
भद्रपुर : विभागीय टोली त्रिभुवन आर्मीले घरेलु टोली झापा ११ लाई पराजित गर्दै चौथो संस्करणको झापा गोल्डकपको उपाधि जितेको छ।
सोमवार भएको फाइनलमा आर्मीले झापा ११ लाई ५-३ ले पराजित गर्दै तेस्रो पटक उपाधि जितेको हो।
आर्मीले यसअघि पहिलो र तेस्रो संस्करणको उपाधि जितेको थियो। घरेलु टोली झापा भने लगातार चार पटक फाइनल पुगेपनि उपविजेतामै चित्त बुझाउन बाध्य भयो।
च्याम्पियन त्रिभुवन आर्मी क्लबले विजयी भएसँगै नगद रु १२ लाख ५५ हजारसहित ट्रफी हात पारेको छ।
फागुन १८ गतेदेखि झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा सम्पन्न खेलमा उपविजेता बनेको झापाले नगद रु छ लाख पाँच हजारमा चित्त बुझाउनुपर्यो।
आर्मीले पहिलो हाफमा दुई र दोस्रो हाफमा तीन गोल गर्यो झापाले भने पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेको थियो।
पहिलो हाफको २४ मिनेटमा आर्मीका सन्तोष तामाङ ‘फ्री किक’ मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। उनले व्यक्तिगत दुई गोल गरे। आर्मीको जीतका लागि क्याप्टेन भरत खवास, टेकबहादुर बुढाथोकी र नवयुग श्रेष्ठले गोल गरेका हुन्।
झापाका लागि योगेश गुरुङ, विदेशी खेलाडी फान्सिस र भिक्टोरले गोल गरे।
झापा गोल्डकपको फाइनलमा झापा र आर्मीको यो तेस्रो भेट भएको आयोजक समितिका संयोजक महेन्द्र गिरीले बताए।
आर्मीले झापालाई नै पराजित गर्दै पहिलो र तेस्रो सिजनको उपाधि हात पारेको थियो। झापा ११ भने चौथो पटक फाइनलमा पुगे पनि हालसम्म उपाधि जित्न सकेको छैन।
झापा तीन विदेशी खेलाडीसहित आफ्ना नियमित ‘स्ट्राइकर’ कर्ण लिम्बू, डिफेण्डर देवेन्द्र तामाङ, दिलेन लोक्तामसहित मैदान उत्रेको थियो। आर्मी पनि आफ्ना नियमित फरवार्ड नवयुग श्रेष्ठ, भरत खवास र गोल रक्षक विकेश कुथुसहितका केही राष्ट्रिय खेलाडीसहित झापासँग भिडेको थियो।
प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल प्लेयर’का रुपमा झापाका दिलेन लोक्ताम घोषित हुँदै एक थान मोटरसाइकल प्राप्त गरेका छन्। ‘बेस्ट डिफेन्स’ झापाकै देवेन्द्र तामाङले २१ हजार, ‘राइजिड प्लेयर’ निशान्त खड्काले १५ हजार, ‘बेस्ट कोच’ आर्मीका चुनबहादुर थापाले २१ हजार, ‘बेस्ट किपर’ विकेश कुथुले २१ हजार र ‘म्यान अफ दी म्याच’ आर्मीका सन्तोष तामाङले नगद १५ हजार पाए।
त्यस्तै सर्वाधिक गोलकर्ता आर्मीका नवयुग श्रेष्ठले तीन गोल गर्दै नगद २१ हजार पाउन सफल भए। ‘बेस्ट मिडफल्डर’ झापाका पुजन उपरकोटी घोषित हुँदै नगद २१ हजार पाउन सफल भएका छन्।