell