काठमाडौँ : सन् २०२० मा दक्षिण अफ्रिकामा हुने आइसीसी यू-१९ वर्ल्ड कपको एसियाली छनोटको रुपमा रहेको क्वालिफायर आगामी अप्रिलमा मलेसियामा हुँदैछ।
उक्त प्रतियोगिताको तयारीका लागि नेपालको युवा क्रिकेट टोली आज भारत जाँदैछ।
एसियन रिजनको क्वालिफायरमा नेपाल तुलनात्मक रुपमा बलियो देखिन्छ। यसअघि नेपालको तगारो बन्दै आएको अफगानिस्तान फुल मेम्बर भएपछि अब नेपाललाई केही सजिलो बनेको छ।
तर यू-१९ टिमका प्रशिक्षक विनोद दास त्यसमा पूर्ण सहमत छैनन्। यू-१९ टिम भनको चाँडै चाँडै फेरिरहन्छ। कस्तो हुन्छ भन्न सकिन्न।
अप्रिल १० देखि २० सम्म मलेसियामा हुने आइसीसी यू-१९ क्रिकेट वर्ल्डकप क्वालिफायर एसियामा नेपालसँगै युएई, मलेसिया, सिंगापुर, कुवेत र ओमान गरी ६ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्।
मलेसिया र सिंगापुरसँग नेपालले इस्टर्न रिजन र एसियामा पनि नियमित खेल्दै आइरहेको छ। युएईसँग पनि पछिल्लो पटक यू १९ एसिया कपमा खेलेको थियो। ओमान र कुवेततर्फ इङ्गित गर्दै दासले भने, 'हामीलाई बलियो टिम भन्दा पनि अपरिचित टिमसँग डर लाग्छ। बलियो टिमसँग डर लाग्दैन। तर कोही अननोन टिम छ भने चाँही डर लाग्छ। तिनीहरुले गेम टर्न गर्न सक्छन्। त्यो अननोन फ्याक्टरले गर्दा मनमा डर चाँही छ।' दासले भने।
'पछिल्लो पटक युएईले हामीसँग राम्रो खेलेको थियो। तर कुवेत र ओमानको बारेमा भन्न सकिन्न। उनीहरुसँग हामी धेरै पछि खेल्दैछौँ। कस्तो अपेक्षा गर्ने।'
त्यो डरको जवाफ एउटा मात्रै हो कि हामीले वेल प्रिपेर गर्ने।
मलेसियामा हुने क्वालिफायरको लागि नेपालले भारतमा दुई साताको तयारी गर्दैछ। त्यसका लागि १८ खेलाडीको टोली भारत जाँदैछ र भारतको आन्द्र स्टेट क्रिकेट टिमसँग ४ अभ्यास म्याच खेल्नेछ।
यस क्याम्पले क्वालिफायरको लागि धेरै सहयोग पुग्ने दासको विश्वास छ। 'टिममा केही नयाँ खेलाडीहरु पनि आएका छन्। भारतमा हाम्रो मुख्य तयारी सुरु हुन्छ। हामीले आन्द्र स्टेट क्रिकेट एसोसिएसनसँग सहकार्य गरेर इन्डोर फ्यासिलिटीहरु प्रयोग गर्नेछौँ। यो १५ दिनचाँही हाम्रो रियल क्याम्प हुनेछ।'
मलेसियामा नेपालले एकदमै धेरै क्रिकेट खेलिसकेकाले भारतमा तयारी गर्दा त्यसले सहयोग गर्ने र मलेसियन पिच स्पिन फ्रेण्डली रहेकोले पनि केही फाइदा पुग्ने दासले जनाए।
दासले फास्ट बलिङ डिपार्टमेन्टमा किशोर महतो र नन्दन यादवको स्थानमा नयाँ बलरहरु आएको बताए। किशोर र नन्दनले एज लिमिट पार गरिसकेका छन्। घरेलु टी २० लिगमा राम्रो प्रदर्शन गरिरहेका रसिद खान र कमलसिंह ऐरी भने अहिले टिममा छन्।
यस्तै स्पिनमा सागर ढकाल, कुशल मल्ल, सूर्य तामाङ जस्ता खेलाडी छन् भने राष्ट्रिय टिमबाट खेलिसकेका पवन सर्राफले स्पिन अलराउण्डरको भूमिकामा खेल्नेछन्।