PahiloPost

Nov 9, 2024 | २४ कात्तिक २०८१

द म्यान फ्रम काठमाडौं : सुस्त फिल्म, छाडेन कुनै छाप (समीक्षा)



रीना मोक्तान

द म्यान फ्रम काठमाडौं : सुस्त फिल्म, छाडेन कुनै छाप (समीक्षा)

फेजल (अमेरिकी अभिनेता जोसे म्यानुअल), एक मुस्लिम युवकलाई आफ्नो बाबुको खोजी छ। बन्टीबाट फेजल बनेका उनलाई लस एन्जल्समा मुस्लिम भएकै कारण हेयको दृष्टिले हेरिन्छ। नमाज पढ्ने समय नपाएपछि काम छोड्दिन्छन्। शहरका मानिस उनलाई घृणा गर्छन, देखिसहँदैनन्। उनलाई यी सब कुराहरुबीच पनि आफ्नो बाबुलाई खोज्नुछ। फेजलले आफ्नो बाबु भेट्लान्?  बाबु भेट्न उनले सुरु गरेको काठमाडौंसम्मको यात्राबाट अघि बढ्छ फिल्म ‘द म्यान फ्रम काठमाडौं’। 

सत्य घट्नामा आधारित फिल्मलाई नेपालको पहिलो अंग्रेजी फिल्म दावी गरिएको छ। नेपालमा भने नेपाली डबिङमा आधारित फिल्म रिलिज भएको हो। डबिङ भएकाले लिप्सिङ नमिलेको फिल्म हेर्दा कस्तो अनुभव हुन्छ ‘द म्यान फ्रम काठमाडौं’ यसको उदाहरण हो। भाषा डब भए पनि कथा भन्ने शैली सरल भएको भए निर्देशकले के भन्न खोजेको प्रष्ट हुन्थ्यो। तर, दर्शक नै अल्मलिने छन् फिल्मका प्लट।  

जम्बो कलाकार फिल्ममा राखेर पात्रहरु स्थापित गर्न नसक्नु निर्देशक पेमा धोन्डुपको कमजोरी बनेको छ। फिल्ममा समावेश कति दृश्यको जम्प कटिङ चित्त बुझ्दो छैन। पटकथामा मिहिनेत नभए पछि फिल्मको फस्ट हाफ निकै मन्द गतिमा चल्छ। दर्शकलाई बोरिङ बनाउन त अत्याधिक फाइटका दृश्य नै काफी छन्। 

पार्श्व संगीत ठीक ठाउँमा छ। ‘मानिस मानिसमा किन भिन्नता भयो…’ फिल्मको पार्श्व संगीत निकै बिम्वात्मक लाग्छ फेजलको जीवनसँग। नम्रताको मूमिकामा देखिएकी आना शर्माको अभिनय ठीकै छ। जोसेको अभिनय सन्तोषजनक नै छ। कर्मा र हमिद शेख आफ्ना भूमिकामा फिट छन्। फेजलकी आमा (मिथिला शर्मा)को भूमिका लाउड छ। 

सिनेमाटोग्राफीको काम प्रसंसा लायक नै छ। कार्लोस मेडिनालाई यसको श्रेय जान्छ। पटकथामा अझै मिहिनेत गर्ने ठाउँहरु छन्। फिल्ममा प्रस्तुत धार्मिक द्वन्द्वलाई कताकता नेपालसँग पनि जोडेर हेर्न सकिन्छ। 

सेकेण्ड हाफमा अब्बुलाई समात्ने दृश्य छ। जुन दृश्यमा रङ्ग संयोजन आँखालाई सितल दिने किसिमको छैन। अब्बु र नम्रताको दृश्यमा रंगको काम अलि धेरै नै भएको लाग्छ। प्रवीण गुरुङ (शिशिर वाङ्देल)को गोलीले फुटेको आँखा लामो समयसम्म पर्दामा देखाउनलाई चलाखी गर्नुपर्थ्यो। प्रवीणको भूमिकामा देखिएका वाङ्देलको अभिनय फिल्मको पात्रलाई न्याय दिने किसिमको छ। 

यस फिल्मको सबैभन्दा बलियो पक्ष भनेको यसमा समेटिएका फरक फरक मुलुकका कलाकार नै हुन्। समग्रमा कलाकारहरुको भेला, धेरै मुलुकका कलाकारलाई एउटै पर्दामा हेर्न पाउने अवस्थाबाहेक फिल्मले अतिरिक्त छाप छाड्न सकेको छैन। एक्सन रुचाउनेका लागि फिल्म ठीकै हुनसक्छ अन्यथा धेरैलाई जार्गन नै लाग्न सक्छ। नेपाली फिल्म हेर्ने दर्शकका लागि यो केही फरक स्वादको भने पक्कै हुनेछ। मतलब सबै स्वाद सबैलाई रुची लाग्ने कुरा पनि होइन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell