PahiloPost

Jul 17, 2025 | २ साउन २०८२

साफ महिला च्याम्पियनसिप : नेपालको विजयी सुरुवात



पहिलोपोस्ट

साफ महिला च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

विराटनगर : घरेलु टोली नेपालले पाँचौ साफ महिला च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। पहिलो पटक काठमाडौँ बाहिर भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले भुटानलाई पराजित गर्‍यो।

विराटनगरस्थित शहीद रंगशालमा मंगलवार भएको समूह ए को खेलमा नेपालले भुटानलाई ३-० ले हराउदै ३ अंक जोडेको हो।

नेपालको जितमा मन्जली योन्जन, सावित्रा भण्डारी र कप्तान निरु थापाले गोल गरिन्।

नेपालले गोल गर्ने अरु अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न नसक्दा गोल अन्तर बढाउन असफल भएको हो।

नेपालले २० मिनेटभित्रै दुई गोल गर्दै उत्कृष्ट सुरुवात गरेको थियो। १३औँ मिनेटमा मन्जली योन्जनले पहिलो गोल गरेकी थिइन्। त्यसको तीन मिनेटपछि सावित्रा भण्डारीले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन्।

पहिलो हाफमा सावित्रा र अनिताले गोल गर्ने अवसर गुमाउँदा अग्रता फराकिलो पार्ने अवपसर नेपालले गुमाएको थियो। ४२औँ मिनेटमा सावित्राले भुटानको गोलकिपरसँग वान भर्सेस वान को अवस्थामा गोल गर्ने अवसर गुमाइन् भने पहिलो हाफकै इन्जुरी टाइममा अनिता बस्नतेले अवसर गुमाइन्।

यस्तै दोस्रो हाफको सुरुवात देखि नै नेपालले भुटानमाथि दवाव बनाएको थियो। ५३औँ मिनेटमा अनिता बस्नेतले अर्को सुनौलो मौका गुमाइन्।

५५औँ मिनेटमा कप्तान िनरुले सावित्राको पासमा हेड गोल गर्दै नेपाललाई ३-० को अग्रता दिलाइन्।

५७औँ मिनेटमा कप्तान निरु थापाले ओपन हेडरमा गोल गर्न सकिनन्। यस्तै ८८औँ मिनेटमा अनिता बस्नेतको प्रहार भुटानी गोलकिपरले उत्कृष्ट बचाउ गरिन्।

नेपाली टिमका प्रशिक्षक हरी खड्काले पाएको अवसर सदुपयोग गर्न नसक्दा धेरै गोल गर्न नसकेको प्रतिक्रिया दिए। भुटानका प्रशिक्षक सुङ जे लि ले नेपाल च्याम्पियनसिपकै एक उत्कृष्ट टोली भएकोले आफ्नो टिमको प्रदर्शनबाट सन्तुष्टि जनाए।

आजको खेलबाट नेपालका रेखा पौडेलले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेकी छिन्। यू-१९ राष्ट्रिय टिमकी फरवार्ड समेत रहेकी रेखाले दोस्रो हाफमा मैदान प्रवेश गर्दै सिनियर टिमका लागि डेब्यु गरेकी हुन्। उनी ८८औँ मिनेटमा अमृता जैशीको स्थानमा मैदान प्रवेश गरेकी हुन्।

च्याम्पियनसिपमा नेपालले समूह ए को दोस्रो तथा अन्तिम खेल शनिबार बंगलादेशसँग खेल्नेछ। उक्त खेल जितेमा नेपाल समूह ए को विजेता बन्नेछ।

यसैगरी बुधबार समूह बी मा रहेका भारत र माल्दिभ्सबीच खेल हुनेछ।

पाकिस्तानले अन्तिम समयमा नाम फिर्ता लिएपछि यस पटक च्याम्पियनसिपमा दक्षिण एसियाका ६ राष्ट्रले मात्र प्रतिस्पर्धा गर्नेछन्।

६ टिमलाई दुई समूहमा विभाजन गरिएको छ र दुवै समूहबाट शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनल प्रवेश गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell