PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

बोइङ ७३७ म्याक्स : ५ महिना नहुँदै २ दुर्घटना, १० देश/एयरलाइन्सले लगाए प्रतिबन्ध, नेपालले के गर्छ?



वसन्तराज उप्रेती

बोइङ ७३७ म्याक्स : ५ महिना नहुँदै २ दुर्घटना, १० देश/एयरलाइन्सले लगाए प्रतिबन्ध, नेपालले के गर्छ?

काठमाडौँ : पाँच महिना नहुँदै अमेरिकी कम्पनी बोइङको ७३७ म्याक्स ८ मोडलका दुई वटा विमान दुर्घटना भएपछि विश्वभरका विभिन्न हवाई नियामक संस्थाहरु र एयरलाइन्सहरुले ३८५ वटा यो मोडलका विमानको उडान बन्द गरेका छन्।  

पछिल्लो पटक सिंगापुरको नागरिक उड्डयन प्राधिकरणले आफ्नो एयरस्पेसमा स्थानीय समय अनुसार आज दिउँसो २ बजेदेखि बोइङ ७३७ म्याक्स फेमिलीका सबै विमानहरुमाथि प्रतिबन्ध लगाएको छ। 

नेपालको उड्डयन प्राधिकरणले यसबारे के सोचेको छ त?

प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम भन्छन्, ‘यो मोडलको जहाज कुनै पनि नेपाली वायु सेवा कम्पनीले सञ्चालनमा नल्याएको हुनाले यसबारे हामीले केही सोचेका छैनौँ।‘

नेपालमा उडान गर्ने ३० विदेशी एयरलाइन्स मध्ये चाइना सदर्न एयरलाइन्स, मालिन्दो एयर, जेट एयरवेज, कतार एयरवेज, टर्किस एयरलाइन्स, सिल्क एयर र थाइ लायन एयरसित यो मोडलको विमान छ। 

'कुनै पनि म्यानुफेक्चर कम्पनीको जहाज पटक-पटक दुर्घटनामा पर्दा आफ्नो हवाई सुरक्षाको विषयलाई मध्यनजर गर्दै यस्ता जहाजमार्फत् फ्लाइट अपरेसन गर्ने नगर्ने पहिलो जिम्मेवारी उनीहरुकै हुन्छ,'  गौतमले भने।

यी मध्ये सिल्क एयरले मात्रै यो मोडलको विमान नेपाली आकाशमा उडाउँथ्यो। 

सिंगापुरको नागरिक उड्डयन प्राधिकरणले आफ्नो एयरस्पेसमा आज दिउँसो २ बजेदेखि बोइङ ७३७ म्याक्स फेमिलीका सबै विमानहरुमाथि प्रतिबन्ध लगाउने घोषणा गरेपछि सिल्क एयरले अर्कै मोडल बोइङ ७३७-८०० एनजी विमान हिजो राति काठमाडौँ पठाएको थियो। सो विमान आज मध्याह्न १२ बजे सिंगापुरतर्फ उडिसकेको छ।

सिल्क एयरले आज बिहान ट्राभल एडभाइजरी जारी गर्दै ग्राहक र क्रुको सुरक्षालाई ध्यानमा राख्दै आजै बिहानदेखि सबै ६ वटा यो मोडलका विमान सिंगापुरमा नै ग्राउन्डेड गरेको बताएको छ। 


यसका कारण मंगलबार मार्च १३ का दिन उडान रद्द हुने सूचीमा काठमाडौँको उडान छैन। सिंगापुर-क्वालालम्पुर र क्वालालम्पुर-सिंगापुरका छ वटा उडान रद्द हुने सिल्क एयरले जनाएको छ।   

कुन कुन देश र एयरलाइन्सले उड्न रोक लगाए?


