PahiloPost

Jul 17, 2025 | २ साउन २०८२

न्युयोर्कमा आज राष्ट्रपति भण्डारीको महत्त्वपूर्ण दिन, हाइलेभल राउन्डटेबलमा प्यानलिस्ट



पहिलोपोस्ट

न्युयोर्कमा आज राष्ट्रपति भण्डारीको महत्त्वपूर्ण दिन, हाइलेभल राउन्डटेबलमा प्यानलिस्ट

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी आज संयुक्तराष्ट्र संघको महासभा अन्तर्गत 'शक्तिमा महिला' विषयक सत्रमा सहभागी हुँदै छिन्। 

राष्ट्रसंघको ७३ औँ महासभाकी अध्यक्ष मारिया फर्नान्डा इस्पिनोसा ग्रेससले आयोजना गरेको ६३ औँ महिलाहरुको अवस्था सम्बन्धी कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ। 

कार्यक्रम अन्तर्गत आयोजना हुने तीन सत्र मध्ये एक सत्रमा राष्ट्रपति भण्डारी प्यानलिष्टको रुपमा राउण्ड टेबलमा सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाली समय अनुसार आज साँझ सात बजेपछि हुने कार्यक्रममा राष्ट्रपति भण्डारीले कसरी महिला नेतृत्वले विश्व परिवर्तन गर्छ विषयक सत्रमा प्यानलिस्टको रुपमा सहभागी हुनेछिन्। 

यो सत्रमा राष्ट्रपति भण्डारीसँगै लिथुआनियाकी राष्ट्रपति डालिया ग्रिबाउस्काइट, ट्रिनिडाड एण्ड टोबागोकी राष्ट्रपति पाउला माइ वीक्स, कोलम्वियाकी उपराष्ट्रपति मार्टा लुसिया रामरेज र युरोपियन कमिसनकी उपाध्यक्ष फेडेरिका मोघेरिनी प्यानलिस्टको रुपमा सहभागी हुने छन्। 

यो उच्चस्तरीय राउन्ड टेबल कार्यक्रम एमएसएनबिसीका एङ्कर रिचर्ड लुइले सञ्चालन गर्नेछन्। 

त्यसअघि हिजो राष्ट्रपति भण्डारीले महासभा अध्यक्षले आयोजना गरेको रात्रीभोजमा सरिक भएकी थिइन्। सो भोजमा इस्टोनिया र क्रोएसियाका राष्ट्रपतिको समेत सहभागिता थियो। 

राष्ट्रपति भण्डारीले राष्ट्रसंघका महासचिव, इस्टोनिया र क्रोएसियाकी राष्ट्रपतिसँग द्वीपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ। 

यसैबीच सम्मेलनमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारीसँगै न्यूयोर्क पुगेकी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले सम्मेलनको अवसरमा आयोजना हुने मन्त्रीस्तरीय संवादमा  सहभागी हुने कार्यक्रम रहेको छ। थापाले नेपालको उपलब्धिको विषयमा जानकारी गराउने छिन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell