
काठमाडौँ : नेपालको राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले अहिलेको टिम सबैभन्दा उत्कृष्ट रहेको बताएका छन्।
भोलीदेखि विराटनगरको शहिद रंगशालमा सुरु हुने पाँचौं साफ महिला च्याम्पियनसिप अघि सोमवार भएको प्रि म्याच कन्फ्रेन्समा खड्काले साफको लागि उत्कृष्ट टिम बनाएको बताए।
‘हामीले सबै खेलाडीको प्रदर्शन हेरेर टिम बनाएको छौँ। अहिलेको टिम बेस्ट अफ दि बेस्ट हो।' पुरुष टिमका पूर्व कप्तान समेत रहेका खड्काले भने ।
अहिलेसम्म साफको उपाधि जित्न नसकेको नेपालले यस पटक घरेलु भूमिमा उपाधि जित्ने लक्ष्य राखेको छ।
त्यसका लागि सबै विपक्षीहरुलाई सम्मान गर्दै राम्रो खेल खेल्ने खड्काले बताए। नेपालले उद्घाटन खेलमै भुटानसँग खेल्नेछ। समूह ए मा नेपालले त्यसपछि बंगलादेशसँग खेल्नेछ। ‘भुटान तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी भएपनि सम्मान गरेर खेल्ने उनले बताए। हामी सबै अपोनेन्टलाई रेस्पेक्ट गर्छौँ। हरेक खेल राम्रो खेल्छौँ र राम्रो खेल्दै जित्छौँ।'
यस्तै उनले बंगलादेश पनि राम्रो टोली भएको बताए। 'बंगलादेश राम्रो टिम हो। म्यानमारमा भएको ओलम्पिक छनोटमा हामीले बराबरी खेलेका थियौँ।'
खड्काले हिरो गोल्डकपमा भारतलाई पराजित गरेपछि खेलाडीहरुमा मनोनल उच्च रहेको बताए।
‘भारतलाई हराएपछि चेलीमा मनोबल बढेको छ। भारत साउथ एसियामा बलियो टिम हो।'
उनले हरेक म्याच खेल्दा कमजोरी सुधार गर्दै जाने र बलियो रुपमा प्रस्तुत हुने बताए। ‘सुरुमा हामी समूह चरणका खेल राम्रो गर्छौँ। समूहमा राम्रो गर्दै सेमिफाइनल जित्ने र फाइनल पुग्ने हो।'
‘समूह चरण पार गरेपछि सेमिफाइनलमा को पर्छ त्यो हेरेर स्ट्राटेजी बनाउनेछौँ।'
सोमबारै साफ महिला च्याम्पियनसिपको विजेताले पाउने ट्रफी सार्वजनिक भएको छ।