इथियोपियन एयरलाइन्स
एक नेपालीसहित १५७ जनाको मृत्यु भएपछि यो मोडलको विमानलाई ग्राउन्डेड गर्ने पहिलो एयरलाइन्स दुर्घटना भएको विमान चलाउने इथियोपियन एयरलाइन्स रह्यो। गत अक्टोबरमा थाइ लायन एयरको यही मोडलको विमान दुर्घटना हुँदा १८९ जनाको मृत्यु भएको थियो। 

चीन 
नयाँ मोडलका नयाँ विमान दुई वटा दुर्घटना भएपछि ९७ वटा विमान उडाइरहेका ठूला तीन चिनियाँ एयरलाइन्सहरु चाइना एयरलाइन्सँ, चाइना इस्टर्न र चाइना सदर्नले सोमबारदेखि यो विमानको उडान बन्द गरे। चीनको नागरिक उड्डयन प्रशासनले सबै डोमेस्टिक उडानबाट यो मोडलका विमान उडाउन रोक लगाएको थियो। 

सिंगापुर
सिएनएनका अनुसार सुरुमा सिल्क एयरले आफ्नो यो मोडलको विमान ग्राउन्डेड गर्ने कुनै योजना नभएको बताए पनि सिंगापुरको नागरिक उड्डयन विभागले एयरस्पेसमा नै प्रतिबन्ध लगाउने निर्णय गरेपछि भने उडान रोक्यो।

इन्डोनेसिया
इन्डोनेसियाको हवाई यातायात विभागले सोमबारदेखि ८ वटा यो मोडलका विमान ग्राउन्डेड गरेको छ। 

अस्ट्रेलिया
अस्ट्रेलियाको नागरिक उड्डयन सुरक्षा विभागले पनि अस्ट्रेलियामा आउने र अस्ट्रेलियामा उड्ने यो मोडलका सबै विमानमा रोक लगाएको छ। अस्ट्रेलियाका कुनै पनि एयरलाइन्ससँग यो मोडलको विमान नरहे पनि सिंगापुरको सिल्क एयर र फिजी एयरवेजले अस्ट्रेलियामा उडान गर्थ्यो। फिजी एयरवेजले भने यो मोडलको उडान जारी राख्ने बताएको छ।  

एयरोमेक्सियो
मेक्सिकोको यो एयरलाइन्सले पनि ८ वटा यस्तै मोडलका विमान उड्न रोक लगाएको छ। 

एयरोलिनियास अर्जेन्टिनास
यो अर्जेन्टिनी एयरलाइन्सले पनि पाँच वटा यो मोडलका विमानको व्यवसायिक सञ्चालन बन्द गरेको छ। 

केमन एयरवेज
यो एयरलाइन्सले सोमबारदेखि आफ्ना दुई वटा नयाँ यो मोडलका विमान नउडाउने बताएङ्को छ। 

कमएयर एयरवेज
यो दक्षिण अफ्रिकी एयरलाइन्सले नियामक निकाय र उत्पादक दुवैले केही नभने पनि यो मोडलका विमान नउडाउने बताएको छ। 

इस्टार जेट
दक्षिण कोरियाको यो लो कस्ट एयरलाइन्सले सुरक्षा चासो नसकिएसम्म यो मोडलका आफ्ना दुई वटा विमान नउडाउने बताएको छ। 

अझै यो विमान उडाइरहेका एयरलाइन्स

सिएनएनका अनुसार अमेरिकन एयरलाइन्सका २४, साउथवेस्ट एयरलाइन्सका ३४, नर्वेजियन एयरलाइन्सका १८, टियुआईका १५, फिजी एयरलाइन्सका दुई, आइसल्यान्ड एयरका तीन, फ्लाइ दुबईका ११, क्यानडाको वेस्टजेटका १३, ब्राजिलको जिओएलका सात वटा विमान अझै उडिरहेका छन्। 

अमेरिका, बेलायत र युरोपेली युनियनको नियामक निकायले यसमा रोक लगाएका छैनन्। 

नेपालका दुई छिमेकी देशमध्ये चीनले यो मोडलको विमानमा रोक लगाए पनि भारतको नियामक निकाय इन्डियन डाइरेक्टोरेट जनरल अफ सिभिल एभिएसनले भने रोक नलगाउने तर अन्तरिम सुरक्षा उपायको शृङ्खला अपनाउन भनेको छ। दुई वटा भारतीय एयरलाइन्सले यो मोडलका विमान उडाउँछन्। त्यसमध्ये स्पाइसजेटसँग सबैभन्दा बढी १२ वटा र जेट एयरवेजसित पाँच वटा यस्तो विमान छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell