PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

किताबलाई पर्दामा उतार्न असफल फिल्म 'खाग' (समीक्षा)



रीना मोक्तान

किताबलाई पर्दामा उतार्न असफल फिल्म 'खाग' (समीक्षा)

‘के तपाईँ इमान्दार हुनुहुन्छ? यो तपाईँको कथा हो।’

गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘खाग’का पोस्टरमा यस्तै भनाइ समेटिएको भेट्नुहुन्छ। पोस्टरमा लेखिएका ती शब्दले दर्शकलाई हलसम्म जान प्रेरित गर्छन्। 

कमल जंग कुँवरद्वारा लिखित किताब ‘गैंडालाई चार वर्ष’मा आधारित छ यो फिल्म। चितवन राष्ट्रिय निकुञ्जमा चार वर्ष वार्डेन रहेका कुँवरले गैंडा संरक्षणका लागि गरेको संघर्ष किताबका हरेका पानामा कोरेका छन्। कितावमा एन्टी पोचिङ, गैंडाको खाग तस्कर गर्ने सिकारी पक्राउ जस्ता विषय समेटिएका छन्। २ सय २३ पृष्ठको कितावलाई १ घन्टा ४० मिनेटमा फिल्म अटाएका छन्। गैंडा संरक्षणका लागि उनले बनाएका योजना र भोगेका दु:ख ‘खाग’मा जम्प कटिङमार्फत् देखाइएको छ। त्यसैले हुनुपर्छ, फस्ट हाफमै दर्शकलाई फिल्मले होल्ड गराउँदैन। 

फिल्मको कथा कमलले गैंडा संरक्षणमा बिताएका चार वर्ष नै हुन्। कमल (प्रविण खतिवडा) सरुवा भएर चितवन राष्ट्रिय निकुञ्जका साहयक वार्डेन हुन्छन्। गैंडा मारेर खाग तस्करी गर्नेहरुको प्रतिरोधको जिम्मेवारी उसको काँधमा छ। त्यो समय अत्याधिक गैंडा मारिरहेको अवस्था, चोरी सिकारी बढिरहेको समयमा उनले कसरी संरक्षणको अपरेसनलाई अगाडि बढाए? फिल्मका प्लटहरु यसरी नै उनिएका छन्। किताबमा जसरी उनले गैंडा चोरी सिकार गर्ने कुख्यात अपराधी समात्न गरेको मेहनत प्रस्तुत छ, फिल्मले किताबमा भएका तिनै कुरालाई न्याय गर्न सकेको छैन। शब्दले बुनेका कथालाई दृश्यमा देखाउन निर्देशक असफल भएका छन्। 

फिल्ममा गैंडा संरक्षक र तस्करहरुबीचको अत्याधिक फाइटका दृश्य छन्। निकै झर्को लाग्ने गरेर देखाइने यस्ता दृश्यले फिल्मलाई मोनोटोनस बनाएको छ। यद्यपि, एक्सन प्राकृतिक छ। 

इमान्दर व्यक्तिको कथा देखाउन निर्देशक मनोज पण्डितको मेहनत कम लाग्छ। 

'गैडालाई ४ वर्ष' पुस्तकमा पाठकलाई बाँध्ने थुप्रै घटनाक्रमहरु छन् जसलाई निर्देशकले पर्दामा उतार्न चाहेको देखिएन। जस्तो कि कमलले ‘जीवन साथीको खोजी’ गर्दाको विषय सिनेमाका लागि गज्जब हुनसक्थ्यो। तर, कुँवरकी श्रीमती (श्रृजना अधिकारी)को मनोविज्ञान भने पटक पटक देखाउन खोजिएको छ। तर, प्लटलाई स्थापित गर्न सकेका छैनन्। किनकि पर्दामा कुँवर पत्नीले आँशु चुहाँउदासमेत दर्शकको संवेदनालाई कतै छुन सक्दैन। 

फिल्ममा सिनेमाटोग्राफीको काम औशत छ। पार्श्व ध्वनी सान्दर्भिक नै छ। सुरुमै बज्ने पार्श्व संगीत कर्णप्रिय लाग्छ। फिल्ममा न आइटम गीत छ न स्टारडम बोकेका कलाकार नै छन्। अर्थात्, मूलधारे फिल्मबाट टाढा छ ‘खाग’। 

फिल्मले कथा भने अर्गानिक भन्न खोजेको छ। गैंडा चोरीमा सत्ता शक्ति एवं राजनीतिक संलग्नता देखाउन खोज्दा निर्देशक पण्डितले कमलको कथाको लय बिगारेका छन्। फिल्ममा द्वन्द्व स्थापना नै हुँदैन। कति दृश्यमा प्राकृतिक प्रकाशलाई लापरवाही तरिकाले प्रयोग गरिएको छ। पोस्ट प्रोडक्सनबाट फिल्मलाई बलियो बनाउन सक्ने ठाउँ हुँदा हुँदै पनि चुकेको देखिन्छ। 

चोरी सिकार र अवैध व्यापारको विषयलाई फिल्ममा देखाइएको छ। फिल्मको क्लाइमेक्स पनि खास लाग्दैन। किताबले प्रष्टै भनिसकेका कति घट्नालाई भिज्युअलमा देखाउन सकेका छैनन्। कुँवरले गैंडा संरक्षणमा पुर्‍याएको योगदानको दस्तावेज बन्यो किताब 'गैंडालाई चार वर्ष'। खाग भने दस्तावेज हुने फिल्म बन्ने अवसरबाट बन्चित रह्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell